विद्यार्थी तान्न गर्न विदेशी नामको मोह - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

विद्यार्थी तान्न गर्न विदेशी नामको मोह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
Sunrise bank
विद्यार्थी तान्न गर्न विदेशी नामको मोह
LBEF
NCH-IPS

काठमाडौँ । पेन्टागन भन्नासाथ विश्वभरिका मानिसले बुझ्छन्– अमेरिकी रक्षा मन्त्रालय । नेपालमा पेन्टागनको परिभाषा बेग्लै छ अर्थात् पेन्टागन इन्टरनेसनल कलेज । अन्तरिक्षमा यान प्रक्षेपण गर्ने अमेरिकी संस्थाका रूपमा चर्चित नासाको नामसमेत प्रयोग गरी शिक्षण संस्था सञ्चालन गरिएको सम्भवतः नेपालमा मात्र हुनुपर्दछ ।
विद्यार्थी शैक्षिक गुणस्तरप्रति हेक्का राख्दैनन् । बरु विदेशी नामकरण गरिएका शिक्षण संस्थाप्रति हुरुक्कै हुन्छन् भन्ने सोचअनुरूप विदेशी नामधारी शिक्षण संस्था खोल्ने प्रवृत्ति बढेको छ । शिक्षा नियमावलीमा विदेशी नाम भएका शिक्षण संस्था खोल्न नपाइने भनिए पनि नियमन निकायले त्यसप्रति बेवास्ता गर्दा जथाभावी नामकरण गरिएका शिक्षण संस्थाले अनुमति पाएका छन् ।
सेन्ट लरेन्स, ह्वाइट फिल्ड (जर्ज), सेन्ट जेभियर्स पादरी हुन् र उनीहरूका नाममा नेपालमा विद्यालय सञ्चालित छन् । अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सास, उत्तर र अमेरिकाको बीचमा रहेको भूभाग एवं सामुद्रिक क्षेत्र क्यारेबियन, अमेरिकामा रहेको सहर प्रिन्सटन, अमेरिकाको न्युयोर्कमा रहेको सहर ब्रुकलिन, अमेरिकी संसद् भवन क्यापिटोल, अमेरिकी सहर ग्रिनफिल्ड आदि नाम प्रयोग गरी उपत्यकामा शिक्षण संस्था सञ्चालित छन् ।
बेलायतको फुटबल क्लब लिभरपुलदेखि अमेरिका पत्ता लगाउने इटालियन नागरिक कोलम्बससम्मको नामलाई नेपालका शिक्षण संस्थाका सञ्चालकहरूले प्रयोग गर्न बाँकी राखेका छैनन् । किङ क्याम्प जिलेटले दारी काट्ने उपकरण (रेजर) उत्पादन गरे र उनकै नामबाट रेजर प्रख्यात छ । रेजरको नाम प्रयोग गर्न समेत शिक्षण संस्थाका सञ्चालकहरूले सङ्कोच मानेका छैनन् ।
ओस्कार वाइल्डको नाममा राखिएको अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार ओस्कारको नामबाट नेपालमा शिक्षण संस्था खोलिएको छ । बेलायतमा रहेको अन्तर्राष्ट्रिय समय जनाउने स्थान ग्रिनविचलाई पनि नेपालीले शैक्षिक संस्थाको नाम राख्न छाडेका छैनन् । चुस्त घोडा अर्थात् मोर्गन पनि नेपालमा शिक्षण संस्थाको नाम बनेको छ ।
अमेरिकाको विश्वविद्यालय साउथ वेस्टर्नको नाम नक्कल गर्न पनि शैक्षिक संस्थाका सञ्चालकहरू अग्रसर देखिएका छन् । ओलम्पिक खेलको सुरुवात भएको ग्रीसको ओलम्पिया पनि हाम्रा शिक्षण संस्थाका नाम बनेका छन् । ठूलो शङ्खेकीरा ट्रिटन, उच्चतम बिन्दु पिनाकल, कोसेढुङ्गा माइलस्टोनजस्ता अङ्ग्रेजी नाम पनि भित्रिए, यी नाम शैक्षिक संस्थामा भिज्दैछन् । 
हुन त तक्षशीला, प्रसादी, विनायक सुधा, बाग्मती, गुरुकुल, चाणक्य, अरनिको, लालीगुराँस, राजधानी, माछापुच्छ«े, कामना आदि नाम भएका दर्जनौँ शिक्षण संस्था पनि सञ्चालनमा छन् । कक्षा १२ सम्मको शिक्षा विद्यालय तह बनिसकेको छ तर सोही तहसम्म अध्यापन गराउन पनि कलेज लेख्ने गरिएको छ । शिक्षण संस्थामा एक जना पनि विदेशी विद्यार्थी छैनन् । तर, नामको बीचमा ‘इन्टरनेसनल’ शब्द झुन्ड्याइँदै आएको छ । शिक्षण संस्थाको नाममा नियम पालना नभए पनि नियमन निकायलाई यो मामिला चासोको विषय बन्न नसकेको कतिपयको भनाइ छ । 
शिक्षा नियमावलीमा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामबाट नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न सकिने स्पष्ट उल्लेख छ । 
२०६९ सालमा सरकारले लागू गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकामा विदेशी नामकरण भएका विद्यालयले अनिवार्य रूपमा छ महिनाभित्र नाम परिवर्तन गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो तर आधा दशक नाघ्न लाग्दा पनि सो प्रावधान अझै कार्यान्वयनमा आएको छैन । शिक्षण संस्थाको नाम अङ्ग्रेजीकरण गरिएकैले २०२८ सालमा पनि यस्तो निर्णय भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस