aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

‘आयातमा रोक लगाउँदैमा अर्थतन्त्र सुधार हुँदैन, अब गाडीको मूल्य बढ्ने निश्चित छ’

  • रिता राउत
    रिता राउत
  • सोमबार, १९ बैशाख २०७९
nabil bank
‘आयातमा रोक लगाउँदैमा अर्थतन्त्र सुधार हुँदैन, अब गाडीको मूल्य बढ्ने निश्चित छ’
Global IME
LBF

काठमाडौं । सरकारले गत हप्तादेखि लागू हुनेगरि विलासीको वस्तु आयातको रोक लगाएको छ । पछिल्लो समय विदेशी मुद्रा सन्चिति कम भएर देशको आर्थिक अवस्थाबारे संकटतिर धकेलिरहेको अवस्थामा सरकारले अर्थतन्त्र सुधारका लागि बिलासीका वस्तु आयातमा प्रतिबन्ध लगाएको हो ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी मोबाईल फोनदेखि गाडी, कुरकुरे सम्मकाको आयातमा प्रतिबन्ध लगाएको हो । ६०० अमेरिकी डलरमाथिका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, सबै प्रकारका खेलौना, कुरकुरे, कुरमुरे, लेज, तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा आयातमा रोक लगाएको हो । 

त्यस्तै, जीप, कार र भ्यान आयात गर्न रोक लागेको छ । एम्बुलेन्स र शववाहन बाहेकका कुनै पनि सामग्री आयात गर्न नपाइने मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ । विदेशी मुद्राको सञ्चिति ६.७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्था आएपछि सरकारले यी विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो । सरकारले विलासी वस्तुहरुको आयातमा रोक लगाएसँगै चोरी पैठारी बढ्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । उनी भन्छन्, ‘अर्थतन्त्र सुधारका लागि सरकारले विलासीका वस्तु आयातमा रोक लगाएको छ । तर, आयातमा रोक लगाईएका वस्तुहरुको चोरी पैठारी मौलाउन सक्छ ।’   

चोरी पैठारीबारे सरकारले नियन्त्रण गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । साथै उनले कानुनी रुपमा नै व्यापार गर्न आग्रह गरे । साथै उनले ब्यालेन्स अफ पेमेन्ट(बीओपी) घटाएर आयात गर्दा मुलुकलाई संकट पर्ने बताए । ‘आयातबाट नै मुलुकको खर्चको लागि राजस्व उठ्छ । बीओपीलाई मेन्टेन गरेर कोटा प्रणालीबाट आयातलाई पनि खुकुलो गर्नुपर्छ । कोटा प्रणालीबाट आवश्यक पर्ने सामानहरुको आयात गर्नुपर्छ’, उनले भने । 

कोरोना महामारीले पनि अर्थतन्त्रलाई असर परेका कारण अर्थतन्त्र दबाबमा रहे पनि त्यसलाई व्यवस्थापन गरेर अगाडी बढ्नु पर्ने अध्यक्ष मल्लको भनाई छ । उनी भन्छन्, ‘कोरोना महामारीले अर्थतन्त्र थला पार्यो । रुस युक्रेनको युद्धको कारण पनि वस्तु तथा सामानहरुको महंगी बढेको छ । खाने तेलदेखि लिएर पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ । यसले गर्दा पनि अर्थतन्त्रमा असर पर्न गएको छ । अर्थतन्त्रमा दबाब त छ तर त्यसलाई व्यवस्थापन गर्नमा सरकारले ध्यान दिनुपर्छ । आयात मात्र रोकेर हुँदैन ।’ 

उनका अनुसार सरकारले विलासी वस्तु आयातमा रोक लगाएपनि बजारको माग भने घट्छ भन्ने हुँदैन । बजारमो माग धान्नका लागि आवश्यकता अनुसार व्यवस्थित गरेर आयात गर्न सकिन्छ ।  असारपछि अवस्था हेरेर सबै वस्तुहरुको आयात खुला गर्ने सरकारको स्पष्ट धारणा समेत रहेको उनले सुनाए । मल्ले भने, ‘सरकारले वस्तुहरुका लागि रोक लागाएको लामो समयका लागि होइन । छोटो समयका लागि गरेपनि व्यवस्थित गर्नुपर्छ भनेर हामीले आग्रह गरेका छौ । उद्योग व्यवसाय चलाएर बसेकाहरुलाई केही सामानले व्यापार अड्किन सक्छ । यसमा सरकारले ध्यान दिनु पर्छ ।’

विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएपछि सरकारले अत्यावश्यक बाहेकका सबै सामग्री आयातमा क्रमशः प्रतिबन्ध लगाउँदै आएको छ । अर्थ मन्त्रालयले विलासी सवारी साधनलगायतका सामग्रीको हकमा एलसी नखोल्न समेत आग्रह गरिसकेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन् । 

गाडी आयातमा रोक लगाउँदा अब गाडीको महँगी बढ्ने नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताउँछन् । उनी भन्छन्, ‘आयात रोक्दा व्यापारीसंगै उपभोक्तालाई पनि असर पर्छ । आयात रोकिएका कारण अब गाडीको मूल्य बढ्छ । भारतमा पनि गाडीको मूल्य बढिरहेको छ । त्यहाँ सबै गाडीहरुको लगभग मूल्य बढाइसकेको छ । त्यतिमात्र होइन नयाँ आउने गाडीहरुको मूल्य पनि बढिरहेको छ ।’

उनका अनुसार बजारमा गाडीको सर्टेज भएपछि लागत मूल्य पनि बढ्न जान्छ । कर्मचारीहरुलाई पाल्नै पर्यो । जसले गर्दा गाडीको मूल्य बढ्न जान्छ । तर, अहिले हामीले हामीसंग भएका गाडीहरु पुरानै मूल्यमा बेचिरहेका छौं । 

अध्यक्ष थापाले नेपालमा ४० देखि ६० लाखसम्म मूल्य पर्ने गाडीहरुको माग धेरै रहेको बताउँदै भने, ‘करिब एक महिनासम्म बजारको माग धान्न सक्छौं । तर, कतिपय मोडलहरुका गाडी सर्टेज हुनसक्छ । अब ग्राहकले मागे अनुसारका मोडहरुको गाडी भने पाउन मुस्किल छ । एक महिनापछि ग्राहकको माग नै धान्न सक्दैनौं ।’ 

यता, बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले पनि करिब तीन महिनासम्म गाडी आयात नभए पनि बजारको माग धान्न सकिने बताउँछन् । उनी भन्छन्, ‘सरकारले गाडी आयातमा रोक लगाएका कारण यस क्षेत्रमा असर परेको छ । तर, तीन महिनासम्म आयात नभए पनि बजारको माग धान्न सक्छौं ।’ 

साथै उनले तीन महिनापछि भने सरकारले आवश्यकता अनुसार आयात गर्न दिनुपर्ने माग गरे । प्रबन्ध निर्देशक बतासले भने, ‘तत्काल आयात रोकिएपनि विस्तारै खुला गर्नु पर्छ । गाडी आयातमा प्रतिबन्ध लामो समयसम्म गर्नु हुँदैन । आवश्यकता अनुसार सरकारले आयात गर्न दिनु पर्छ ।’

नाडामा अध्यक्ष थापाले अर्थमन्त्रीसंग सकेसम्म चाँडै आयातमा खुला गर्नु पर्यो भनेर माग राखेको सुनाए । साथै उनले असार मसान्तमा गाडी आयात खुला गरिएन भदौमा हुन लागेको देशकै ठूलो नाडा एक्स्पो असर पर्ने बताए । अध्यक्ष थापाले भने, ‘देशकै ठूलो नाडा एक्स्पो हुँदैछ । यो देशकै प्रतिष्ठित एक्स्पो पनि हो । यसले देशको अर्थतन्त्र चलायमान पुर्याउन मद्दत गर्छ । भदौको ७ गतेदेखि १३ गतेसम्मका लागि यस एक्स्पो गर्ने भनेर हामीले सबै तयारी गरिरहेका छौं । साउन एक गतेदेखि आयातमा खुला गरिएन् भने यो एक्स्पो गर्न सक्दैनौं ।’ 

यसैबीच उनले नेपालमा विद्युतीय सवारीको माग बढ्दो रहे पनि आपूर्तिमा समस्या रहेको गुनासो पोखे । ‘पछिल्लो समय नेपालमा विद्युतीय गाडीको माग बढ्दो रहेको छ ।  तर, हामीले आपूर्ति सहज तरिको गर्न सकिरहेका छैनौं । अन्तराष्ट्रिय बजारमा नै विद्युतीय गाडी प्रोडक्सनको समस्या रहेको छ । यसले गर्दा हामीले माग भएको समयमा नै आपूर्ति गर्न सकिरहेका छैनौं’, उनले भने ।   
 

प्रतिक्रिया दिनुहोस