aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

'उपत्यकामा  प्रतिव्यक्ति ३६० ग्राम फोहोरमैला निष्कासन हुन्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
nepalmegaschool
'उपत्यकामा  प्रतिव्यक्ति ३६० ग्राम फोहोरमैला निष्कासन हुन्छ'
LBF

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य समस्या हो, फाहोर व्यवस्थापन । फोहोर व्यवस्थापनको लागि सरकारले ठोस नीति तथा कार्ययोजना बनाउन नसक्दा उपत्यकावासीहरुलाई फोहोर व्यवस्थापनमा सधै समस्या हुने गरेको छ ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हो । यस ऐनले फोहोर मैला व्यवस्थापन गर्न स्थानान्तरण केन्द्र, ल्यान्डफिल साइड, प्रशोधन प्लान्ट,कम्पोष्ट प्लान्ट, बायोग्यास प्लान्ट लगायत सञ्चालन गर्ने तथा फोहोरमैलाको संकलन प्रशोधन गर्ने व्यवस्था छ । यससँगै आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण तथा सञ्चालन गर्ने, फाहोर संकलन गर्ने प्रशोधन केन्द्रमा फालिएको फोहोरमैलाको वर्गीकरण गर्ने कार्य स्थानीय तहको हुने व्यवस्था छ ।

यद्यपि काठमाडौं महानगरपालिकाले पनि फोहोर व्यवस्थापनका लागि प्रयास नगरेको भने होइन  । तर, पटक पटकको सरकार परिवर्तन र फोहोरमैला व्यवस्थापनको दीर्घकालिन योजना हुन नसक्दा फोहोरमैला व्यवस्थापनको चुनौती झन् थपिदै गएको हो ।

काठमाडौं महानगरले मुख्य सडक तथा भित्रि क्षेत्रहरुको पनि फोहोर संकलन गर्ने गरेको छ । भित्रि ९ वटा वडाहरुको निजी क्षेत्र परिचालन गरेर अन्य वडाहरुमा आफैले फोहोर संकलन गर्ने गरेको फोहोरमैला व्यवस्थापन वातावरण विभागकी विभागीय प्रमुख सरिता राई बताउँछिन् ।

साथै फोहोर व्यवस्थापनमा उत्पादक नै सचेत हुनुपर्ने उनले बताइन् । उनी भन्छिन्,‘फाहोर व्यवस्थापनमा हामी फोहोर उत्पादन गर्ने व्यक्ति नै सचेत हुन पर्छ । कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी कौशी खेती गरी फोहोरलाई मोहोर बनाउने अभियानमा लाग्नुपर्छ ।’

भान्साबाट निस्कने फोहोरलाई घरमा नै व्यवस्थापन गर्नुपर्र्नेु उनले बताइन् । उनी भन्छिन्,  प्लाष्टिकको प्रयोग कम गर्नुपर्छ, हामीले फोहोर जतिसक्दो कम उत्पादन गर्न तर्फ लाग्नुपर्छ । भान्साबाट निस्किने फोहोरलाई घरमै व्यवस्थापन गर्ने व्यवस्था गर्नुपर्छ ।’

विभागका अनुसार महानगरपालिका क्षेत्र भित्र ठोस फोहोर संकलन गर्नका लागि ३३ वटा निजी कम्पनीहरु सक्रिय रुपमा काम गरिरहेका छन् । निजी क्षेत्रले अहिले ३० प्रतिशत फोहोर संकलन गरिरहेको छ । निजी क्षेत्रले दैनिक १३५ ट्रक फोहोर ढुवानी गर्ने गरेको छ । यस अनुसार विसर्जन स्थलमा संकलन गरिएको फोहोरमैला मध्ये ७७ प्रतिशत त्यहाँ पुग्ने गरेका छ ।

हाल विभागमा हाल ९२८ जना कर्मचारीहरु फोहोर व्यवस्थापनका लागि मात्रै रहेका  छन् । महानगरपालिकामा ७२ वटा  सवारी साधनले दैनिक प्रत्येक वडाबाट फोहोर संकलन गरी स्थानान्तरण केन्द्रमा लैजाने गरेका छन् ।

यसबीचमा विभिन्न संघ संस्थाहरुले फोहोरलाई मोहर बनाउने उद्देश्यले विभिन्न कार्यक्रम पनि ल्याए । वैकल्पिक उर्जाको रुपमा प्रयोग गर्ने आयोजना आए पनि प्रभावकारी रुपमा अघि बढ्न सकेन । फलस्वरुप फोहोर व्यवस्थापनको समस्या थपिदै गएको छ ।

उपत्यकामा फोहोर उत्पादनमा दिनहुँ वृद्धि भइरहेको छ । फोहोर मैला व्यवस्थापनमा राज्य मात्र हैन जनताको पनि उत्तिकै महत्व हुने गर्छ । महानगरलाई नै दोषी बनाउँदै आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले गर्दा समस्या झन् जटिल बन्दै गएको छ ।

उपत्यकामा प्रतिव्यक्ति प्रतिदिन फोहोर निष्कासन गर्नेको संङख्यामा वृद्धि भएको छ । काठमाडौं महानगरपालिका शहरी योजना आयोग विभागले २०२० मा गरेको अध्ययन अनुसार उपत्यकामा  प्रतिव्यक्ति प्रतिदिन ३६० ग्राम फोहोरमैला निष्कासन हुन्छ ।

यसअघि काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले २००९ मा गरेको अध्ययन अनुसार महानगर भित्र  प्रतिव्यक्ति प्रतिदिन ३३५ ग्राम फोहोरमैला निष्कासन हुने गरेको थियो । काठमाडौंमा स्थायी बसोबास बाहेक तथा छोटो समयमा बसोबास गर्ने जनसंङख्या उच्च भएका कारण महानगर भित्र हुने फोहोरको उत्पादन पनि दिनहुँ बढी रहेको छ । यसका साथै शहरभित्र बढ्दो उद्योग वाणिज्य अस्पताल शिक्षालय होटल, रेष्टुरेन्ट व्यवसाय तथा अन्य गतिविधिका कारण पनि दैनिक फोहोर निष्काशनमा निरन्तर वृद्धि हुँदै गएको फोहोरमैला व्यवस्थापन विभागको भनाइ छ ।

जनसंङख्या वृद्धिको दरभन्दा फोहोरमैला व्यवस्थापनको क्षमता विकासको दर सुस्त हुनाले फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ । यस्तै महानगरको फोहोरलाई व्यवस्थापनका लागि ल्यान्डफिल साइट व्यवस्थापन प्रणाली दिगो नभएकाले यसको व्यवस्थापनमा समस्या आएको हो ।

त्यसैगरी काठमाडौंलाई स्वच्छ सफा शहरको रुपमा स्थापित गर्न नसक्नु, फोहोर व्यवस्थापनमा संलग्न भएका महानगरका कर्मचारीहरुबाट हुने हड्ताल र फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइट नजिकका बासिन्दाहबाट हुने अवरोधका कारण सडक गल्लीमा लामो समयसम्म फोहोर थुप्रिने समस्या रहेको छ ।

यता फोहोरमैला व्यवस्थापनमा थुपै्र चुनौतीहरु पनि हुने गरेका छन् । पहिलो कुरा फोहोरलाई मोहर बनाउने जस्ता महानगरका पुराना सोच र सपनालाई व्यवहारिक रुपान्तरण गरी फहोर वस्तु प्रशोधन मार्फत अन्य वस्तु उत्पादन गरी विसर्जन गर्नुपर्ने फोहोरमैलाको मात्रालाई न्यनिकरण गर्ने हो ।

यससँगै फोहोरमैलाको पुन प्रयोग, पुन ः चक्रिय प्रयोग जस्ता अवधारणलाई घरधुरी स्तरमै व्यवहारमा बनाउने फोहोरमैला निष्कासनमा न्युनिकरण गर्न पनि चुनौती रहेको छ । त्यस्तै विभागले जनाए अनुसार फोहोर व्यवस्थापनमा संलग्न भएका महानगरका कर्मचारीहरुबाट हुने हड्ताल  फोहोर व्यवस्थापन गर्ने ल्यान्डफिल साइटको नजिकका बासिन्दा बाट हुने अवरोधको दीर्घकालिन समाधान गर्न सकिएको छैन । फोहोरमैला विसर्जन भरिएपछिको रणनिति तय गर्ने र फाहोरमैला व्यवस्थापन प्रणालीको सुधार गर्ने आधुनिक प्रविधि जनशक्तिको क्षमता विकास गर्न नसक्नु पनि चुनौती रहेको विभागको भनाइ छ ।

विभागले फोहोरमैला व्यवस्थापनको दिर्घकालिन सोच पनि अघि बढाएको छ । जसमा फोहोरमैला व्यवस्थापनका ठूला र दोहोरिरहने समस्याहरुलाई प्राथमिकताका साथ यथासिघ्र समाधान गर्ने पहिलो लक्ष्य लिएको छ । त्यस्तै फाहोरमैला व्यवस्थापनमा वातावरणमैत्री प्रविधिलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने लक्ष्य रहेको विभागले जनाएको छ ।

त्यसैगरी अजैविक ठोस फोहोरमैलाको व्यवस्थापनका लागि अल्पकालिन ,मध्यकालिन र दीर्घकालिन योजना बनाइ कार्यान्वयनमा ल्याउने र ढलबाट संकलन हुने तरल फाहोर तथा लेदोलाई सम्बन्धित सरोकारवाला निकायहरुसँग सहकार्य गरी आधुनिक प्रविधिबाट दीर्घकालिन रुपमासमाधान गर्ने लक्ष्य समेत रहेको छ ।

विभागले आधुनिक वैज्ञानिक विधिहरुबाट हानिकारक ठोस फोहोरमैलाको औद्योगिक स्तर व्यवस्थापन गर्ने, जनचेतना र जवाफदेहिता अभिवृद्धि गरी फोहोरमैलाको निष्काशनमा न्युनीकरण गरी पुन प्रयोगमा वृद्धि गर्ने तथा फोहोरमैला व्यवस्थापनमा महानगरपालिकाको  क्षमता अभिवृद्धि गर्ने जस्ता लक्ष्यहरु पनि लिएको छ ।

प्रतिक्रिया दिनुहोस