aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

'दुई दिने सार्वजनिक बिदाले अर्थतन्त्र थप कमजोर पार्छ, जनतालाई सास्ती थप्छ'

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • शुक्रबार, १६ बैशाख २०७९
nabil bank
'दुई दिने सार्वजनिक बिदाले अर्थतन्त्र थप कमजोर पार्छ, जनतालाई सास्ती थप्छ'
Global IME
LBF

काठमाडौं । सरकारले वैशाख १४ गते बुधवार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्‍यो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा शनिवार र आइतबार सार्वजनिक बिदा दिने दिने निर्णय गरेको हो ।  

खस्कँदो अर्थतन्त्र सुधारका लागि भन्दै सरकारको उक्त निर्णय गरेको जनाएको छ । तर, सरकारको यो निर्णय तर्कसङ्गत भने देखिँदैन । सार्वजनिक बिदाका दिन सरकारी गाडीहरू बन्द भएर पेट्रोलियम पदार्थको खपत कम हुन्छ भन्ने सरकारको निर्णय प्रभावकारी हुने देखिँदैन । सरकारी कर्मचारीहरू दुई दिन घरमा बसेर पनि खान सक्ने अवस्था छ। तर, मेहनत र परिश्रम गरेर दैनिकी गुजारा गर्नेहरूका लागि बिदाले फरक पार्दैन उनीहरूको दिनचर्या पूर्ववत् रहँदा इन्धन खपत खासै घट्दैन।

सरकारको दुई दिन बिदा दिने निर्णयले अर्थतन्त्रमा सुधार नआउने पूर्व अर्थ सचिव रामेश्वर खनाल बताउँछन् । खनाल भन्छन्, ‘सरकारले दुई दिन सार्वजनिक बिदा दिँदैमा अर्थतन्त्रमा सुधार आउँदैन । हाम्रो उत्पादकत्व एकदम कम छ । मुलभुत रूपमा तीन वटा कुरामा सुधार नगरेसम्म दुई दिनको बिदाले कुनै प्रतिफल आउँदैन । उल्टै सर्वसाधारणको खर्च बढ्छ ।’

अर्थविद् खनालका अनुसार गाउँका धेरै मानिसहरू सरकारी सेवा लिनका लागि सदरमुकाम धाउनुपर्छ । यातायातको व्यवस्था छैन हिँडेर आयो एक रात बिताएर भोलिपल्ट बिहान सेवा लिएर फर्केर जान्छन् । मालपोतको काम जिल्ला प्रशासनबाट नागरिकता पासपोर्ट लगायतका कामहरूका निम्ति आउनुपर्ने सदरमुकाम नै हो । यसरी धाएर सेवा लिन जाँदा त्यो दिन काम सकिएन भने दुई दिनसम्म कुर्नुपर्ने हुन्छ । यसो हुँदा लागत बढ्ने भयो ।

‘सेवा प्रवाहलाई गाउँपालिका र नगरपालिका स्तरमा अहिलेसम्म पुर्‍याउन सकेको छैन । संघियता अनुसार सेवा प्रवाह पुर्‍याउन सकेको भए यो प्रभावकारी हुने थियो’, उनले भने ।  

छिमेकी मुलुकको तुलनामा नेपाली कामदारको उत्पादकत्व कम रहेको उनको भनाइ छ। खनालले भने, ‘नेपाली कामदारको उत्पादकत्व भारत, बङ्गलादेश, चीन र श्रीलङका लगायतका देशहरूको तुलनामा कम छ । सय रुपैयाँ ज्याला दिएबापत सय रुपैयाँ कै उत्पादन गर्छ की त्यो भन्दा कम उत्पादन गर्छ भन्ने हो । हाम्रो देशमा ज्यालाको तुलनामा उत्पादन पनि कम छ ।’

सरकारले इन्धन खपत कम गर्न दुई दिन सार्वजनिक बिदा दिए पनि सरकारी सवारी साधनको इन्धन खपत कमी आउँदैन । कर्मचारीलाई बिदा दिए पनि तलब दिनुपर्ने हुँदा अर्थतन्त्रको भार कम हुँदैन । यसले गर्दा लागत बढ्ने र उत्पादकत्व झन् घट्ने अर्थविद् खनालको तर्क छ ।  

उनी भन्छन्, ‘एक दिन काम नगरे पनि ज्याला दिनै पर्छ । पाँच दिन काम गरे पनि ज्याला ७ दिनकै दिनुपर्ने हुन्छ । हाम्रो देशमा सरकारी कर्मचारीहरू अफिस पनि बिहान आधा घण्टा ढिला पुग्ने र निस्कने बेला पनि १ घण्टा अगाडी नै निस्कने गर्छन् । सेवाग्राहीहरुलाई सेवा दिइरहेका छैनन् । घण्टाको हिसाबले काम गर्दा पनि हाम्रो उत्पादकत्वमा ह्रास भएर जान्छ उत्पादकत्वमा ह्रास आउनु भनेको राष्ट्रिय उत्पादन घट्नु हो । तसर्थ आर्थिक रूपमा यसले योगदान पुर्याउदैन ।’

