aarthiknews.com विहीबार, १२ जेठ २०७९   Thursday, 26 May, 2022
 

यसकारण सहकारीमा पैसा राख्न डराए सर्वसाधारण

  • अनुषा थापा
    अनुषा थापा
  • आइतबार, २७ चैत्र २०७८
nabil bank
यसकारण सहकारीमा पैसा राख्न डराए सर्वसाधारण
Global IME
LBF

सहकारीहरूले बजार प्रतिनिधि राखेर दैनिकी रूपमा पैसा संकलन गर्ने गर्छ । एक महिना अघिसम्म दुई लाख रकम संकलन गर्ने बजार प्रतिनिधिहरूलाई अहिले दैनिक पन्ध्र हजार उठाउन पनि निकै सकस छ । बजारमा धेरै व्यापारीहरूले पैसा राख्न छोड्दा उनीहरूको दैनिक उठाउने रकम स्वाटै घटेको हो ।   

मुलुकको आर्थिक संकट र तरलता बढेको थाहा पाइसकेका जनताको मनमा सहकारीहरू कतिखेर भाग्ने हुन् मात्रै परेको छ । त्यसैले, उनीहरूले बचत गर्न छोडे बरु बचत गरेको रकम भटाभट निकाल्न थाले । बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा सहकारीमा पैसा निकाल्न आउनेहरुको पनि बढेको देखिन्छ ।   

सहकारीका कर्मचारीहरु सञ्चालक समितिका अध्यक्षलाई भेट्नुस् भनेर पन्छिछन् तर अध्यक्ष आफै पनि लुकीछिपी हिँडिरहेका छन् । सहकारीमा पटक पटक जाँदा पनि अध्यक्ष नभेटिएको र रित्तो हात फर्किनुपरेको बचतकर्ताहरू बताउँछन् ।   

सर्वसाधारणहरू पहिलेभन्दा अहिले धेरै चेतनशील भइसकेका छन् । सहकारीहरूले विश्वसनीयता कायम राख्न नसक्दा तिनीहरू डुब्ने अवस्थामा आइसकेका छन् । कतिपय सहकारीहरूले जनताको घर खेत खाइदिए । कतिपय बचतकर्ताको खाई नखाई जम्मा गरेको रकम नै लिएर भागे । सहकारीले दैनिक बजारबाट पैसा उठाउँछ । तर, पैसा राख्नेले जम्मा दैनिक दुई प्रतिशत व्याज पाउँछन् ।  

कर्जावालले धितो राखेर महँगो व्याजमा थोरै ऋण पाउँथे । धितोको भ्यालेसन गरेर जम्मा आधा रकम दिन्थे । यता, तीन प्रतिशत सेवा शुल्क, घुस र सेयर त छुट्टै छ । बचतकर्ताले व्याजका लागि महिना दिनसम्म कुर्नुपर्ने हुन्छ । तर, कर्जावालको त दिनगन्तीको हिसाब व्याज लिन्छ । यो त सरासर ठगी होइन र ? 

महँगो व्याज तिर्न नसक्दा कतिले आत्महत्या गरे । धितो राखेर पैसा लिदाँँ पनि उनीहरूकै दबाबमा बस्नुपर्ने स्थिति छ । त्यसैगरी, सहकारीका सञ्चालकहरूले सरकार पनि डुबाएका छन् । सरकारले निश्चित क्षेत्रमा यति कर्जा प्रवाह गर्ने भनेतापनि उनीहरूले अटेर गरेका छन् । 

यता, जनतालाई पनि आफ्नो पैसा केमा लगानी गरिएको छ ? आफ्नो पैसाको दुरुपयोग भएका त छैन ? यसको अत्तोपत्तो छैन । तर, सहकारीहरू आफू कसरी छिटो धनी बन्ने ? कसरी बढी नाफा कमाउन सकिन्छ ? यस विषयमा मात्र केन्द्रित बनेको देखिन्छ ।   

पैसा राख्ने मान्छेहरू सामसुम भइसकेका छन् । बजारमा तरलता अभाव देखिएको छ । अहिले नेपालको हालत श्रीलंकाजस्तै हुन्छ भनेर अनुमान लगाइसकेका छन् । अर्थविद्हरूले समेत अर्थतन्त्रमा पहेँलो बत्ती बलिसकेको र बेलैमा सचेत हुन भनिसकेको छन् । 

 

प्रतिक्रिया दिनुहोस