
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मल बिक्री केन्द्र सल्यानका इन्चार्ज तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध बुधवार आरोपपत्र दायर गरेको छ । मलको रकम हिनामिना गरेको भन्दै अख्तियारले पासवानविरुद्ध १८ लाख ७६ हजार ६६४ रूपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
पासवानले मलको रकम साल्ट ट्रेडिङको आधिकारिक खातामा रकम दाखिला गर्नुपर्ने आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरेको पाइएको अख्तियारले जनाएको छ । साथै पासवान सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको समेत अख्तियारले जनाएको छ ।
अख्तियारले दायर गरेको आरोप पत्रमा भनिएको छ– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, मल बिक्री केन्द्र, सल्यानमा कार्यरत तत्कालीन जुनियर सहायक पदका विजय कुमार पासवानले मलको नियमानुसार हिसाब किताब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साल्ट ट्रेडिङ कर्पोरशन, सल्यान मल बिक्री केन्द्रका इन्चार्ज तत्कालीन जुनियर सहायक विजय कुमार पासवानले आफ्नो जिम्मामा मौज्दाज रहेको रासायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आधिकारिक खातामा रकम दाखिला गरेपश्चात मल डेलिभरी गर्नुपर्नेमा सो नगरी आफुखुशी आफ्नो व्यक्तिगत खातामा बदनियतसाथ रकम जम्मा गरी सार्वजनिक संस्थाको सम्पत्ति रु. १८,७६,६६४।- बराबरको रासायनिक मल हिनामिना गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निज विजय कुमार पासवानलाई सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम रु. १८,७६,६६४।- (अक्षेरुपी अठार लाख छयहत्तर हजार छ सय चौसठ्ठी रुपैयाँ) बिगो कायम गरी सजाय हुन तथा हिनामिना भएको रु. १८,७६,६६४।- निजबाटै असुलउपर हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस