aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

यसरी बन्यो खुकुरी रम विदेशमा चिनाउने ‘नेपाली ब्रान्ड’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
यसरी बन्यो खुकुरी रम विदेशमा चिनाउने ‘नेपाली ब्रान्ड’
Global IME
LBF

काठमाडौं । सन् १९५९ मा जमसेद जी कन्ट्रयाक्टरले ‘द नेपाल डिस्टिलरिज’ को स्थापना गरेका थिए । खुकुरी रमको इतिहास पनि यही कम्पनीको स्थापनादेखि नै जोडिएको छ । नेपालसँगै भुटानमा द भुटान डिस्टिलरिज तथा सिक्किम सरकारसँगको साझेदारीमा सिक्किम डिस्टिलरिज पनि सुरु भएको थियो । तीन वटामध्ये भुटानको कम्पनी बन्द भइसकेको छ भने सिक्किम र नेपालका दुई वटा डिस्टिलरिज अझै सञ्चालनमा छन् ।     

नेपालमा खुकुरी आकारमा खुकुरी रम उत्पादन गरे झैँ सिक्किममा पनि सिक्किम हिमालयन प्रिमियम ओल्ड गोल्ड ह्विस्की उत्पादन हुन्छ । सन् २००१ मा जमसेद जीसँगै चार जना साझेदारले नेपाल डिस्टिलरिजको शेयर स्वामित्व कनोइ परिवारलाई बिक्री गरेको थियो ।      

खुकुरी रम उत्पादन गर्ने पुरानो कम्पनी ‘द नेपाल डिस्टिलरिज’ एक अर्ब ६१ करोड रुपैयाँमा बिक्री गर्‍यो । कम्पनी बिक्री भएसँगै ‘द नेपाल डिस्टिलरिज’को स्वामित्व भारतीय लगानीकर्ताबाट एक नेपाली र अर्का एक जना गैर आवासीय नेपालीको हातमा पुग्यो ।    

सन् १९५९ मा जमसेद जी कन्ट्रयाक्टरले स्थापना गरेको ‘द नेपाल डिस्टिलरिज’ को स्वामित्व डेढ दशकसम्म भारत कलकत्ताको व्यापारिक घराना कनोइ परिवारसँग थियो । कनोइ परिवारको स्वामित्वमा भएको शेयर सिंगापुरमा बस्ने गैर आवासीय नेपाली शरदकुमार टिवडेवाला र नर्भिक अस्पतालका सञ्चालक वसन्तकुमार चौधरीले खरिद गरेका हुन् । अहिले ‘द नेपाल डिस्टिलरिज’को ८० प्रतिशत स्वामित्व टिवडेवालासँग छ भने २० प्रतिशत स्वामित्व चौधरीसँग छ ।     

विदेशी रक्सी रुचाउने नेपालीको सङ्ख्या कम छैन । तर, नेपाली ब्रान्ड खुकुरी रम भने विदेशमा पनि लोकप्रिय रहेको ‘द नेपाल डिस्टिलरिज’का महाप्रबन्धक सुभाष लामिछाने दाबी गर्छन् । उनी भन्छन्, ‘खुकुरी रम उत्पादनको बेलादेखि नै विशेष प्रकारको प्रक्रियाबाट बन्ने भएकोले यसको रम बन्ने प्रक्रिया नै फरक छ । हामीले खुकुरी रम बनाउँदा प्रयोग गरिने वस्तुहरू पनि अन्य रमहरूको भन्दा फरक छ । यसले पनि खुकुरी रम लोकप्रिय बन्यो ।’   

विदेशमा खुकुरी रम नेपाल चिनाउने ब्रान्ड बनेको छ । खुकुरी रम नेपालबाट देश–विदेशमा गिफ्टका रूपमा सबैभन्दा धेरै लगिने वस्तु रहेको कम्पनीको दाबी छ ।  

खुकुरी रम हाल नेपालबाहेक १३ देशमा समेत निर्यात हुँदै आएको उनले जानकारी दिए । उनले भने, ‘नेपालको मौलिकता बोकेको खुकुरी रम बेलायत, अमेरिका लगायत १३ मुलुकहरूमा निर्यात हुन्छ । यससँगै खुकुरी रम जर्मनी, बेल्जियम, जापान, दक्षिण कोरिया, अमेरिका, सिंगापुर, युएई, इटालीलगायत मुलुकमा निर्यात हुन्छ ।’ नेपालमा बनेको जस्तो रम अन्य मुलुकहरूमा नबन्ने भएकाले पनि यसको माग विश्वभरिबाट धेरै हुने गरेको उनी बताउँछन् ।                               

खुकुरी रमले पछिल्लो समय लन्डन स्प्रिट अवार्ड समेत पायो । जुन निकै सम्मानित अवार्ड हो । ‘द नेपाल डिस्टिलरिज’बाट उत्पादित नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत रम समूहमा ९४ अङ्क हासिल गर्दै स्वर्ण पदक जित्न सफल भयो । यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कारसँगै अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार थियो ।  

उक्त प्रतियोगिता २०२० जुलाई ६ तारिखमा लन्डनमा भएको थियो । सोही प्रतियोगितामा ‘द नेपाल डिस्टिलरिज’को उत्पादन खुकुरी थ्री एक्स रमले स्वर्ण पदकसहित पुरस्कृत भयो ।  

लामो समयदेखि रम सेग्मेन्टमा एक छत्र राज गरेको खुकुरी रमले पछिल्लो समय आफ्नो नयाँ प्याकेजिङ सार्वजनिक गर्‍यो । कम्पनीले २० वर्षपछि लन्डनको कम्पनीमा डिजाइन गरेर उत्पादनको प्याकेजिङ परिवर्तन गरेको हो ।    

कम्पनी स्थापनाको ६२औँ वर्षमा प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्व स्तरीय एवं वातावरणमैत्री रूपमा बजारमा नयाँ प्याकेजिङ ल्याएको महाप्रबन्धक लामिछानेले बताए । आफ्नो प्याकेजिङ परिवर्तन गर्नुअघि देश–विदेशका ग्राहकहरूमाझ रिसर्चसमेत गरेको उनको भनाइ छ ।     

नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरू झल्किने विशेषताहरू समावेश गरिएको कम्पनीले जनाएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएको कम्पनीको भनाई छ ।

ग्राहकले स्वादमा परिवर्तन नचाहेको निष्कर्षसहित पुरानै प्रक्रियाका सम्पूर्ण चिजहरू यथावत् राख्दै स्वाद र गुणस्तरमा परिवर्तन नगरिएको महाप्रबन्धक लामिछाने बताउँछन् । आम ग्राहकबिचमा परिचित पुरानो स्वाद र आकर्षक प्याकका कारण खुकुरी रमले आफ्ना ग्राहकको मनमा अझ अटुट छाप छोड्न सफल हुने उनी विश्वास गर्छन् ।  

उनका अनुसार नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषता थपिएका छन् । द नेपाल डिस्टीलरिजका अनुसार रमको नयाँ बोतलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ । खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीको सरल तथा दृढ स्वभावलाई दर्साउँछ ।   

कम्पनीका अनुसार रमको नयाँ प्याकेजिङमा रातो घेरामा अङ्कित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरूको शक्तिको प्रतीक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्साउँछ । नयाँ प्याकेजिङमा एक अर्काको पूरकको रूपमा रहेको खुकुरीले नेपालीको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वर्ल्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको जनाउँछ । 

 

प्रतिक्रिया दिनुहोस