aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

‘मेलम्ची नआए पनि नगरवासीलाई पानि खुवाउँछु’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ जेठ २०७९
nabil bank
‘मेलम्ची नआए पनि नगरवासीलाई पानि खुवाउँछु’
चिरीबाबु महर्जन, मेयर ललितपुर महानगरपालिका
Global IME
LBF

महानपालिका सरकारहरुको पहिलो कार्यकालमा सफल मानिएका अत्यन्तै थोरै पालिकामध्ये एक हो, ललितपुर महानगरपालिका ।  त्यसका प्रमुख थिए, चिरिबाबु महर्जन । उनै चिरिबाबुलाई फेरी ललितपुरवासीहरुले हालै सम्पन्न पालिका निर्वाचनमा थप पाँच वर्षको लागि मेयर पदमा निर्वाचित गरेका छन् । उनको पहिलो कार्यकाल के कसरी बित्यो र अब के के काम गरेर नगरवासीको सेवा गर्दैछन् भन्ने जिज्ञासा सहित आर्थिकन्युज डटकमकर्मी सम्झना बरुवालले बार्ता गरेकी छिन् । प्रस्तुत छ, सो सम्बादको सम्पादित अंश :

पहिलो कार्यकालमा के–के गर्नु भयो, के– के गर्न बाँकी छ ?
विगतमा धेरै कामहरु भएका छन् । त्यसका कारण म फेरि पनि निर्वाचित भएँ । विगतमा गर्न नसकेको काम खासै छैन । जे योजना तयार गरेका थिर्यौं त्यो पुरा गयौं । हामीले फ्लाईओभरको सम्भावता अध्ययन गरायौं । काठमाडौंमा ल्यान्डिङ गर्ने ठाउँमा माइतीघर र त्रिपुरेश्वरमा जापान सरकारले फ्लाईओभर बनाइदिने र त्यसमा लगेर जोड्ने भनिएको थियो । उतातिर नबनेको कारणले यता हामीले हतारिनु पर्ने देखिएन । तसर्थ, अहिले उक्त योजनालाई हामीले स्थगित गरेका छौंं । पेन्डिङमा छ । उता बनेपछि हामी पनि सुरुवात गर्छौ । यो बाहेक हामीले प्रतिवद्धता गरेका काम मध्ये पुरा हुन नसकेका कामहरु अरु केहि छैनन् ।

अघिल्लो पाँच वर्ष र आगामी पाँच वर्षमा ललितपुर नगरवासीले के फरक पाउँछन् ?
पाँच वर्ष अघि यहाँ लगभग १७ वर्षसम्म कर्मचारीले शासन चलाएका थिए । त्यसैले, पहिलो कार्यकालमा हामी आउनासाथ काम गर्न सक्ने वातावरण थिएन । तर, अहिले त्यस्तो छैन । हामीसँग प्रोजेक्ट बैंकमा प्रशस्तै प्रोजेक्टहरु छन् । त्यसैले, हामीसँग के गर्ने र कसरी गर्ने भन्ने कुनै दुबिधा छैन। केही दिन पछि नगरसभा गठन हुन्छ । त्यसपछी नगरवासीले अनुभूत गर्ने गरि काम गर्छौं । 

ललितपुर महानगरभित्रका विश्व सम्पदामा सुचिकृत सम्पदाहरुको संरक्षण कसरी गर्नुभएको छ ?
बि.स. २०७२ सालको भुकम्पले सम्पदाहरुमा धेरै क्षति भएका थिए । क्षति भएका सम्पदाहरु लगभग सबै बनाइसकेका छौं । केही अहिले पनि बनिरहेका छन् । बनिरहेका प्रोजेक्टहरु सिद्धिएपछि भुकम्पले क्षति पुर्याएका सबै संरचनाहरुको पुननिर्माणको काम सकिन्छ ।

तर, निरन्तर रुपमा मर्मत सम्भार गर्नुपर्ने काम त भइ नै रहन्छ। त्यो भनेको हामीले लुगा फेरे जस्तै हो । महानगरको नयाँ योजना भनेको यहाँका पुराना सम्पदाहरुको व्यवस्थापन गर्ने हो । पर्यटकीय दृष्टिकोणबाट महत्वपुर्ण मानिएका पुराना घरहरुको पुनः निर्माणका निमित्त हामीले घरधनीहरुलाई सहयोग प्याकेज ल्याउन लागिरहेका छौ । आउँदो बजेटमा उक्त प्याकेजको पनि व्यवस्थापन गरेर अघि बढ्छौं । सम्पदाका रुपमा रहेका मठ, मन्दिर, शिवालय र देवालयहरु अब चांडै बनिसक्छन् ।

पुराना शहर भित्र विकास गर्ने के कस्ता योजनाहरु छन् ?
विकास गर्ने नाममा सम्पदाहरुको स्वरुप बिगार्ने काम गर्दैनौं । अहिलेको सन्दर्भमा यहाँको ठुलो समस्या भनेको यातायातको हो । त्यसको त्यसको निराकरणको लागी केन्द्रिय सरकार अघि सरेको छैन । यो पुरानो शहर त्यसमा पनि धेरै पर्यटकहरु आउने ठाउँमा मोटरसाइकलहरुले गर्दा पनि समस्या भइरहेको छ । यसका लागि अध्ययन गरेर गुरु योजना पनि बनाएका छौ । त्यसमा दिइएका सुझावहरुलाई एकैचोटी लगाउँदा गाह्रो होला । तर, विस्तारै काम अघि बढाउँछौ ।अहिले पनि धेरै ठाँउहरुमा एकतर्फी सडक गरेका छौं । साइकल लेन र मानिसहरुलाइृ हिड्ने बाटो बनाउनका लागि पनि काम भइरहेको छ ।

ललितपुरमा आधारभुत पुर्वाधारहरुको विकास कसरी गर्दै हुनुहुन्छ ?
नेपालको ६ वटा महानगरपालिका मध्येको भुगोलमा सबैभन्दा सानो महानगरपालिका हो, ललितपुर । जनसंख्या भने ठुलो छ । बिगतमा २२ वटा वडालाई समावेश गरेर उप महानगरपालिका बनाइएको थियो । हिजोको उपमहानगरपालिकाको क्षेत्रमा पुर्वाधारहरु लगभग बनिसकेका छन् । तिनीहरुलाई मर्मत मात्र गर्नुपर्छ ।

तर, गाँउपालिका र नगरपालिकाहरुका क्षेत्रमा अझै थुपै पुर्वाधारहरु बनाउन बाँकी छ । त्यहाँ भुगोल ठुलो छ, जनसंख्या सानो छ । त्यसले गर्दा पनि अहिले हिजोको उपमहानगरपालिकाको क्षेत्रमा महानगरसँगको तादम्यता मिलाउनका लागि बढी बजेट विनियोजन गरेका छौ । धेरै भन्दा धेरै परियोजनाहरु तयार पारेर महानगरको दाँजो ल्याउनका लागि बढि बजेट छ्ट्टयाएर लागि परेका छौ ।

यो वर्ष भित्रि सडकहरुमा धेरै काम गर्नुपर्ने छैन । थोरै मर्मत गरे पुग्छ। नयाँ ढल हाल्ने र बाटो बनाउनु पर्ने काम छैन । तसर्थ यतातिर हामीले थोरै बजेट विनियोजन गरेका छौं । पहिले नगरपालिका अन्तर्गत रहेका क्षेत्रहरुको निमित्त संघिय सरकार, प्रदेश सरकार र महानगरपालिकाको नगर स्तरीय योजना र मेयरको गौरवशाली योजना अन्तर्गत थुप्रै कार्यक्रमहरु कार्यान्वयन गर्दैछौ ।

नयाँ शहर निर्माण गर्ने लहर नै चलेको छ । ललितपुर महानगरपालिकाले भने नयाँ शहर निर्माणका योजनाहरु पनि रोक्यो । यसको कारण के हो ?
हाम्रो महानगरमा नयाँ शहर निर्माणका लागि भुगोेलले पनि दिँदैन । सरकारले पनि ललितपुरको बुंंमतीमा नयाँ सिटी निर्माण गर्ने भनेको थियो । यताका स्थानीयहरुले अवरोध गरे । तसर्थ, अहिले हाम्रो महानगरभित्रमा बस्ती विकास गर्नुपर्ने देखिएको छैन । केही जग्गा एकीकरणका योजनाहरु छन् । ती योजनाहरु सम्पन्न गर्न बाँकी छन् । नयाँ योजनाहरु अरु केही छैनन् ।

सरकारले सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्ने र खुल्ला स्थान बनाउने योजना ल्याएको छ । त्यस तर्फ के गर्दै हुनुहुन्छ ?
यसका लागि हामी राम्रो तयारीमा छौं । यसअघिको पाँच वर्षे कार्यकालमा यस नगरका सरकारी एलेनी जग्गा कसैलाई पनि हामीले दिएका छैनौं । सरकारले दिएको लगनखेलको जग्गा र सत्तपातालको १४ रोपनी जग्गा पनि त्यहाँ स्थानीयले मुद्दा लडेर जितेको हो । राजदलसँग मैले छलफल गरेर सत्तपातालको छेउमा रहेको लगभग ३० रोपनी जग्गा पनि फिर्ता लिएको छु। २ वर्ष पछि उक्त जग्गामा कमलको फूल फूलाउने योजना छ । हामीले एलेनी जग्गा कसैलाई पनि दिएका छैनौ ।

साइकल लेनको प्रयोग र व्यवस्थापन कसरी भइरहेको छ ?
सबैकुरा एकैचोटी पानी बगे जसरी बग्छ भन्ने उद्देश्य राखेका थिएनौं । हामीले साइकल लेन बनाएको बाटो पनि सानो छ । मछिन्द्रनाथको रथयात्रा नहुने हो भने यती चौडाइको बाटो पनि हुँदैन थियो । मछिन्द्रनाथको रुटको बाटोमात्र अलिक चौडा छ ।

महानगरलाई स्मार्ट सिटी बनाउने भनेर घोषणा गरेका छौं । स्मार्ट सिटी के हो भनेर कसैले सोध्नुपर्यो भने नेपालको आफ्नै परिभाषा छैन । संसारको ११६ वटा मुलुकले स्मार्ट सिटीको आ–आफ्नै परिभाषा गरेका छन् । तसर्थ, हामीले स्मार्ट सिटी भनेका शहरहरुमा हेर्दा सबै ठाउँमा साइकल लेन हुनेरहेछ ।

हामी पनि स्मार्ट सिटी बनाउने भन्ने अवधारणामा लागिपरेका हुनाले हामीले पनि साइकल लेन बनाउँनुपर्छ भनेर अन्तराष्टिय स्तरको १.६ मिटरको हुनुपर्नेमा ठाउँ, परिस्थिति र भुगोल हेरेर न्यारो डाउन गरेका छौ । साइकल लेनमा पनि दुई वटा कुरा हुन्छन् । सिअर लेनमा साइकलले पहिलो प्राथमिकता पाउँछ । डेडिकेटेड लेनमा साइकल लेनमा अरु गाडीहरु हिड्न पाउँदैन । यो कुरा अहिले हामीले लागु गर्नुपर्नेमा भुगोलले नदिएका कारणले डेडिकेटेड लाइन बनाएका छैनौ। जति छन्, सबै सेअरलेनहरु छन् । हामीले साढे ३२ किलामिटर सेअर लेन बनाइसकेका छौं । ती ठाउँहरुमा अरु गाडीहरु पनि पार्किङ  गर्ने कामहरु भइरहेको छ । दुई वर्ष अघि नै बनाउने काम सकिसकेका छौं । पुनः पेन्ट गर्ने कामहरु भइरहेको छ ।

कुनै पनि काम नियमविपरित गर्यो भन्नका निमित्त ऐन चाहिन्छ । हामीसँग ऐन छैन । संघिय सरकारको पनि साइकल लेन सम्बन्धी ऐन छैन । प्रादेशिक सरकारको पनि छैन । तसर्थ, हामीले ऐन बनाएका छौं । नगरबाट पास हुन सकेको छैन । संविधानमा त कतै न कतै टेकेर हामी अघि बढौला तर संघिय सरकार र प्रादेशिक सरकारको ऐन हुनुपर्छ । हाम्रो ऐन अगाडी लानका लागि हामीलाई समस्या परिरहेको छ । यसो हेर्दा संघिय सरकारले बाइसाइकल लेन बनाउँदैन ।

प्रदेश सरकारले बनाउने कुरै छैन । त्यति बेलासम्म हामी चुपलागेर त बस्दनौ । उनीहरुले बनाएको कुरामा जुन किसिममा विरोधाभाष निस्किन्छ ती कुरारुहरुमा  स्थानीय सरकारको ऐनको दफाबाट काटिन्छ । त्यो हिसाबले हामी आउँदो नगरसभामा पास गर्नका लागि कोशिस गर्दैछौं । ऐनहरु बनिसकेपछि अहिले देखिएका समस्याहरु विस्तारै हटेर जानेछन् ।

ब्लक नम्बरको कुरा कहाँ पुग्यो ?
ब्लक नम्बरको कुरामा १ देखि २९ वटा वडासम्म हिसाब गर्दा ८१ हजार घरधुरीरहेका छन् । ती घरहरुमा ब्लक नम्बर छैन । मेरै वडामा पनि १७ जना चिरीबाबुहरु छन् । मलाई त ‘वडा अध्यक्ष’ भनेर चिन्लान् । अरुलाई कसरी चिन्छन् । त्यसैले हामीले सडक सञ्जाल र जीपिएस प्रणालीमा आधारित ब्लक नम्बर वितरण गरिहेका छौं । ९० प्रतिशत काम सकिएको छ । १० प्रतिशत घरहरुमा काम भइरहेको छ । तसर्थ केही समयपछि ट्याक्सीहरुमा पनि जीपीएस प्रणाली जडान गरियो भने घरको ब्लक नम्बर देखाएको आधारमा ट्याक्सीले घरसम्म पुर्याइदिन्छ ।

ललितपुर महानगरमा खानेपानीको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
काठमाडौ र ललितपुरवासी मेलम्चीमा नै भर परेका छन् । गतवर्ष मेलम्ची आयो । फेरि बन्द गर्नुपर्यो । मेलम्ची क्षेत्रको भौगोलिक अवस्था पनि फरक छ । सरकारको प्रक्षेपण गत असारको वर्षातले मेलम्चीलाई जसरी क्षति पुर्यायो यो वर्ष पनि पुर्याउँछ भन्ने छ । मेलम्चीको भौगोलिक अवस्था थिलथिलो भइरहेको छ भन्ने सरकारको अनुमान हो। फेरी ठुलो पानी पर्यो भने बाढीले सुरुङमार्गमा पनि असर गर्छ । त्यसैले अहिले सुरुङमार्ग पनि बन्द छ ।

मेलम्ची आयोजनाको डिजाइन गर्दा ५० वर्षको वर्षाको रेकर्ड अनुसारको हो । तर, असार १ गतेको वर्षात ५० वर्ष भित्रको रेकर्ड भन्दा पनि ठुलो थियो।हाम्रो मनसुन पिरियड भनेको १२० दिनको हुन्छ । त्यो मनसुन घटिमा पनि १२० दिन बस्छ त्यस दौरानमा कम्तिमा पनि १५ सय मिलिमिटर पानी पर्छ । त्यो पानी परेको अवस्थामा मेलम्चीमा झन् धेरै पानी पर्छ । त्यसलाई थेग्न सक्ने डिजाइन भएन । तसर्थ अहिले ठुलो संकट आइपरेको छ । एशियन डेभलपमेन्टसँग ऋण लिएर बनाएको योजना ३ महिना पानी नआउने गरी रोकिदा उपत्यकाका ५० लाख जनसंख्यालाई ठुलो असर पर्छ। यसबारे पनि सोच्नुपर्छ ।

खानेपानीलाई एउटै स्रोतमा मात्र भर पर्नुहुँदैन । भुकम्पको जोखिमको हिसाबले पनि नेपाल एघारौ स्थानमा पर्छ । काठमाडौमा पनि ठुलो भुकम्पहरु गइरहेको छ । सुरुङमार्गबाट पानी ल्याउनुपर्छ । भुकम्पले सुरुङमार्ग बिग्रिन सक्छ । मेलम्चीको पानी आउन छोड्यो भने यसको विकल्प के भन्दा केही पनि हुँदैन । तसर्थ म आएपछि आजभन्दा चार वर्ष अघि नै मकवानपुरको सिस्नेरी खोलामा खेर गइरहेको १३ करोड लिटर पानीको डिपिआरका लागि बजेट छुट्याएका छौ ।

यसका लागि केयुकेएलसँग सहकार्य गरेर मेरै नेतृत्वमा गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकालाई समावेश गरेर त्यसतर्फ लागी परेका छौं । कहिले बनिसक्छ, यकिन छैन । तर, हामीले सुरुवात गर्न लागेका छौं । एउटै स्रोतमा मात्र भर परेर बस्नु हुँदैन । विकल्प पनि सोच्नुपर्छ । यताबाट पानी ल्याउन सक्यौ भने हामी एकतिरबाट भएपनि निर्भर हुनसक्छौं भनेर लागि परेका छौं । मेलम्चीको पानी नआएको खण्डमा विकल्पमा पानी खुवाउँछु भनेर मैले बोलेको छु । त्यो पुरा गर्छु । 

महानगरको करको सिमा कति छ । करको दायरा बढाउँदै हुनुहुन्छ ?
करको सन्दर्भमा हामीले संविधानले दिएको अधिकार बमोजिम नै कर उठाएका छौं । यो वर्ष १ अर्ब ५६ करोड रुपैयाँ उठाउने लक्ष्य रहेको छ । त्यति पैसा उठाउने सन्दर्भमा अहिलेसम्मको अवस्था हेर्दा लक्ष्य पुरा गछौं ।

पोहोर साल १ अर्ब ३१ करोड उठाउने लक्ष्य रहेको थियो । तर १ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । लक्ष्य भन्दा ३४ प्रतिशत बढी राजस्व उठ्यो । कोभिडको समयमा केही कर छुट पनि दियौं । कर तिर्न आएकालाई १० प्रतिशत छुट पनि दिएका थियौं । हरेक वर्ष लक्ष्य भन्दाबढि नै राजस्व संकलन भएको छ ।

जावलाखेमा रहेको चिडियाखाना अव्यवस्थित भयो । बस्ती पनि जोखिममा छ भनेर सार्ने कुरा थियो । यो योजना कहाँ पुग्यो ?
चिडिया खाना सार्ने भनेको धेरै भयो नेपालमा कुरा गर्छन्। काम गर्दैनन् । हामी पनि न लैजाओस् भन्ने चाहन्छौं । चिडियाखाना यहाबाट सार्यो भने सरकारले पक्कै पनि त्यहाँ मन्त्री क्वाटर बनाउँछ । अथवा अरु कुनै भौतिक संरचनाहरु बनाउँछ ।

सानो ठाँउ भएपनि अहिले ११ सय जलचर, थलचर जनावर र चराचुरुङगीहरु रहेका छन् । नेपालको एउटा मात्र चिडियाखाना ललितपुर महानगरपालिकामा हुनु हाम्रो लागि गौरवको कुरा हो । जावलाखेलको चिडियाखाना सूर्य विनायक सार्ने भन्ने कुरा मैले एसएसली दिने बेला देखी नै निस्किएको कुरा हो । अहिलेसम्म यसको कुनै तयारी देखिएको छैन । सूर्यविनायकको कुन ठाँउमा लगेर राख्छ मलाई थाहा छैन । अहिलेको अवस्थामा जग्गा पाउन पनि महाभारत छ ।

