aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

स्मार्ट सिटीः काम शुरु नभई जग्गाको रोक्का म्याद सकियो, धमाधम कित्ताकाट हुँदै

  • रिता राउत
    रिता राउत
  • मंगलबार, २७ पुस २०७८
स्मार्ट सिटीः काम शुरु नभई जग्गाको रोक्का म्याद सकियो, धमाधम कित्ताकाट हुँदै
Global IME
LBF

काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित चार वटा स्मार्ट सिटीको निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । स्मार्ट सिटी निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो ।     

काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त जानुका ढकालले उपत्यकामा स्मार्ट सिटी निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएका जानकारी दिइन् । उनले भनिन्, ‘उपत्यकामा स्मार्ट सिटी निर्माण गर्न रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । तर, म्याद सकिए पनि रोक्का खुला भने गरिएको छैन ।’        

मन्त्रिपरिषद्को २०७५ असार ५ गते बसेको बैठकले स्मार्ट सिटी निर्माणका लागि प्रस्तावित क्षेत्रमा जग्गा खरिद बिक्री तथा कित्ताकाट रोक्का गर्ने निर्णय गरेको थियो । तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि स्मार्ट सिटीको निर्माण भने अहिलेसम्म शुरु हुन सकेको छैन । निर्माण कार्य सुरु नहुँदै जग्गा रोक्काको म्याद सकिएपछि अब स्मार्ट सिटी निर्माण हुन्छ या हुँदैन भन्ने प्रश्न उठेको छ । यता यसको म्याद थप हुन्छ या हुँदैन भन्ने कुराको पनि टुङ्गो लाग्न सकेको छैन ।     

उपत्यका विकास प्राधिकरणका अनुसार स्मार्ट सिटी निर्माणका लागि प्रस्तावित क्षेत्रको जग्गाको रोक्का म्याद थप्ने प्रक्रिया बढाउन फेरि मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्को निर्णय नभएसम्म सम्बन्धित निकायले रोक्का फुकुवा गर्न पाउँदैन ।    

‘जग्गाको रोक्काको निर्णय मन्त्रिपरिषदको बैठकले गरेको हो । अब जग्गा रोक्काको म्याद थप गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले नै गर्नुपर्ने हुन्छ’, विकास आयुक्त ढकालले भनिन्, ‘हामीले जग्गाको रोक्का म्याद थप गर्ने पहल गरिरहेका छौँ । यसका लागि प्राधिकरणले सम्बन्धित मन्त्रालयसँग छलफल पनि गरिरहेको छ ।’       

जग्गा रोक्काको म्याद सकिए पनि रोक्का खुल्ला नगरिएको विकास आयुक्त ढकाल दाबी गर्छिन् । तर, जग्गा रोक्का गरिएको क्षेत्रमा रोक्का म्याद सकिएसँगै सर्वसाधारणले धमाधम जग्गाको कित्ताकाट गर्दै खरिदबिक्री गरिरहेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा पनि सरकारले कित्ताकाट लगायतमा गरेको रोक्का सम्बन्धी कानुनी हैसियत सकिएको बताउँछन् ।    

उनी भन्छन्, ‘सरकारको मन्त्रिपरिषद्स्तरिय बैठकले गरेको निर्णयको कानुनी हैसियत सकिएको छ । सरकारले पुनः रोक्का गर्ने निर्णय पनि गरेको छैन । यसको लागि सिफारिस समेत भएको छैन । त्यसैले उक्त क्षेत्रमा अहिले कित्ताकाट भइरहेको छ ।’ साथै उनले सर्वसाधारणको सम्पत्तिमाथि लामो समयदेखि यसरी रोक लगाउनु न्याय संगत नभएको बताए ।  

नगर प्रमुख थापा भन्छन्, ‘सरकारले निर्माण गर्ने भनिएको स्मार्ट सिटीको योजना कागजमा मात्रै सीमित रह्यो । अहिलेसम्म विस्तृत योजना प्रतिवेदन (डिपिआर)लाई समेत अन्तिम चरण दिन सकेको छैन । साथै दुई सय ८६ अर्ब भन्दा बढी लागत उक्त आयोजनाका लागि आवश्यक पर्छ । यसका लागि स्रोतको समेत पहिचान गरिएको छैन ।   

