मेगा बैंक पहिचान नमेटिने गरी मर्जरमा जाने, मर्जरको ५० प्रतिशत काम सकियो - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

मेगा बैंक पहिचान नमेटिने गरी मर्जरमा जाने, मर्जरको ५० प्रतिशत काम सकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
Sunrise bank
मेगा बैंक पहिचान नमेटिने गरी मर्जरमा जाने, मर्जरको ५० प्रतिशत काम सकियो
LBEF
NCH-IPS

काठमाडौं । मेगा बैंक नेपालले आफ्नो अस्तित्व र पहिचान नमेटिने गरी मर्जरमा जाने बैंकका अध्यक्ष भोजबहादुर शाहले बताएका छन् ।  बैंकको १०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शाहले राष्ट्र बैंकको मर्जर नीतिलाई आत्मसाथ गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको बताए । उनले मर्जको विषयलाई हामीले नजिकबाट नियालिरहेका छौं । सोही अनुरूप मर्जर कमिटी बनिसकेको छ । मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचय, आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न सोच मिल्ने वित्तीय संस्थालाई आबद्ध गर्दै अझ व्यवस्थित ढंगले अगाडि बढ्ने तयारीमा रहेको अध्यक्ष शाहको भनाइ थियो । 


अध्यक्ष शाहले बैंकको विगत ९ वर्षसम्मको समीक्षा गर्दा मेगा बैंकले शाखाको सञ्जाल विस्तारमा ८ गुणा, एटीएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सिर्जनाको दृष्टिकोणमा ११ गुणा र राज्यलाई बुझाएको करमा ७८ गुणाले फड्को मारेको बताए ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताइन् । मर्जरको ५० प्रतिशत काम सकिसकेको भन्दै अब ५० प्रतिशत काम मात्रै बाँकी भएको बताएकी छन् ।

उनले गत आर्थिक वर्षमा निक्षेप संकलन १९ अर्ब बढेर करिब ८२ अर्ब पुगेको बताइन् । यसैगरी कर्जा प्रवाहमा १५ अर्ब ५० करोड बढेर ७३ अर्ब पुगेको र ग्राहक संख्या १ लाख ४६ हजारबाट ६ लाख ४३ हजार, र कर्जाको औसत आकार ३३ लाख र निक्षेपको अहिले बढेर १ लाख २७ हजार पुगेका बताइन् । 
देशभर मेगा बैंकको १०२ वटा शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, १०२ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ केन्द्र र २५ सय मेगा रेमिट एजेन्टहरूको सञ्जाल रहेको बताइन् । सीइओ खुञ्जेलीले पञ्चवर्षीय रणनीति बनाएर बैंकलाई अघि बढाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस