aarthiknews.com मंगलबार, २१ असार २०७९   Tuesday, 05 July, 2022
 
Blue Diamond

कोचबाम्बा, धरान र हर्क साम्पाङ

  • केदार सिटौला
    केदार सिटौला
  • सोमबार, ०९ जेठ २०७९
nabil bank
कोचबाम्बा, धरान र हर्क साम्पाङ
Global IME
LBF

ल्याटिन अमेरिकी देश बोलिभियाको तेश्रो ठुलो सहरको नाम हो, कोचबाम्बा । यो सहरको जनसङ्ख्या करिब आठ लाख जति रहेको छ । त्यहाँ खानेपानीको ठूलो समस्या थियो । बोलिभिया सरकारले विश्व बैंकको सुझावमा सन् १९९७ मा कोचबाम्बा नगर खानेपानी तथा ढल व्यवस्थापन सेवा (SEMPA) लाई निजीकरण गर्‍यो । विश्व बैंकले यसकारण खानेपानी सेवा निजीकरण गर्नको लागि पैरवी गरेको थियो कि उसका अनुसार सरकारसँग सो परियोजनाको लागि लगानी गर्न पर्याप्त पुँजी थिएन ।      

अमेरिकी बहुराष्ट्रिय कम्पनी बेक्टेलको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय समूह अगुवाइ डेल टुनारीले त्यसको जिम्मा पायो । त्यसका स्थानीय साझेदारको रूपमा चार वटा बोलिभियाई कम्पनी पनि थिए । यो कम्पनीले कोचबाम्बा सहर भन्दा ३५ किलोमिटर टाढा रहेको मिसिकुनी नदिमा बाँध बाँधेर २० किलोमिटर लामो सुरुङ मार्फत कोचाबाम्बा सहरमा पानी ल्याउने योजना बनाएको थियो । 

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता बहुपक्षीय संस्थाहरूको बिचारमा पानी पनि अरू वस्तु झैँ आर्थिक वस्तु नै हो । तसर्थ पानीमा पूर्ण लागत फिर्ताको नीति लागु गर्नु पर्छ । अर्थात् उपभोक्ताले पानी उपभोगको पुरै मूल्य चुकाउनु पर्छ र यसमा सरकारले अनुदान दिनु हुँदैन ।    

यो परियोजना सुरुवात भएपछि खानेपानीको मूल्यमा सय प्रतिशतसम्म मूल्य वृद्धि गरियो । घरमा धारा नजोडेकाहरूले समेत खानेपानीको मूल्य तिर्नु पर्ने भयो । उनीहरूको तर्क यो थियो की यो परियोजनाको अवधारणा अनुसार ती परिवारले पनि निकट भविष्यमा सेवा पाउने वाला थिए । त्यसपछि आकाशबाट परेको पानी संकलन गर्न र इनारको पानी झिक्न समेत लाइसेन्स लिनु पर्ने प्रावधान लागू गरियो । जसका कारण त्यहाँका आम जनताको आक्रोश बढ्दै जान थाल्यो ।    

सहस्राब्दी कै पहिलो पानी युद्ध   

सन् २००० को जनवरीदेखि कोचाबम्बाका आमजनताले यो परियोजनाको विरुद्धमा संघर्ष गर्न सुरु गरे । जुन कोचाबम्बाको पानी युद्धका नामले प्रख्यात छ । ओस्कार ओलिभिएरा नामक मजदुर नेताको नेतृत्वमा समिति बनेर संघर्ष सुरु भएको थियो । जुन संघर्षमा मजदुर, किसान, विद्यार्थी र समाजका सबै तह र तप्काको सहभागिता रहेको थियो । यो आन्दोलनको प्रमुख निसाना बोलिभिया सरकार र अमेरिकी बहुराष्ट्रिय कम्पनी बेक्टेल रहेको थियो ।  

आन्दोलन कयौँ चरणमा अघि बढ्यो । एक महिना पछि कोचाबम्बा सहरलाई प्रदर्शनकारिहरुले पुरै कब्जामा लिए । त्यसपछि बल्ल सरकारले जनताको अवाज सुन्यो र मूल्यवृद्धिको निर्णय फिर्ता लियो । योसँगै सरकारले जनता सामु अरू धेरै बाचाहरू पनि गर्‍यो । तर, बिस्तारै ती बाचाहरूलाई बिर्सिन थाल्यो । 

त्यसपछि फेरि मार्च महिनादेखि विद्रोह भड्कियो । आन्दोलनकारीले कोचाबम्बा सहरमा खानेपानीको विषयलाई लिएर जनमत सङ्ग्रहको आह्वान गरे । जुन आन्दोलनमा पचासौँ हजार मानिसहरूले सहभागिता जनाए । आन्दोलनका कार्यक्रमहरू क्रमशः उग्र बन्दै गए । जनताले सडकमा ब्यारिकेडहरु निर्माण गरेर मोर्चाबन्दी सुरु गरे । 

यस पटक सरकारले आन्दोलनकारीसँग वार्ता गर्नुको साटो दमनको नीति अपनायो । बोलिभियाई सेनालाई कोचाबम्बा सहर कब्जा गर्न पठाइयो । आन्दोलनले झन् उग्र रूप लियो । आन्दोलनकारी नेताहरूलाई सरकारले गिरफ्तार गरेर केहीलाई त्यो सहरबाट टाढा लखेटिदियो । तर, आन्दोलन शान्त भएन । 

आन्दोलनको क्रममा एक जना आन्दोलनकारीको मृत्यु भयो भने दर्जनौँ घाइते भए । कयौँ दिनको रक्तपातपूर्ण संघर्ष पछि सरकार वार्ता गर्न सहमत भयो । अन्ततः सरकार आन्दोलनकारीहरूका सबै माग पुरा गर्न तयार भयो । बोलिभिया सरकारले कोचाबम्बा सहरको खानेपानीको ठेक्का पाएको कम्पनीसँगको सम्झौता रद्ध गर्‍यो । र,  कोचाबम्बा सहरको खानेपानी ब्यबस्थापनको जिम्मा आन्दोलनकारिहरुको नेतृत्वको सामुदायिक समितिलाई हस्तान्तरण गरियो । कोचाबम्बाको पानीको लडाई शहस्राब्दीकै पहिलो पानी युद्ध थियो । जसले पानी कुनै विलासिताको वस्तु होइन यो अधिकार हो भन्ने कुरा साबित गर्‍यो । 

धरानको व्यथा  

पूर्वी नेपालको सहर धरानको अवस्था पनि बोलिभियाको कोचाबम्बाको अवस्था भन्दा खासै फरक छैन । धरानमा खानेपानीको ठुलो हाहाकार छ । यति बेला धरानमा खानेपानीको माग दैनिक चार करोड लिटर छ भने आपूर्ति केवल एक करोड बिस लाख लिटर मात्र रहेको छ ।

धरानको यो खानेपानीको अभावलाई समाधान गर्न धरान उपमहानगरपालिकाले एसियाली विकास बैंक (एडिबी) को एक अर्ब ७७ करोड ऋण अनुदानमा सन् २०१५ मा खानेपानी आयोजनाको काम सुरु गरेको थियो । यो आयोजना र धरान उपमहानगरपलिकाबीच भएको सम्झौतामा प्रति दिन १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने भनेर उल्लेख भएको थियो । तर, यो आयोजना सम्पन्न भएर हस्तान्तरण भइसक्दा पनि धरानको खानेपानीको अवस्था पहिलाको जस्तै छ । 

अहिले यो आयोजना पूर्ण रूपमा असफल भएको आशंका छ । सम्झौतामा उल्लेख भएको भन्दा आधा पनि पानी उत्पादन हुन नसकेको स्थानीयको आरोप छ । एडिबीको सर्त अनुसार धरानको खानेपानी व्यवस्थापनको जिम्मा सरकारद्वारा सञ्चालित खानेपानी संस्थान बाट खोसेर खानेपानी बोर्डमा पनि सारियो । जसले खानेपानीको महसुल कोचबम्बाको जस्तै दोब्बर नै महँगो बनायो । तर, खानेपानीको आपूर्तिमा भने कुनै सुधार भएन ।  

एक्लो यात्री हर्क साम्पाङ  

नोबेल पुरस्कार विजेता बङ्गाली कवि रबिन्द्रनाथ टैगोरको एउटा चर्चित कविता छ, ‘एक्ला चलो रे’ । जसको पहिलो हरफमै भनिएको छ, ‘यदि तिम्रो आवाज सुनिएन भने एक्लै हिँड’ । धरानका हरेक समस्याहरूमा प्रश्न गर्ने तर, जवाफ नपाउने एउटा यात्री यसै कवितामा भनेझैँ एक्लै हिँडे । उनी हुन्, हर्क साम्पाङ । 

धरानमा खानेपानी राजनीतिको मूल मुद्दा हो । यो मुद्दालाई यहाँका राजनीतिक दलहरूले आफ्नो दुनो सोझ्याउन प्रयोग गर्ने गर्छन् । तर, सत्तामा पुग्ने बित्तिकै यो मुद्दा उनीहरूको प्राथमिकताको विषय रहँदैन । बरु धरानका प्राय सबै ठूला राजनीतिक दलहरू, जनप्रतिनिधि र  एडिबीको खानेपानी परियोजनाका कर्मचारीहरूका लागि यो परियोजना दुहुनो गाई बनेको थियो । जसको विरुद्ध एक व्यक्तिले आवाज उठाए । तर, त्यो आवाज सुनुवाइ भएन । त्यसैले हर्क साम्पाङ त्यहाँ भएको बेथिति र परियोजनाको असफलताका बारेमा सुरुदेखि नै भण्डाफोर गर्दै आएका थिए । 

उनको आन्दोलन निरन्तर जारी रह्यो । जब एडिबीको खानेपानी परियोजना असफल भयो । उनीहरू जसरी पनि यो परियोजनालाई हस्तान्तरण गर्न लागि परे । त्यस बेला धरानको खानेपानीको एउटा मुहान रहेको सर्दु खोलाबाट आफ्नो प्लान्ट तर्फ अनधिकृत रूपमा लागेको पाइपलाई हर्क साम्पाङले खुस्काइ दिए । त्यसपछि हर्क साम्पाङ्गलाई प्रहरीले गिरफ्तार गरी पटक पटक म्याद थप्दै थुनामा राख्यो ।

धरानको खानेपानीको समस्यालाई लिएर उनी काठमाडौंमा सम्बन्धित मन्त्रिलाई समेत भेट्न गए । मन्त्रीले भेट दिन समेत जरुरी ठानेनन् । तर, आफ्नो उद्देश्यमा अडिक साम्पाङले असफल भए पनि आन्दोलन जारी राखे । 

त्यस्तै, हर्क साम्पाङ्गले सर्दु खोलाबाट बालुवा गिटीको अत्यधिक दोहन रोक्न निगरानी गर्न खोजे । नियम अनुसार चार फिट मात्र खोलाको सतह खन्न अधिकार प्राप्त भएकोमा १५–२० फिट खनेको पाएपछि त्यसलाई रोक्न खोज्दा गिटी–बालुवा व्यवसायीहरूले उनी र उनको समूह माथि आक्रमण समेत गर्‍यो । उनको टाउको समेत फुटाईयो । घटनास्थलमा पुगेको प्रहरीले समेत ती तस्करहरूको पक्षमा लाग्दै उल्टै हर्क साम्पंङकै समूहलाई गिरफ्तार गर्‍यो । 

हर्क साम्पाङ्ग एमसीसी विरुद्धको आन्दोलनमा पनि सुरु देखि नै सरिक थिए । उनले आफ्ना सीमित सहयोगीहरूको साथमा एमसीसी विरुद्ध आन्दोलन जारी राखे । नियमित जस्तै जनताको चेतना जगाउन उनले राष्ट्रिय झन्डा बोकेर एमसीसी विरुद्ध धरानको मुख्य केन्द्र भानु चोकमा कोण सभा गरिराखे । अरू राजनीतिक पार्टीहरूले आफ्नो स्वार्थ अनुसार एमसीसी प्रतिको अडान फेरे तर हर्क साम्पाङ्ग आफ्नो अडानमा अलिकति पनि विचलित बनेनन् । 

धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको विकृति र विसंगतिविरुद्धको हर्क साम्पाङ्गको अभियान निरन्तर जारी रह्यो । उनले बिपीको उपकुलपति विरुद्ध मात्र धर्ना, जुलुस गरेनन् बरु सो प्रतिष्ठानको समग्र सुधारको लागि आन्दोलन गरे । उनको आन्दोलन अरू पार्टीको आन्दोलन भन्दा के अर्थमा पनि फरक थियो भने अरू पार्टीले सो प्रतिष्ठानमा आफू समर्थक उपकुलपति नियुक्त गराउने वा त्यसलाई हटाउने लक्ष्यका साथ काम गर्थे भने हर्क साम्पाङ्गले धराने जनताले सहज रूपमा सुविधा पाउनु पर्ने माग राखे । 

आफ्ना विचार र मागहरू बोकेर एउटा एक्लो मान्छे दश वर्षदेखि धरानका गल्लीहरूमा, टोल–टोलहरूमा एक्लै एउटा कालो झोला र पानीको बोतल बोकेर भौँतारी रह्यो । उसले आफ्ना आवाजहरू धरानका माटो र आकाशहरूले सुन्ने गरी दोहर्‍याइ रह्यो । धरान नगरका समस्याहरूलाई उठाई रह्यो । कुटाइ खाइ रह्यो । जेल गइरह्यो । तर, उ थाकेन ।

हर्क साम्पाङ्गले एउटा टेम्पुमा हाते माइक र साउन्ड बक्स बोकेर धरानका गाउँ–बस्तीहरूमा धरानका जल्दा–बल्दा समस्याहरूबारे जनतालाई जगाउँदै हिँडे । आफ्नो पर्चा आफै लेखे र आफै बाडे । आफ्नो अभियानको गीत आफै गाए । उनका कुरा सुन्न कोही भेला नभए पनि उनलाई खासै फरक पर्दैन थियो । अरूले उनको जति खिल्ली उडाए पनि उनलाई केही फरक परेन । 

विं सं २०७६  सालको उपनिर्वाचनमा उनी धरानको मेयरको चुनावमा उठेका थिए । जसमा उनले मात्र ४२२ मत पाए । तर, यसले हर्क साम्पाङ्गलाई हत्तोत्साही बनाएन । उनी आफ्नो अभियानमा लागिरहे । तीन वर्षपछि २०७९ सालमा फेरि अर्को स्थानीय निर्वाचन आयो । यसमा पनि हर्क साम्पाङ्ग उही चिरपरिचित शैलीमा आफ्नो अभियानमा लागे । राजनीतिक दलका उम्मेदवारहरूले तडकभडकसहित सभा र र्‍याली गरे । उनीहरूले रक्सीको खोलो बगाए । मासु र भात महिनौँसम्म बाँडे । सबैका गाडी र मोटरसाइकलमा पेट्रोल भरिदिए । 

तर, हर्क साम्पाङको र्‍याली वा सभा भएन । उनी मेयरमा उम्मेदवारी दिएको खबर पुर्‍याउन एक्लै धरानका चोक, गल्ली र घरका ढोका ढोकामा पुगे । आफ्नै हातले पर्चा बाडे । उनीहरूको सेवक बन्ने बाचा गरे । 

नेपालको राष्ट्रिय झन्डा ओढेर हर्क साम्पाङ्ग धरानका घर–घर डुल्दै आफ्नो पर्चा–पम्प्लेट वितरण गरिरहेका भेटिन्थे । न उनीसँग ठुला ठुला आमसभा गर्ने साधन श्रोत नै थियो न क्षमता नै । धेरैले उनको यो कार्य शैलीको मजाक उडाइरहेका थिए । तिनै हर्क साम्पाङ्गले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेलाई सहज रूपमा पराजित गर्दै धरान उपमानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । यो कुनै मामुली उपलब्धि होइन । 

धरानको निर्वाचन मुलत खानेपानीको मुद्दालाई लिएर लडीएको थियो । यसमा धरानका आम मान्छेको जित भएको छ । तर, यो जित पूर्ण छैन । हर्क साम्पाङ्गले जुन सपना बोकेका छन्, त्यो सहज छैन । हुनत, हर्क साम्पाङ्गले अहिले जुन सफलता हासिल गरेका छन् त्यो पनि लगभग असम्भव जस्तै नै थियो । भोली, आज असम्भव झैँ लाग्ने उनका सपना र योजनाहरू पनि साकार बनुन्, शुभकामना धरानका एक्ला यात्री हर्क साम्पाङलाई ।  

 

प्रतिक्रिया दिनुहोस