aarthiknews.com शुक्रबार, १७ असार २०७९   Friday, 01 July, 2022
 
Blue Diamond

इजरायलबाट फर्केर कृषि कर्म, बजगाईँ भन्छन्– ‘कृषिमा केही नयाँ गर्छु भन्ने सोच पुरा गरे’

  • रिता राउत
    रिता राउत
  • बुधबार, १६ चैत्र २०७८
nabil bank
इजरायलबाट फर्केर कृषि कर्म, बजगाईँ भन्छन्– ‘कृषिमा केही नयाँ गर्छु भन्ने सोच पुरा गरे’
Global IME
LBF

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं ६ का कृष्णप्रसाद बजगाईँ सानैदेखि कृषिमा नयाँ केही पाए हुन्थ्यो भन्ने सोच राख्थे । उनको परिवार पनि कृषि क्षेत्रमै आबद्ध भएका कारण उनी कृषि पेसामा आकर्षित थिए ।  तर, उनलाई परम्परागत प्रणालीको खेतीमा खासै चित्त बुझ्दैन थियो । केही नयाँ गर्ने सोच लिएर उनी नव चेतनशील समाज नेपालमा आबद्ध भए । जस मार्फत गाउँ गाउँमा कृषि समितिहरू गठन गर्ने, कृषि सम्बन्धी क्षमता विकासको तालिम दिने, कुन क्षेत्रमा कस्तो खालको उत्पादन उपयुक्त हुन्छ भनेर तालिम दिँदै हिँड्थे ।    

यसरी काम गर्दा उनलाई केही अझै धेरै गर्नुपर्छ भन्ने लाग्यो । उनी भन्छन्, ‘यसरी काम गरिरहँदा मलाई नेपाली कृषि खेतीमा टुटेका ठाउँ धेरै छन् भन्ने लाग्यो । यसलाई जोडेर अगाडी बढ्न पाए हुन्थ्यो भन्ने कुरा सधैँ मनमा खड्की रह्यो । यो अभावलाई परिपूर्ति गर्नका लागि म कृषि सम्बन्धी तालिम लिने सोच बनाए ।’    

उनी मकवानपुर जिल्लाबाट कृषि सहकारी मार्फत इजरायलमा कृषि तालिमका लागि छनौट भए । नेपालभरबाट कृषि सहकारी मार्फत गएका मध्ये उनी पाँच सय जनामा उत्कृष्ट भएका थिए । र, उनी सन् २०१४ मा इजरायल गए । करिब ३ वर्ष इजरायलमा कृषि तालिम लिएर बजगाईँ नेपाल फर्किए । इजरायलबाट कृषि विज्ञानको ज्ञान लिएर नेपाल फर्किएपछि बजगाईँसहित ४२ जिल्लाका युवाहरू मिलेर लमजुङमा व्यवसायीक कृषि कर्म सुरु गरे ।

बजगाईँ भन्छन्, ‘इजरायलमा बस्दा नै नेपालमा गएर कृषि फार्म खोल्ने सोच बनाएका थियौँ । सन् २०१६ मा नेपाल फर्किएर आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी दर्ता गरेर कृषि कर्म सुरु गर्‍यौँ ।’

लमजुङको सुन्दर बजार नगरपालिका–३, जल्केनीफाँटमा रहेको आराभा कृषि फार्म १३ करोड लगानीमा सुरु गरिएको हो । उक्त फार्ममा कृषिसँग सम्बन्धी सात वटा उत्पादनहरू भइरहेका छन् । यससँगै कम्पनीले एकीकृत कृषि फर्म, कृषि पर्यटन र कृषिसम्बन्धी तालिम दिने काम गरिरहेको छ । पर्यटन विकासका लागि फार्मले होमस्टे सञ्चालनको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको छ ।    

आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीमा एक सय २७ जना युवाहरू आबद्ध रहेका छन् । जसमा ४२ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । कोरोना महामारीको बेला समेत गत वर्ष ४३ लाख रुपैयाँ नाफा कमाएको बताउँदै उनी भन्छन्, ‘हामीले अहिले बेमौसमी फलफूल, तरकारी खेतीदेखि गाई पालनसम्म गरेका छौँ । जसमा अत्याधुनिक इजरायली प्रविधि प्रयोग गरिएको छ । कृषकको उत्पादन गोठदेखि ओठसम्म पुग्ने आफ्नै एउटा नेटवर्क हुनुपर्छ भनेर हामीले डेरी उद्योग पनि सञ्चालनमा ल्याएका छौँ ।’  

उनका अनुसार १ सय रोपनीमा अत्याधुनिक इजरायली प्रविधि प्रयोग गरी तरकारी तथा फलफूल खेती गरिएको छ । ३० हजार लेयर्स तथा ब्रोइलर कुखुरा त्यहाँ पालिएको छ। १ सय २ वटा गाई छन्। १५ रोपनीमा पोखरी बनाएर माछा पालिएको छ । तीन सय बाख्रा, ५० वटा बङ्गुर, ५ रोपनीमा हाँस र लोकल कुखुरा पालन गरिएको छ ।

कृषि सम्बन्धी इजरायल पढ्न जाने नेपालीहरूको सङ्ख्या धेरै छ । तर, त्यहाँ पढ्दै कमाउँदै गरेर ल्याएको पुँजी र सिप नेपाल फर्केर कृषि क्षेत्रमा नै लगानी गर्नेको सङ्ख्या भने कम रहेको छ । बजगाईँको हकमा भने त्यस्तो भएन । उनले इजरायल गएको सुरुका दिनदेखि नै मासिकरुपमा आएको पैसामध्ये केही बचत गर्ने र त्यसलाई नेपालमा गएर कृषि कर्ममा लगानी गर्ने अठोट लिए । उनलाई यो सबै काम गर्न एक्लै सम्भव हुँदैन भन्ने लाग्यो । उनी भन्छन्, ‘एक्ला एक्लै प्रयास गरेर प्रविधिसँग खेलेर कृषि क्रान्ति गर्न सकिन्न भनेर सामूहिकरुपमा मिलेर यसलाई सार्थकता दिनुपर्छ भन्ने सोचले हामी विभिन्न जिल्लाका युवाहरूको टिम बनायौँ। यही अनुसार नै हामीले खेती गर्न सुरु गर्‍यौँ ।’    

गुरागाईँ भन्छन्, ‘हामीले देखेको जुन सपना छ त्यसको ६० प्रतिशत पुरा गरिसकेका छौँ । कोरोनाका कारण केही काम गर्न गाह्रो भएको थियो । अब बाँकी ४० प्रतिशत पनि पूरा गर्ने चरणमा छौँ । एकीकृत खेतीसँगै कृषि शिक्षामा पनि जोड दिने हाम्रो उद्देश्य छ । त्यसको लागि पनि तयारी गरिरहेका छौँ ।’  

आराभाले सञ्चालन गरेको एकीकृत कृषि फार्ममा नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित कृषि तालिम केन्द्रले प्रयोगात्मक अभ्यास गर्दै आएको छ । सुन्दर बजार नगरपालिका–९, सिउँडीबारमा नेपाली सेनाले व्यवसायी कृषि तथा पशुपालन तालिम केन्द्र सञ्चालन गरिरहेको छ ।  

त्यस्तै, व्यावसायिक कृषि गर्न चाहानेहरुलाई नेपाली सेना, कर्णाली र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा ९२ दिने व्यावसायिक कृषि तथा पशुपालन तालिम दिने तयारी भइरहेको बजगाईँले बताए । उनले भने, ‘हामीले दिने तालिममा इजरायलको प्रविधिमा कृषि गर्ने तरिका सिकाइन्छ। उत्पादनदेखि बजारीकरणसम्मका कुरा उक्त तालिममा समेटिनेछ । यस्तो तालिम नेपालका सातै प्रदेशमा विस्तार गर्नका लागि इजरायल र नेपालबिच सम्झौता भइसकेको छ । जसको कार्यान्वयनको चरणमा रहेको छ ।’  

इजरायलमा कृषि क्षेत्रमा प्रयोग भएका उच्च प्रविधि नेपाली कृषि क्षेत्रमा आवश्यक नपर्ने उनको अनुभव छ । उनले भने, ‘नेपाल र इजरायलबिच कृषिसँग सम्बन्धी नीति नियमदेखि लिएर धेरै कुरामा भिन्नता रहेको छ । मैले इजरायलमा पढ्दै काम गरेको कृषि फार्महरूमा प्रयोग भएका टेक्नोलोजी नेपाली कृषि क्षेत्रमा आवश्यक देखिएन ।’    

