aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

अर्थतन्त्रको संरचनागत परिवर्तन गर्ने खाका नै भएनः अर्थविद् प्याकुरेल

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • बुधबार, ११ जेठ २०७९
nabil bank
अर्थतन्त्रको संरचनागत परिवर्तन गर्ने खाका नै भएनः अर्थविद् प्याकुरेल
Global IME
LBF

काठमाडौं । सरकारले मंगलबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्यो । उक्त नीति तथा कार्यक्रम चित्तबुझ्दो नआएको अर्थविद्हरुले टिप्पणी गरेका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा अर्थतन्त्रको संरचनागत परिवर्तन गर्ने खाका नभएको अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेल बताउँछन् । 

उनी भन्छन्, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्र पक्षलाई हेर्दा राम्रो देखिएको छ । तर, अर्थतन्त्रको संरचनागत परिवर्तन गर्ने प्रष्ट खाका भने देखिएन । देशमा उत्पादकत्व वृद्धि गर्नका लागि स्पष्ट खाका ल्याएको छैन । साथै, कस्तो प्रविधि ल्याउने र व्यवस्थापनको सुधार कसरी गर्ने भन्ने कुरा पनि उल्लेख गरिएको छैन । अर्थतन्त्रको संरचनागत रुपान्तरण गर्ने नीति नै प्रष्ट छैन ।’

ठोस कार्यक्रम बिना नै सरकारले छरपष्ट खालको नीति तथा कार्यक्रमहरु ल्याएको अर्थविद् प्याकुरेलको तर्क छ । उनी भन्छन्, ‘नीति तथा कार्यक्रमहरु अलि भेगमा आयो । कार्यान्वयन गर्ने स्पष्ट नीति नै देखिएन । ती कार्यक्रमहरु कसरी कार्यान्वयन गर्ने भन्ने कुरा महत्वपुर्ण हुन्छ ।’ 

उनका अनुसार अहिले आर्थिक सुचकहरु कमजोर रहेका छन् । यस्तो बेला दिगो विकासको लक्ष्य प्राप्तिका कार्यक्रमहरु ल्याइनु नीति तथा कार्यक्रमलाई खेलवाडको विषय बनाइयो । महामारीले तहसनहस भएको अर्थतन्त्र र मुख्य सुचकहरुले बाटोे समात्न नसकेको अवस्थामा यस्तो तरिकाले नीतिलाई सम्बोधन गर्नु राम्रो होइन । नीतिमा धेरै कुरा समेटिए तर कसरी कार्यान्वयन गर्ने भन्ने कुरा समेटिएनन् ।

आन्तरिक र बाह्य रुपमा भएका जोखिमहरुबाट मुक्त हुनका लागि बजारमा एकाधिकारको अन्त्य हुनुपर्ने उनको भनाइ छ । अर्थविद् प्याकुरेल भन्छन्, ‘एकाधिकारलाई प्रोत्साहित गरिएका मुलुकका बजारमा प्रतिस्पर्धा हुन पाउँदैन । एकाधिकारलाई अन्त्य गर्न सके मुल्य वृद्धिलाई पनि नियन्त्रण गर्न सकिन्छ । एकाधिकार बजारमा निजी क्षेत्रलाई पनि समेट्न सकेको भए बजारमा प्रतिस्पर्धा हुने थियो र मुल्य वृद्धि पनि नियन्त्रणमा हुने थियो ।’

यससँगै सरकारले ल्याएको नीति तथा कार्यक्रममा आन्तरिक र बाह्य रुपमा भएका जोखिमहरुलाई बहन गर्न सक्छौ भन्ने नै प्रष्ट नभएको उनले आँैल्याए । ‘यस्तो नीति ल्याउनका लागि एकाधिकार जमाएर बसेका सार्वजनिक संस्थाहरुलाई हेरेर त्यस्ता संस्थाहरुमा निजि क्षेत्रलाई पनि समेट्नु पर्ने थियो’, उनले भने । 

अर्थविद् प्याकुरेलका अनुसार यसअघिका नीति तथा कार्यक्रम पनि महत्वकांक्षी नै आउने गर्थे । तर, अहिले महामारीले व्यापारहरु बन्द भएका छन् । पर्यटन क्षेत्र पनि तहसनहस भएको छ । निर्माणका कामहरुमा पनि समस्या आएको छ । बैंकमा लगानीयोग्य पूँजीको अभाव छ । यी समस्त समस्याहरुबाट ग्रसित भएको बेला जनतालाई उत्साह र आशा जगाउनका लागि मात्र अहिलेको नीति ठिक देखियो । 

उनले अहिले ल्याइएको निति तथा कार्यक्रममा स्पष्ट नभएका कुराहरुलाई बजेट मार्फत संशोधन गर्न सकिने बताए । अर्थविद् प्याकुरेलले भने, ‘व्यवहारिक रुपमा नीति तथा कार्यक्रमले ठोस परिणाम परिपुर्ती गर्ने र कार्यान्वयन प्रष्ट रुपमा आउन सकेनन् । सरकारसँग अझै पनि समय छ । यी कार्यक्रमहरु जुन स्तरमा आएका छन् । त्यसलाई प्रष्ट्याउनका लागि बजेटमा केही संशोधन र सुधार गर्न सकिने अवस्था छ ।’ 

नीति तथा कार्यक्रम जस्तै बजेट पनि त्यस्तै आयो भने अहिलेको सरकार बदनाम हुने उनको दावी छ । यसका साथै नीतिमा गरिबी, सिपमुलक क्षेत्र, पर्यटन, दिगो विकास लगायतका धेरै कुराहरु छुटेको उनले औँल्याए । उनी भन्छन्, ‘नीति तथा कार्यक्रममा थपेर मात्र हुँदैन । कार्यान्वयन पक्ष फितलो छ । नीति तथा कार्यक्रम र बजेटमा आएका परियोजनाहरुको सहि रुपमा कार्यान्वयन हुन सक्दैन । अहिले उद्घोष गरिएका नीति तथा कार्यक्रमले जुन उदेश्य लिइएको छ । त्यसको कार्यान्वयनका लागि नीति यस्तो हुन्छ भन्ने कुरा नै आएको छैन ।’ 
    
 

प्रतिक्रिया दिनुहोस