विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ : मन्त्री भट्टराई - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ : मन्त्री भट्टराई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
Sunrise bank
विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ : मन्त्री भट्टराई
LBEF
NCH-IPS

काठमाडाैं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफू विध्वंश गर्न आएको नभई विश्वकै सानदार विमानस्थल बनाउन आएको बताएका छन् ।

मन्त्री भट्टराइले मङ्गलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै बहुचर्चित बाराको निजगढ विमानस्थलको विकल्प खोज्ने पक्षमा आफू नरहेको बताए ।

‘निजगढ विमानस्थलको विकल्प खोज्दिँन । त्यहाँको सुकुम्बासी टाँगिया बस्ती व्यवस्थापन गरिन्छ । उनीहरुलाई नाङ्गो आकाशमूनि राख्दैनौ,’ पत्रकार सम्मेलनमा मन्त्री भट्राइले भने, ‘म विध्वंस गर्न आएको हैन, विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ ।’ 

उनले निजगढ विमानस्थल निर्माण प्रकृया चलिरहेका बेला वातावरणविद्हरुले चासो देखाएकोप्रति आफू जानकार रहेको पनि बताए । ‘म वातावरण संरक्षणप्रति सचेत छु,’ मन्त्री भट्टराईले विमानस्थल निर्माणका क्रममा समस्याका रुपमा देखिएको सुकुम्बासी बस्ती व्यवस्थापनका लागि आफूले स्थानीय सरकारसँग समेत कुराकनी गरेर निश्कर्षमा पुग्ने बताए ।

उनले वन मन्त्रालयसँय समन्वय गरेर विमानस्थल निर्माणको काम अघि बढाउने बताए । ‘यसका लागि २ नम्बर प्रदेश सरकारसँग पनि छलफल गर्छु । यसको आर्थिक सुनिश्चितता पनि खोज्नुपर्छ यसका लागि  लगानी बोर्ड पनि सम्बन्धित भएकोले बोर्डसँग छलफल गर्छु,’ मन्त्री भट्टराइले आफ्नो योजना सुनाए ।

उनले दोस्रो चरणमा त्रिभुवन विमानस्थल २१ घण्टा सुचारु गर्ने योजना रहेको भन्दै धावनमार्गको काम सन्तोषजनक रुपमा सम्पन्न भएको बताए ।

उनले ट्याक्सी वेको निर्माण बाँकी रहेको आफूले पाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार नै बुटिक एयरपोर्ट बनाउन र एयरपोर्टको स्तरोन्नती गर्ने काम अघि बढेको बताए ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७३ प्रतिशत सकिएको र पोखरा विमानस्थलको काम ४५ प्रतिशत सम्पन्न भएको जानकारी पाएको बताए ।

पोखरा विमानस्थलको काम २०२१ जुनमा सक्ने गरि काम गराउने उनले प्रतिबद्धता जनाए । त्यस्तै मन्त्री भट्टराइले ३ वटा डोमेस्टिक एयरपोर्ट रात्रिकालीन रुपमा सञ्चालन गर्ने प्रयास थाल्ने समेत बताए । उनले नेपाल वायुसेवा निगमको अवस्थाबारे अध्ययन गर्न एक कमिटी बनाएको जानकारी दिएका छन् । 

‘के–के कमजोरी भएका छन् १ महिनाभित्र प्रतिबेदन बुझाउन निर्देशन दिएको छु,’ उनले भने, ‘निगमका पदाधिकारीलाई ग्राउन्डेड भएका विमान सञ्चालन गर्न पनि निर्देशन दिएको छु । मैले उहाँहरुलाई स्पष्ट रुपमा भनेको छु, अब लर्याङलुरुङ गरेर यताउता गरेर चल्दैन भनेर निर्देशन दिएको छु ।’

मन्त्री भट्टराइले नेपाल वायुसेवा निगमलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने प्रतिवद्धता समेत जनाए । ‘आइकाओको प्रतिबन्धबारे छिट्टै कुरा हुन्छ । अब कोरिया, जापान र चीन लगायतका देशमा बायुसेवा निगमका जहाज उढ्छन्,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस