aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

व्यवसायीको सिधा प्रश्न: ‘बैंकमा भन्दा ब्ल्याक मार्केटमा सस्तोमा चाँदी पाइन्छ भने को जान्छ बैंक ?’

  • रिता राउत
    रिता राउत
  • शुक्रबार, ३० पुस २०७८
nepalmegaschool
व्यवसायीको सिधा प्रश्न: ‘बैंकमा भन्दा ब्ल्याक मार्केटमा सस्तोमा चाँदी पाइन्छ भने को जान्छ बैंक ?’
LBF

काठमाडौं । ‘अर्बौंको चाँदी आयात गरेर खाट बनाएर सुतिराखेका छन् कि के हो ?’ संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहको प्रश्न हो यो। उनले गएको आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा सोधेका थिए ।    

आर्थिक वर्ष २०७५/०७६ मा मात्रै नौ अर्बभन्दा बढीको चाँदी आयात भएको तथ्य पेस गर्दै शाहले चाँदी आयातबारे प्रश्न उठाएका थिए । उनको माग थियो,  'राज्यले यसमा चासो दिनपर्‍यो ।’   तर, चाँदी आयात क्रमशः घट्दै गएको अर्थ सचिव मधुकुमार मरासिनीले बताए । 

शाहको प्रश्नको जवाफ दिँदै अर्थ सचिव मरासिनीले भने, ‘हामीले एक–दुई महिना चाँदी आयातको ट्रेन्ड हेर्‍यो । हामीलाई अत्यास लाग्यो । किन यस्तो भएको रहेछ त भनेर सामान्य अध्ययन गर्दा नेपालमा चाँदी आयात गर्दा लाग्ने शुल्क र भारतमा लाग्ने शुल्कमा भिन्नता देखियो । यसले गर्दा भन्सार शुल्क बढाइयो । त्यसपछि चाँदी आयात घट्दै गयो ।’     

अर्थ मन्त्रालयले गत असोज १९ गते चाँदीको भन्सार शुल्क बढाएको थियो ।  नेपालमा चाँदीको उच्च आयात भएर भारततर्फ तस्करी हुने गरेको आशङ्कामा चाँदीको भन्सार शुल्क प्रति १० ग्राम ८५ रुपैयाँबाट बढाएर १०७ रुपैयाँ पुर्‍याइएको छ। चाँदीको भन्सार शुल्क वृद्धि भएसँगै आयात पनि घटेको मरासिनीको दाबी  छ ।  

अर्थ सचिव मरासिनीका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा ३१ हजार ६ सय ४० केजी चाँदी आयात भएको थियो । भदौमा ४९ हजार ९ सय ५२ केजी, असोजमा ४४ हजार ७ सय र कात्तिकमा २४ हजार २० किलो चाँदी आयात भएको थियो । तर, मङ्सिरमा भने ५ हजार केजी मात्र आयात भएको छ । पाँच महिनाको अवधिमा चाँदी आयात करिब ५० हजार केजीबाट घटेर पाँच हजार भएकाले अब समस्या नहुने उनको भनाइ छ । 

अहिले नेपालमा आयात भएको चाँदी सजावटका वस्तु तथा गहनाका रूपमा विदेश निर्यात गर्न पाइन्छ तर ढिक्का काँचो चाँदीमा निर्यात पूर्ण बन्देज छ । त्यस्तै, पुस महिनाको पहिलो सातामा मात्रै चाँदी आयातमा शतप्रतिशत पैसा आयातकर्ताले जम्मा गर्नुपर्ने नियम लगाइएको थियो ।     

चाँदी आयातमा कमी आएसँगै बजारमा चाँदीको अभाव देखिन थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्य बताउँछन् । उनी भन्छन्, ‘चाँदी आपूर्तिमा कमी आएकोले अहिले बजारमा चाँदीको अभाव देखिन थालेको छ । आवश्यक परेका बेला चाँदी पाउन नसकिने अवस्था आएको छ ।’   

अध्यक्ष शाक्यका अनुसार पहिला नेपाली बजारमा हुने खपत भन्दा बढी चाँदी आयो भनेर भन्सार दर बढाइयो । पछि फेरि सीमा तोकिने काम भयो । यसमा पनि शतप्रतिशत मार्जिन राखेर आयात गर्न पाइने व्यवस्था गरियो । यसले गर्दा आयातमा ह्वात्तै गिरावट आयो ।  

उनले चाँदी आयातमा आएको गिरावटको असर अबको केही महिनामै देखिने बताए । उनले भने, ‘पहिला स्टक भएकोले अहिलेसम्म बजार धानेको थियो । तर, अब कच्चा पदार्थ नपाएपछि उत्पादन हुँदैन । अबको केही महिना भित्रै यसको असर देखिन्छ । जसले गर्दा हस्तकला लगायत चाँदीका सामानहरू निर्यातमा पनि गिरावट आउँछ ।’

बैंकले दिने चाँदीको मूल्य भन्दा बाहिर अवैधरुपमा पाइने चाँदीको मूल्य सस्तो हुने भएकोले धेरै व्यापारीले अवैधरुपमा चाँदी खरिद गर्ने गरेको सुनिन्छ नि भन्ने आर्थिक न्युजको प्रश्नमा अध्यक्ष शाक्य भन्छन्, ‘यसमा केही सत्यता छ । बजारमा वैध मार्गबाट माग भए जति चाँदी उपलब्ध हुँदैन । अवैध मार्गबाट चाहिए जति त्यो पनि सस्तो मूल्यमा पाउने भएकाले यस्तो भएको हुनसक्छ ।’ 

‘यसअघि चाँदीका कालोबजारीकर्ताहरुले बैंकको भन्दा सस्तोमा चाँदी दिन्छौँ लिनुहोस् भन्दै आउने गरेका थिए । तर, अहिले उनीहरूसँग पनि चाँदी छैन’, उनले प्रश्न गर्दै भने, ‘बैंकमा भन्दा ब्ल्याक मार्केटमा सस्तो मूल्यमा चाँदी पाइन्छ भने को जान्छ बैंकमा ?’ 

साथै, सहजरुपमा आपूर्ति हुने हो भने चाँदीको कालोबजारी नै नहुने शाक्यको ठहर छ । उनले भने, ‘बजारमा जति खपत हुन्छ त्यति चाँदी व्यापारीले पाउनु पर्छ । तर, यहाँ खपत हुने जति चाँदी पाउन मुस्किल छ । जसले गर्दा चाँदीमा कालोबजारी मौलाएको छ । सहजरुपमा आपूर्ति हुने हो भने चाँदीको कालोबजारी नै हुँदैन ।’    

त्यस्तै, चाँदी आयातमा गिरावट भएसँगै यसको असर हस्तकला व्यवसायमा परेको पनि नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्र भाइ शाक्य बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय हस्तकलाको सामानहरू विदेशमा निर्यात बढ्दै गएको थियो । तर, अहिले चाँदी आयात कम भएसँगै बजारमा चाँदीको अभाव सुरु भएको छ । यसले गर्दा माग अनुसारको हस्तकलाका सामानहरू बनाउन सकिरहेका छैनौँ ।’ 

उनका अनुसार स्वदेशी बजारमा आयातित वस्तुको बाहुल्यता भए पनि हस्तकलाका सामग्रीमा उपभोक्ताको रुचि बढ्दै गएको छ । घर, कार्यालय सजावटदेखि उपहारसम्म हस्तकलाका सामग्री प्रयोग गर्नेहरूको सङ्ख्यामा बढ्दै गएको हो । नेपाली हस्तकलाको व्यापार अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दो छ ।  नेपाली हस्तकलाका सामग्री ६० भन्दा धरै देशमा ४२ सामग्रीका रूपमा निर्यात हुन्छ । अमेरिका, जर्मनी, चीन, भारत, जापान, बेलायत र क्यानडा नेपाली हस्तकला निर्यात हुने मुख्य देश हुन् ।   

उनले नेपाली बजारमा भन्दा धेरै विदेशमा चाँदीका समानहरूको माग हुने गरेको बताए । ‘नेपाली बजारमा पनि चाँदीका सामानहरूको माग राम्रै छ । तर, नेपालमा भन्दा धेरै विदेशमा बढी माग हुन्छ’, उनले भने, ‘हस्तकलाका समानहरू बनाउँदा चाँदीको आवश्यक पर्ने गर्छ । तर, अहिले आवश्यकता अनुसारको चाँदी पाउन सकिएको छैन । जसले गर्दा माग अनुसारको चाँदीको समान निर्यात गर्न सकिरहेका छैनौँ ।’     

उनका अनुसार यसअघि कुनै एक व्यापारीबाट २५/३० लाख रुपैयाँ बराबरको समान निर्यात हुन्थ्यो । तर, अहिले यो घटेर १०/१२ लाख बराबरमा सीमित भएको छ । यसअघि आयात गरेर स्टक राखिएका चाँदी पनि अहिले खपत भइसकेको उनले जानकारी दिए । 

हस्तकला व्यवसायका लागि आवश्यक पर्ने चाँदी हस्तकला महासङ्घले नै आयात गर्न पाउने व्यवस्था हुनुपर्ने उनको माग छ । उनले भने, ‘अहिलेसम्म महासङ्घ आफैले चाँदी आयात गरेको छैन । अहिले दैनिक दर्जनौँ व्यापारीहरूले चाँदी अभाव भयो भन्दै हस्तकला महासङ्घमा आउँछन् । महासङ्घले नै माग अनुसारको चाँदी उपलब्ध गराइदिनु पर्‍यो भन्छन् । यसले गर्दा अब महासङ्घले नै चाँदी आयात गर्न पाउनु पर्छ ।’   

उनले बजारमा दैनिक चाँदीको खपत जति हुन्छ त्यही अनुसारको चाँदी बैंकहरुले उपलब्ध गराइदिनु पर्ने बताए । उनले भने, ‘एकातिर सरकारले हस्तकलाका समानहरू निर्यातमा बढाउनु पर्छ भन्छ । अर्कोतिर हामीलाई सामान बनाउन आवश्यक पर्ने चाँदी पनि पर्याप्त उपलब्ध गराउँदैन । त्यसैले दैनिक हामीले सय केजीसम्मका चाँदीका समानहरू निर्यात गर्छौँ भने त्यति नै परिणाममा हामीलाई बैंकहरुले चाँदी उपलब्ध गराइदिनु पर्छ ।’ 

महासङ्घले अहिले बजारमा चाँदी अभाव भएकोबारे राष्ट्र बैंक र अर्थ मन्त्रालयमा जानकारी समेत गराइसकेको उनले बताए । अध्यक्ष शाक्यले भने, ‘हामीलाई चाँदी अभाव भएका कारण माग अनुसारको समान बनाउन सकिरहेका छैनौँ । पर्याप्त कच्चा पदार्थ नहुँदा हाम्रा कामदारहरू खाली बस्नु पर्ने बाध्यता भएको छ । हामीलाई आवश्यकता अनुसार चाँदी उपलब्ध गराइदिनु पर्‍यो भनेर बुधवार मात्रै अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग माग राखेका छौँ ।’   

 

प्रतिक्रिया दिनुहोस