aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

एसएसपी शुशिलकुमार यादवको मृत्यु प्रकरण : के हो वास्तविकता ?

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • सोमबार, १२ पुस २०७८
nepalmegaschool
एसएसपी शुशिलकुमार यादवको मृत्यु प्रकरण : के हो वास्तविकता ?
LBF

संघीय प्रहरी एकाई कार्यालय भैरहवामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहानै आफ्नै क्वार्टरमा मृत फेला परे । बिहान जिम गरेर कोठाभित्र पसेका यादव बाहिर निस्केनन् । खाना खाने समय भइसक्दा समेत बाहिर नआएपछि कार्यालयमा कार्यरत कर्मचारी ढोका ढक ढकाउन पुगे । ढोका नखुल्ने र बोलाउँदा समेत कुनै आवाज नआएकोले झ्यालबाट हेरेँ । झ्यालबाट हेर्दा उनी कोठामै झुन्डिएको अवस्थामा देखिए ।  

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनास्थलको अवस्था हेर्दा यादवले आत्महत्या गरेको देखिएको छ । उनको मृत्यु रहस्यमय ढङ्गबाट भएकोले अनुुसन्धानकै क्रममा छ । नेपाल प्रहरीको उच्च दर्जामा रहेको प्रहरीले आत्महत्या गर्नु विषय खुल्न आएको छैन । सधै जनताको सेवामा काम गर्ने र समाजमा हुने गरेको अपराध र अपराधजन्य क्रियाकलापलाई रोक्ने प्रहरी नै आत्महत्यामा पुग्नु सामान्य विषय होइन । तल्लो दर्जाको भए त, जीवनमा आर्थिक उपार्जन गर्न नसकेर हो कि भन्ने आसङ्का गर्न सकिन्छ । 

उच्च दर्जाको प्रहरी, त्यो पनि पारिवारीक पृष्ठभूमिलाई हेर्दा सबल र सक्षम छ । संघीय इकाइ कार्यालयको कमाण्ड समालेको र हजारौंलाई प्रशिक्षण दिइरहेको प्रहरी आत्महत्या गर्ने निर्णयमा पुग्नु चानचुन विषय होइन । सधै आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने र आफू मातहतका सबै कर्मचारीलाई स्वास्थयको बारेमा सुसुचित गर्नेले सानो चोटले पक्कै पनि ज्यान फालेनन् । उनले आत्महत्या गर्नुको कारण के हो ? किन आत्महत्या गर्ने निर्णयमा पुगे ? यो प्रहरीवृत्त भित्रैको अनुसन्धान तथा खोजको विषय हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा लगभग १० लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन् । हरेक २० सेकेण्डमा एक जनाले आत्महत्या गर्छन् । नेपालको सन्दर्भमा केन्द्रीय प्रहरी विभागले सार्वजनिक गरेको आत्महत्या सम्बन्धी रिपोर्टमा कोभिड १९ का कारण लकडाउन भएपछि उच्च दरमा रहेको छ । के कारणले आफ्नो जीवन आफैँले समाप्त गर्न आँट गर्छ त मानिस ? यो बुझ्न र महसुस गर्न सक्ने क्षमता सबैमा हुँदैन । जसले आत्महत्याको कोसिस गर्छ वा आत्महत्या गर्छ, उसले मनको अन्तर्यमा असीम पीडाको अनुभूत गर्छ । उक्त पीडाबाट निस्कने कुनै विकल्प देख्दैन । व्यक्तिपिच्छे यसको कारण अलग अलग हुन्छ । किनकि हरेक व्यक्तिको आ—आफ्नो छुट्टै स्वभाव निर्माण भएको हुन्छ । त्यही अनुसार हरेक चीजवस्तुलाई हेर्ने र ग्रहण गर्ने आफ्नै मूल्य र मान्यता छ । त्यही कारणले प्रत्येक व्यक्तिलाई खुसी बनाउने र दुःखी बनाउने चीज, वस्तु वा परिस्थिति अलग अलग नै हुन्छन् ।

मनोचिकित्सकका अनुसार आत्महत्या गर्ने विचार गरेका मानिसले विभिन्न लक्षण देखाउँछन् । उनीहरु आत्महत्या सम्बन्धमा कुरा गर्ने, त्यसको बारेमा लेख्ने गर्छन् । अरुलाई त्यस्ता मानिसको कुरा हल्का खालको वा मजाक जस्तो लाग्न पनि सक्छ । उनीहरु आत्महत्या गर्नको लागि प्रयोग गरिने साधन (डोरी, चक्कु, विषादि औषधी आदि) तिर बढी आकर्षित हुन्छन् । कुन चीजद्वारा सजिलै मर्न सकिन्छ भन्ने कुराको योजना बनाइरहेका हुन्छन् ।

एसएसपी यादव २०४९ सालमा प्रहरी निरीक्षक पदबाट जागिरमा प्रवेश गरेका हुन् । यादव हालका एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याचमेट हुन् । आफ्ना ब्याचका दुई सहकर्मी एआईजी भइसक्दा उनी डीआईजी पनि हुन सकेका थिएनन् । ५५ वर्षेउमेर हदकाकारण आउँदो यही माघ १५ मा नै उनी अवकाश पाउँदै थिए । बढुवाको लाइनमा रहेका यादव बढुवा पाए उमेरको हद थप हुने थियो ।