सरकारको योजना अगाडी नबढ्ने देखिएपछि तीन वटा नगरपालिका मिलेर करिब ५७ हजार रोपनी क्षेत्रमा तीन वटा नगरपालिकाकै योजना अनुसार नयाँ शहर निर्माणको काम अघि बढाइएको समेत उनले बताए । उनले नयाँ शहर बनाउने योजना बनाएका नगरपालिकाहरू कागेश्वरी मनोहरा, गोकर्नेश्वर र शंखरापुर नगरपालिका रहेको बताए । 

उनले भने, ‘तीन वटा नगरपालिकाले भौतिक योजना सहितको डिपिआर उपत्यका विकास प्राधिकरणमा बुझाइसकेका छौँ । आर्थिक स्रोतको लागि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र वाणिज्य बैंकहरुसँग कुराकानी भइरहेको छ ।’   

तीन नगरपालिकाले नयाँ शहर बनाउने तयारी थालेको उक्त क्षेत्रमा पनि जग्गा रोक्का फुकुवा गरिएको समेत उनले जानकारी दिए । नगरप्रमुख थापाले भने, ‘हामीले बनाउने भनेको नयाँ शहर क्षेत्रमा गत साउन २० गते जग्गा रोक्का गर्ने निर्णय गरेका थियौँ । उक्त क्षेत्रमा पनि हाल जग्गाको कित्ताकाट र खरिदबिक्री फुकुवा गरिएको छ । तर, उक्त क्षेत्रमा भौतिक संरचना निर्माण गर्न भने स्थगित नै राखिएको छ ।’  

तीन वटा नगरपालिका कागेश्वरी मनोहरा, शंखरापुर नगरपालिका र गोकर्णेश्वर नगरपालिकाले भने आफ्नो योजनामा नयाँ शहर बनाउने योजना उपत्यका विकास प्राधिकरणमा पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २ र ४ एवं शंखरापुर नगरपालिकाको वडा नं ९ भित्रको करिब ५६ हजार रोपनी जग्गामध्ये १३ हजार रोपनी जग्गा एकीकरण गरेर नयाँ शहर बनाउन लागिएको उनको जानकारी दिए ।  

यता, केन्द्रीय सरकारले बनाउने भनेको स्मार्ट सिटीको योजनामा ईशान पूर्व अन्तर्गतको डिपीआरमा कागेश्वरी मनोहरा नगरपालिकाको ४, ५, ६, ७, ८ र ९ नम्बर वडा, शंखरापुर नगरपालिकाकाको ५, ६, ७ र ९ नम्बर वडा, भक्तपुर नगरपालिकाको २, ६ र १० नम्बर वडा, मध्यपुर थिमी नगरपालिकाको २, ६, ७, ८ र ९ नम्बर वडा र चाँगुनारायण नगरपालिकाको १, २, ३, ४ ५ नम्बर वडाको पुरै भाग र ६, ७, ८ केही भाग समेट्ने उल्लेख छ ।  

केन्द्र सरकारले बनाउने भनेको स्मार्ट सिटी योजना लामो समयसम्म योजनामै सीमित छ । पहिलो स्मार्ट सिटीको डिपिआरमा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूल सडक तथा शाली नदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म हुने भनिएको छ । त्यस्तै, खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापखो आयोजना, बोडे, मनोहरा हुँदै पुनः मूलपानी क्रिकेट मैदानलाई समेटिने उल्लेख गरिएको छ ।  

दोस्रो स्मार्ट सिटी सूर्य विनायक जङ्गलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुनः सूर्य विनायकसम्म जोडिनेछ । यी क्षेत्रमा १० हजार रोपनी जग्गा आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । 

तेस्रो स्मार्ट सिटीमा खोकना, बुङमती, सैंबु, वाग्मती झोलुङ्गे पुल, चोभारसम्मको क्षेत्रलाई समेटिएको छ । चौथो स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूल बाटो सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारी मार्ग, टोखा बाइपाससम्मको क्षेत्र समेटिएको प्राधिकरणले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस