aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

‘गाँजा प्रतिबन्ध फुकुवा गरे व्यापार घाटा कम गर्न सकिन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ बैशाख २०७९
nabil bank
‘गाँजा प्रतिबन्ध फुकुवा गरे व्यापार घाटा कम गर्न सकिन्छ’
Global IME
LBF

काठमाडौं । नेपालमा गाँजाको उत्पादन बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । नेपालको कानुनले गाँजालाई लागु पदार्थको रूपमा परिभाषित गर्दै यसमा रोक लगाएको हो ।   

तर, गाँजाको प्रयोगमा प्रतिबन्ध लगाए पनि विभिन्न पर्वहरूमा भगवानको प्रसादको रूपमा लिँदै खुल्लमखुल्ला रूपमा बिक्री गरेको पाइन्छ । शिवरात्रिजस्ता पर्वहरूमा गाँजाको सेवन धेरैले गरेको देख्न सकिन्छ । यो दिन प्रतिबन्ध लगाएको गाँजाको प्रयोग गर्नेलाई न कारबाही हुन्छ न रोक लगाइन्छ । 

कतिपय देशले गाँजालाई वैधानिकता दिएका पनि छन् । गाँजालाई औषधिमा रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विभिन्न अनुसन्धानले पनि देखाएको छ । नेपालमा पनि गाँजालाई वैधानिकता दिनुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् ।  

अध्यक्ष मल्ल भन्छन्, ‘नेपालमा गाँजा उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । गाँजाबाट धेरै फाइदाहरू लिन सकिन्छ । गाँजाबाट औषधिदेखि कपडासम्म बन्छ । त्यसैले नेपालले पनि गाँजालाई वैधानिकता दिनुपर्छ ।’ 

उनका अनुसार नेपालको पश्चिम क्षेत्रको जङ्गलहरूमा धेरै गाँजा पाइन्छ । युएनमा पनि बहुमतले गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्छ भन्ने छ तर नेपालमा भने गाँजा निर्यात गर्न नपाउने व्यवस्था छ । मल्ल भन्छन्, ‘औषधिदेखि कपडा उत्पादनसम्ममा समेत गाँजा प्रयोग हुन्छ । क्यान्सर रोगको उपचारमा पनि गाँजा काम लाग्छ । गाँजाको बोक्रा र जराबाट विभिन्न कपडाहरू बन्छ । नेपालमा सही रूपमा गाँजा व्यवस्थापन भएन ।’  

केही दिन अघि मात्रै चेम्बरले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाँजाका धेरै फाइदाहरू रहेका कारण यसलाई वैधानिकता दिनुपर्ने माग गरेको थियो । अध्यक्ष मल्लले गाँजा खेतीलाई कानुनी मान्यता दिई सञ्चालनमा ल्याउन सरकारलाई सुझाव समेत दिएको बताए । 

सरकारले गाँजा खेतीलाई कानुनी मान्यता दिएर निर्यात गर्न सके व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘गाँजा निर्यातजन्य कुरा हो । यसलाई कानुनी मान्यता दिएमा पक्कै पनि व्यापार घाटा कम गर्न सकिन्छ । लागु औषधको रूपमा निर्यात नगरी औषधि र कपडाको रूपमा निर्यात गर्न सकिन्छ ।’ साथै उनले अहिले बजारमा गाँजाबाट बनेका कपडाहरूको माग रहेको बताए ।  

उनका अनुसार हाम्रो देश प्रशस्त रूपमा गाँजा हुने ठाउँ हो । पश्चिम क्षेत्रको पहाडको जङ्गलहरूमा जङ्गली गाँजाहरू पनि धेरै छ । यसलाई प्रवर्द्धन गर्नुपर्छ । ‘सरकारले नीति नियम बनाएर निर्यात गर्नुपर्छ । गाँजा नष्ट गरेर फालेर बस्नुभएन । यसलाई प्रवर्द्धन गरेर निर्यात गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भने ।  

 

प्रतिक्रिया दिनुहोस