
काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले खाने तेलको आपूर्तिमा कुनै कमि नहुने प्रतिवद्धता व्यक्त गरेको छ । संघले प्रशोधित खाने तेलमा भएको मुल्यवृद्धिबारे स्पष्टिकरण दिदै यस्तो जनाएको हो ।
यस संघमा आवद्ध रहेका २२ वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले आ–आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल ईत्यादी उत्पादन गरी स्थानिय वजारमा विक्री वितरण र नियमित रुपमा आपुर्ति समेत गर्दै आईरहेका छन् । उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल, क्रुड पाम आयल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात नै हुन्छ ।
संघका अनुसार क्रुड सनफ्लावर तेल ९५ प्रतिशतदेखी १०० प्रतिशत र तोरीको गेडा ६० प्रतिशतदेखी ८० प्रतिशत युक्रेनवाट मात्र आयात हुने गरेको छ । उद्योगहरुले विगतमा विश्वमा फैलिएको महामारीको समयमा समेत खाने तेलको आपुर्तिमा कमि हुन नदिई स्थानिय विक्रीलाई निरन्तर रुपमा कायम नै राखेको संघको भनाई छ । विश्व बजारमा नै कच्चा तेलहरुको अभाव सिर्जना भई क्रुड आयलहरुको मुल्यमा अस्वाभाविक रुपमा करीब ४० देखी ५० प्रतिशत सम्म वृद्धि हुन पुगेको छ । जुन हालसम्म कै ऐतिहासिक मुल्यवृद्धि रहेको छ ।
साउथ अमेरीकामा भएको भिषण सुख्खायाम, मलेसीया र ईन्डोनेशियामा भएको श्रमिकको समस्या र खराव मौसमले गर्दा ४० प्रतिशत वाली विग्रको कारणले क्रुड खाने तेलहरुको मुल्य जनवरीमा नै ऐतिहासिक विन्दुमा पुगिसकेको थियो । पौष र माघ महिनामा अन्तराष्ट्रिय वजारमा भएको गिरावटका कारण उद्योगहरुले उच्च मुल्यको परल मुल्यमा घाटा खाएर समेत खानेतेल विक्री गरेका थिए । हाल चलन चल्तिको अन्तराष्ट्रिय परल मुल्य अनुसारको नेपालको विक्री मुल्य परिमार्जित हुन सकेको नसकेको संघको भनाई रहेको छ ।
नेपालमा कच्चा पदार्थ शतप्रतिशत तेश्रो मुलुकवाट आयात गर्नु परेकोले अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्यमा हुने उतारचढाव अनुसार नै स्थानिय वजारको मुल्य निर्धारण गर्ने प्रक्रिया यहाँका उद्योगहरुको वाध्यता रहेको छ । यस संघका सदस्य उद्योगहरुबाट आपुर्ति अवस्थालाई सुचारु राखी कृतिम रुपमा मुल्यवृद्धि नगर्ने र यो विषम परिस्थिति सम्पुर्ण विश्वले नै भोगिरहेकोले आउँदो दिनमा पक्कै केहि न केहि समाधान हुने विश्वास राख्दै उद्योगहरुसँग कच्चा तेलको मौज्दात र उपलव्धता रहेसम्म आपुर्तिमा कुनै कमि नहुने संघले प्रतिवद्धता गरेको छ ।
प्रतिक्रिया दिनुहोस