तसर्थ यो कुरा, कुरामै सिमित हुन्छ र सिमित नै होस् भन्ने चाहना पनि छ । त्यहाँ पुर्वाधारहरुको विकास गर्नुपर्ने कुरामा हामी सहयोग गर्न सधै तयार छौ । कोभिडको समयमा पनि मानिसहरु जान नसकेपछि त्यहाँका जनावरहरुलाई खुवाउने खाना पनि समस्या भएको भन्ने थाहा पाएपछि मैले १० लाख रुपैयाँ चन्दा दिएको थिएँ । धेरैले चिडियाघरका नीम्ति सहयोग गरे। धेरै पैसा उठ्यो ।

भनेपछि चिडियाखाना सार्नका लागि महानगर सहमत छैन ?
सकेसम्म नसारोस् भन्ने हाम्रो चाहना हो । हाम्रो मातहतमा त छैन । हामो भुगोलभित्र छ । त्यसको व्यवस्थापन हामीसँग छैन । सरकारले चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी हामीलाई दियो भने राम्रोसँग सञ्चालन गर्ने क्षमता राख्छौ ।

पहिलेको तुलनामा बस्तीको हिसाबले पनि जोखिममा छ नी ?
बस्तीको हिसाबले चिडियाखानालाई जोखिम भन्ने कुरामा वातावरणीय प्रदुषणको कारणले सबैलाई जोखिम छ । म मेयर भएर आउनासाथ जावलाखेलको ग्राउण्डमा पनि विभिन्न स्कुलहरुको ग्रयाजुएशेनमा कन्सर्टहरु गर्ने गर्थे । नयाँ वर्ष मनाउने, दशैमा पनि ठुलो कन्सर्टहरु गर्थे । पुल्चोकसम्म त्यसले असर गरेको थियो । त्यसलाई मैले बन्द गर्न लगाए । अहिले बाघ भालु पनि आनन्दले सुत्न पाउँछन् । 

अहिले कुनै प्रकारको डिस्टर्बहरु छैन । हावाबाट हुने वातावरणीय प्रदुषण्ले भने असर गरिरहेको छ । जनावरलाई मात्र होइन तपाई हामीलाई पनि असर गरेको छ । यसलाई सुधार गर्न बान्छनीय छ । तसर्थ यसलाई नियन्त्रण गर्न पेट्रोज र डिजेलबाट चल्ने गाडीहरुलाई बन्द गर्ने बाहेक उपाय छैन । यी सवारी साधनहरु भविष्यमा बन्द हुन्छन् । दिगो विकासको अवधारणा २०२०–२०३० को लक्ष्यले २०३० सम्ममा बन्द गर्नुपर्छ भनेर बोलेको छ । तर, नेपालले २०३० होइन २०४० सम्म बन्द गर्ने भन्ने कुरा छ । जबकी कोरिया र जापानले २०२८ सम्ममा बन्दगर्ने भएको छ ।  

यो भयो भने वातावरणीय सुधार होला । त्यसबेला चिडियाखानाका जनावरहरुलाई पनि सुधार होला । यस्ता कुराहरुलाई पनि सुधार गर्न वान्छनीय छ हाम्रो तर्फबाट पनि गर्न सक्ने कुराहरुमा हामी सधै तयार छौ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हालसालै चुनाव सिद्धियो । नगरवासीले मलाई अत्यधिक मत दिएर विजयी गराउनु भएको छ । धेरै नै विश्वास गनुभएको छ । उहाँहरुको विश्वासमा कुनै पनि किसिमको कमी कमजोरी नगरीकन पाँच वर्षमा राम्रो काम गरेर देखाउँछु । पाँच वर्षको दौरानमा ललितपुर महानगरपालिकामा मेरो नेतृत्वमा जे जति कामहरु भए त्यसको उच्च मुल्यांकन मिडियाले पनि गरेको छ । नगरवासीहरुले पनि मेरो काम देखेर जुन विश्वासका साथ मलाई जिताउनु भयो अझ राम्रो काम गरेर देखाउँछु भनेर सञ्चामाध्यम मार्फत आम नगरवासी समक्ष पुनः प्रतिवद्दता जनाउन चाहन्छु ।
 

प्रतिक्रिया दिनुहोस