यसका साथै सार्वजनिक बिदालाई सकारात्मक बनाउनका लागि मूलकभरिको यातायातको क्षेत्रमा सुधार हुनुपर्ने उनको धारणा छ । खनाल भन्छन्, ‘सर्वसाधारणहरूले आफ्नो घरबाट सरकारी कार्यालयहरूमा सेवा लिएर घर फर्किन सक्ने यातायातको पहुँच हुनुपर्‍यो । सबै ठाउँमा यातायात क्षेत्र पनि राम्रो हुनुपर्‍यो । उत्पादकत्वमा वृद्धि गर्न सरकारले तालिमको वृद्धि गर्नपर्छ । सीपमा विकास गर्नुपर्छ । धेरै सेवाहरू अनलाइन मार्फत गर्नुपर्छ । यति गर्न सकेमा मात्र दुई दिनको बिदाको औचित्य हुन्छ ।’

दुई दिनको बिदाले मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउन नसके पनि आन्तरिक पर्यटन क्षेत्रमा भने केही सुधार हुने देखिने खनालको विश्लेषण छ । उनले भने, ‘बिदाले सकारात्मक कुरामा प्रभाव पार्ने भनेको पर्यटकका लागि मात्रै हो । मध्य आयका मानिसहरू बस्ने ठाउँबाट दुई दिनको समयमा घुम्न जान सक्ने ठाउँमा जान सक्छन् । आन्तरिक पर्यटनको गतिविधिमा अलिकति फरक पर्छ  । त्यो बाहेक अरू सकारात्मक प्रभाव छैन ।’

सरकारले दुई दिन विद्यालय बन्द गर्दा त्यसबाट समेत अर्थतन्त्रलाई टेवा पुग्ने भने देखिँदैन । देशभर दैनिक रूपमा निजी विद्यालयका दुई हजार बस सञ्चालन हुन्छन् । विद्यार्थीहरूका लागि भनेर देशभर आठ हजार बस गुड्छन् । यस मध्ये पनि कतिपयले भाडामा लिएर चलाएका छन् ।
कोरोना महामारीका कारण गत दुई वर्ष देखि शिक्षाको गुणस्तर खस्किरहेको छ । सरकारले दुई दिन सार्वजनिक बिदा दिन निर्णय गरेसँगै विद्यालय पनि बन्द हुने भएका छन् । जसले गर्दा शिक्षा क्षेत्रमा झन् ठुलो प्रभाव पर्ने देखिन्छ । बालबालिका विद्यालय पठाएर कार्यालय जाने र ज्याला मजदुरी गरेर बसेका अविभावहरुमा पनि यसको प्रत्यक्ष असर पर्न जान्छ । तर, अर्थविद् खनाल भने विद्यालयका लागि यो बिदा ठिक रहेको बताउँछन् ।

उनी भन्छन्, ‘विद्यालयका हकमा भने अहिले पनि धेरै विद्यालयहरूले पाँच दिनको नै कक्षा सञ्चालन गर्ने गर्छन् । शुक्रवारका दिन अतिरिक्त क्रियाकलापहरू नै गर्ने हुन् । पढाई धेरै हुँदैन । ग्रामीण क्षेत्रका विद्यालयको लागि पनि पाँच दिन ठिक हो । विद्यार्थीले विद्यालयमा मात्रै अध्ययन गर्ने होइन घरमा गृहकार्य पनि गर्नुपर्ने हुन्छ ।’

‘शिक्षकका निम्ति पनि बिदाले खासै असर पर्दैन । शिक्षकले पनि दुई दिन स्वअध्ययन गर्ने मौका पाउँछन् । सातै दिन पढाउनुपर्दा उनीहरूले स्वअध्ययन गर्ने मौका पनि पाएको हुँदैन । अध्ययन अनुसन्धान नगरी शिक्षकले कसरी पढाउँछ । विद्यालयको हकमा यो बिदा ठिक छ’, उनले थपे ।  

सरकारले कुनै विचार र विमर्श नगरीकन यस्तो निर्णय लिँदा सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पर्ने  अर्थविद्को खनालको भनाइ छ । उनी भन्छन्, ‘सरकारले खर्च बचाउने बहानामा बिदा दिने निर्णयले नागरिक थप मारमा पर्नेछन् । सरकारले बचाएको भन्दा दोब्बर रूपमा नागरिकको खर्च बढ्छ । आर्थिक दृष्टिकोणले हेर्ने हो भने यो निर्णय उचित छैन ।’

उनका अनुसार ग्रामीण क्षेत्रका मानिसहरूले स्वास्थ्य सेवा लिनका लागि पनि सदरमुकामसम्म पुग्नुपर्ने हुन्छ । उपचारका लागि शुक्रवार बेलुका अस्पताल पुगे भने सेवा लिनका लागि आइतबारसम्म कुर्नुपर्ने हुन्छ । 

खनाल भन्छन्, ‘गाउँमा नजिकै अस्पताल छैन । सानो सानो उपचारका लागि पनि सदरमुकाम सम्म नै पुग्नुपर्छ । सदरमुकाममा आइतबार पनि अस्पताल बन्द हुने शनिवार पनि बन्द हुने भएपछि उपचार सेवा पाउँदैन । इमर्जेन्सी भएमा उपचार पाउला नियमित बिरामीले सेवा लिन पनि तीन दिन कुर्नुपर्छ । स्वास्थ्य सेवाको क्षेत्रमा ठुलो ह्रास आउँछ । जनताले पाउने स्वास्थ्य सुविधा समयमा पाउँदैनन् ।’

प्रतिक्रिया दिनुहोस