उनका अनुसार इजरायलले प्रतिकुलतालाई अनुकूलतामा रूपान्तरण गरेका छन् । इजरायलमा खेतीयोग्य माटो छैन । अरू देशबाट माटो किनेर इजरायलले मरुभूमिमा कृषि खेती गरेको छ । अन्य देशबाट श्रमिक ल्याएर कृषि खेती गरी विश्वका विभिन्न देशमा निर्यात गरिरहेको छ ।  इजरायलमा एउटा कृषकले वर्गीकृत भएर खेती गर्न अनुमति या लाइसेन्स पाइसकेपछि सरकारले तोकिदिएको वित्तीय सहुलियतदेखि उसले सबै सेवासुविधाहरु पाउँछ । त्यति मात्रै होइन त्यहाँको सरकारले कृषकलाई खेती गर्न आवश्यक पर्ने जग्गा समेत भाडामा उपलब्ध गराइदिएको हुन्छ ।

इजरायलमा नर्सरीदेखि इन्स्योरेन्स, उत्पादनको ग्यारेन्टीसम्मको जिम्मा एउटै कम्पनीले लिएको हुन्छ । कृषकले लगाएको बिरुवाले दिने उत्पादनको समेत सुनिश्चितता गरिएको हुन्छ । कृषकले लगाउने बिरुवाको समेत सोही कम्पनीले उत्पादन गरिदिएको हुन्छ । सूचीकृत भएका कृषकहरूको वर्षेनी अडिट भएको छ र फिल्डमा काम भएको छ भने उसलाई लगानीदेखि बिउसम्मको सुनिश्चितता सरकारले नै गरिदिने गरेको छ ।    

तर, नेपालमा कुनै एक उद्यमीले यो क्षेत्रमा यस्तो खालको व्यावसायिक कृषि खेती गर्न चाहन्छु भन्यो भने उसले कुनै पनि कुरामा सरकारको साथ सहयोग पाएको हुँदैन । उसले बैंकको कर्जा लिनदेखि सहुलियतसम्मका लागि दलाल गुहार्नु पर्ने स्थिति छ । त्यति मात्रै होइन उसले आफ्नो बलबुतामा उत्पादन गरेको छ भने पनि बजारको सुनिश्चितता हुँदैन । यसो हुँदा कृषक हतोत्साहित मात्रै होइन निरुत्साहित नै हुने गरेका छन् ।  

‘कुनै पनि देशको विकासको मेरुदण्ड नै कृषि हो । सरकारको नेतृत्व गर्नेहरूले औद्योगिक क्रान्ति विकास गर्नु पर्छ भनिरहे पनि यसको प्रमुख जग भनेको कृषि हो भन्ने बुझेका छैनन’, उनले भने, ‘सरकारले बजार, लगानीको सुनिश्चितता गर्ने र कृषकहरूका लागि ढुक्कले उत्पादन गर्ने नीतिगत व्यवस्था गरिदिने हो भने नेपालमा व्यावसायिक कृषि खेती फस्टाउन सक्छ । कृषकहरूको वर्गीकरण गरेर त्यही अनुसार राज्यले सुविधाहरू निर्धारण गरिदिन हो भने धेरै मात्रामा परिणाम दिन सकिन्छ ।’      

बजगाईँका अनुसार नेपालमा उपभोक्ता र उत्पादकहरूबिच धेरै तहहरू छन् । पारदर्शी तरिकाले कृषकसँग लिने र बजारमा पुर्‍याउने, ढुवानी, ग्रेडिङ, प्याकेजसङमा लाग्ने खर्च पश्चात लगानी गरेको नाफा कति दिने भन्ने कुरा पनि मापन गर्ने निकाय सरकारले निर्माण गरिदिनु पर्छ । सरकारले यसमा दृढ इच्छाशक्ति देखाएर काम गर्ने हो भने परिवर्तन सम्भव छ ।  

 

प्रतिक्रिया दिनुहोस