आज फेरि सुन तोलामा १५ सयले बढ्यो - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

आज फेरि सुन तोलामा १५ सयले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
Sunrise bank
आज फेरि सुन तोलामा १५ सयले बढ्यो
LBEF
NCH-IPS

काठमाडौं । ‘यो तीजमा ढल्केरै नाचिन्छ, बरु कम्मर भाँचिए भाँचिन्छ...’ बोलको तीज गीत विगतदेखि नै चर्चामा रहेको छ । तर, यसपटकको तीजमा नाचेर होइन, तीजमा लगाउने गहना किन्दा चाहिँ कम्मर भाँचिन्छ, सुन नलगाए पनि हाँसिन्छ भनेर गाउनुपर्ने भएको छ । पछिल्लोपटक सुनको मूल्यमा भएको उच्च वृद्धिका कारण यस्तो स्थिति उत्पन्न भएको हो । बुधबार नेपाली बजार छापावाला सुनको मूल्य प्रतितोला ६९ हजार ५ सय र तेजाबी सुन ६९ हजार २ सय र  चाँदीको मूल्य ८१० रुपैयाँ पुगेको छ । मंगलबार सुनको मूल्य ६८ हजार रुपैयाँ रहेको थियो ।

सुन खरिद गर्न न्यूरोड पुगेकी एक महिलाले सुनको मूल्य पसलेसँग सोधिन । पसलले एक तोलाको  ६९ हजार ५ सय पर्ने उत्तर दिए । ती महिलाले एक तोलाको ६९ हजार ५ सय भनेर लामो सास फेरिन् । उनले आफ्नी संगिनीलाई भनिन्,–‘जाउँ फर्किहालौ यो तीजमा गहना किन्न सकिँदैन ।’

सुनको मूल्य बढेकाले पहिले पहिलेको तीजमा जस्तो यो तीजमा सुन किन्नेको भीड पसलमा देखिँदैन । तीज आउन एक महिना पनि छैन । तर, सुन किन्न कोही तयार नदेखिएको न्यूरोडका सुन व्यापारीहरु बताउँछन् ।  किन्नेभन्दा बिक्री गर्न आउने बढी भएको उनीहरुको भनाइ छ ।

सुन अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । एक तोला सुन किन्न  ६९ हजार ५ सय तिर्नुपर्ने भएको छ । प्रतितोला ६३ हजारमा कारोबार हुँदै आएको सुन लगातार बृद्धि हुँदै  ६९ हजार ५ सयसम्म पुगेको छ ।

अमेरिका र इरानबीच उत्पन्न तनाव कम हुने सम्भावना नदेखिएकाले सुनको भाउ अझै बढ्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । अन्य क्षेत्रमा लागानी गर्नुभन्दा सुन खरिद गर्नु बढी सुरक्षित ठानिएकाले मूल्य बढेको बताइन्छ । विश्व बजारमा शक्तिशाली राष्ट्रबीच व्यापारिक तनाव उत्पन्न हुँदा स्थानीय बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

विश्व बजारमा सुनको भाउ वृद्धि हुनुमा शक्तिशाली राष्ट्रबीचको तनावले पारेको प्रभावको रुपमा लिइएको छ । पछिल्लो अवस्थामा अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ ।

त्यसैगरी अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ । शक्तिशाली राष्ट्रबीचको व्यापारिक द्वन्द्वका कारण लगानीकर्ता डलर र शेयर बजारमा लगानी गर्न ढुक्क हुन सकेका छैनन् । शेयर र डलरमा लगानी गर्न डराएका लगानीकर्ता सुनतिर आकर्षित भएका हुन् । यसले गर्दा सुनको भाउ बढेको हो । सुनको भाउ विश्व बजारमा पनि बढेको छ । प्रतिऔंस १ हजार ४ सय डलरमा पुगेको छ ।

हुन त सुनको भाउ कहिले उचाईमा पुग्ने र कहिले पातालमा झर्ने गर्छ । यसअघिको वर्षहरुमा पनि एकैपटक तीन हजारसम्म बढेको थियो । एकैचोटि तोलामा ३ हजार बढ्दा सुन बजारमा नयाँ तरङ उत्पन्न भएको थियो । सुन किन्नेभन्दा बेच्ने ह्वात्तै बढेका थिए । सुन किनिदिनुस् भन्ने ग्राहकको घुइँचो पसल–पसलमा लागेको थियो ।त्यतिबेला पनि सुनको भाउ अझै बढछ भन्ने गरिन्थ्यो । सुन बढ्दा किन्ने ग्राहक आत्तिएका थिए । सुन किन्ने ग्राहक हच्किएका थिए भने बेच्ने बढेका थिए ।

अहिले पनि हालसम्मकै उच्च विन्दुमा सुनको भाउले पुगेको छ । अहिले स्थानीय बजारमा तोलाको  ६९ हजार ५ सय पुगेको छ । जुन अहिलेसम्मकै सर्वाधिक महँगो हो । यस्तो बेलामा सुन बिक्री गर्ने धेरै हुन्छन् । यही गतिले ग्राहकले बिक्री गर्ने क्रम बढ्यो भने सुन प्रतितोला ७० हजार पुग्ने व्यवसायीहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस