
काठमाडौं । ललितपुर महानगरपालिकामा दिउँसो २ः१५ बजे सम्ममा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए ।
भक्तपुरमा स्थानीय तह निर्वाचनमा दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए ।
जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन् । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्यविनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा ४१ हजार ८४३ जना छन् ।
मनाङमा मध्यह्नसम्म ६० प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा हिमाली जिल्ला मनाङमा ६० प्रतिशत मत खसेको छ ।
त्यस्तै, बारा जिल्लाका चार गाउँपालिका र २८ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको जनाइएको छ ।
बर्दियामा दिउँसो ३ बजेसम्म ४७दशमलव ७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताए । मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उनले जानकारी दिए ।
उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।
अहिले २ः३० बजेसम्म ६० प्रतिशत मतदान भएको उनले जानकारी दिए । जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस