
काठमाडौं । भन्सार विभागले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । विभागलाई ४१८ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा जम्मा ३६२ अर्ब ७५ करोड रुपैयाँ मात्रै राजस्व असुली भएको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए ।
विभागले लक्ष्यको ८७ प्रतिशत मात्र राजस्व असुली गरेको छ । जसमा ५५ अर्ब ५१ करोड कम असुली भएको छ । राजस्व संकलन घट्नुको प्रमुख कारण लक्ष्य धेरै राख्नु र गत वर्षको सवारी साधनको आयात कम हुनु रहेको विभागको भनाइ छ । विगत वर्षमा भन्दा गत आर्थिक वर्षमा सवारी साधन आयातमा कमी भएकाले राजस्व असुली गर्न नसकेको कार्यालयले जनाएको छ । सवारीसंगै अन्य साम्रगी पनि कम आयात भएको हो ।
विभागले चालू आर्थिक वर्ष ४७३ अर्ब ५० करोड रुपैयाँ भन्सार राजस्व असुली गर्ने लक्ष्य राखेका छ ।
प्रतिक्रिया दिनुहोस