एसएसपी यादव प्रहरी कार्यालय भित्र क्वार्टरमा एक्लै बस्दै आएका थिए । श्रीमती डाक्टर भएकोले बेलाबखत आइपुग्थिन् । शुक्रबार बिहान उनकी श्रीमती रुपम कुमारी यादवले फेसबुकमा एउटा स्टाटस लेखेकी थिइन्, ‘भलै यो युग कलि युग हो तर आज पनि सत्यकै जित हुन्छ ।’ रुपमले लेखेको यो स्टाटसको केही बेरमै यादव मृत फेला परेको बुझिएको छ । 

श्रीमतिको यो स्टाटस आउनु र श्रीमान् आत्महत्या गर्न पुग्नु संयोग मात्रै हुन सक्छ ? उनको स्टाटस बारे निकै चर्चा भइरहेको छ । एकातर्फ उनको स्टाटसलाई पारिवारीक बेमेलको हिसाबले व्याख्या गरिएको छ भने अर्को तर्फ श्रीमानको पीडालाई सपोर्ट पुगोस् भनेर उनले स्टाटस लेखेको हुनु पर्छ । पारिवारीक बेमेलमा यो स्टाटस लेखिएको भए पनि प्रहरीकै उच्चपदमा रहेका व्यक्तिले आफ्नो ज्यान फाल्ने थिएनन् होला । 

उनको मृत्युको कारण पहिल्याउने क्रममा उनी माथि प्रहरी प्रधान कार्यालयले कारवाही गर्ने तयारी गरेको खुलेको छ । यो प्रकरण बाहिर आएसँगै एसएसपी यादवले कारवाहीको डरले नै आत्महत्या गरे त ? भन्ने प्रश्न एकातर्फ उठिरहेको छ ।  

करिव १४ वर्षअघि बुटवलमा भएको एउटा अपहरण घटनामा आरोपितलाई उन्मुक्ति दिएको विषयमा उनी दोषी देखिएका थिए । अपहरण तथा शरीर बन्धक घटनामा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा यादव सहितका प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया सुरु भएको थियो ।

एसएसपी भीम ढकालको संयोजकत्वमा बनेको छानविन समितिले अपहरणकारीलाई उन्मुक्ति दिने प्रक्रियामा प्रहरीको संलग्नता देखिएको निष्कर्ष निकाल्दै यादव सहित बहालवाला १५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

२०६४ साल माघ २९ गते टण्डनको समूहले बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको थियो । तर उक्त घटनामा प्रहरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलेपछि लिखित स्पष्टिकरण मागिएको खुल्न आएको छ । स्पष्टीकरण पछि विभागीय कारबाही बारे निर्णय गर्ने तयारी थियो । छानबिन समितिले टन्डनलाई उन्मुक्ति दिनमा पूर्व आईजीपी ठाकुर ज्ञवाली सहित  २० प्रहरीको संलग्नता देखाएको थियो । तीमध्ये ५ जनाले अवकाश पाइसकेका छन् ।

तत्कालीन प्रहरी नायव उपरीक्षक जगत मान श्रेष्ठ, प्रहरी निरीक्षक नवीन क्षेत्री, तत्कालीन डीएसपी (पूर्व आईजीपी) ठाकुरप्रसाद ज्ञवाली, तत्कालीन प्रहरी निरीक्षक सोमबहादुर थापा र डीएसपी राजकुमार बैदरवारले अवकाश पाइसकेका छन् ।  

बाहालवाला १५ जनालाई विभागीय कारबाही गर्न समितिको सिफारिस छ । जसमा तत्कालीन डीएसपी सुशीलकुमार यादव, एसपी दानबहादुर कार्की, एसएसपी कृष्णकुमार महत, एसएसपी दीपक थापा, एसपी दिनेश कुमार आचार्य, एसपी दिलिप घिमिरे, एसपी महेन्द्र खड्का, एसपी मुकुन्द मरासिनीलाई कारबाही गर्न सिफारिस गरेको थियो भने डीएसपी पवनकुमार भट्टराई, डीएसपी केशव भट्टराई, डीएसपी डिलबहादुर मल्ल, डीएसपी भीमलाल भट्टराई, डीएसपी प्रतित सिंह राठौर लगायतसँग स्पष्टीकरण मागिएको थियो ।

मृत यादव रामग्राम नगरपालिका वडा नम्बर २ नवलपरासीका बासिन्दा हुन् । उनको श्रीमती र १ छोरा १ छोरी रहेका छन् । यादवपूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका भान्जा हुन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल यादवकी सानिमा हुन् ।

यादवको मृत्युबारे सर्वसाधारणले समेत निकै चाँसोले हेरेका छन् । सबैलाई प्रशिक्षित गर्दै सत्मार्गमा हिँड्न अहोरात्र खटिने उच्च पदस्थ प्रहरी  आत्महत्या गर्न पुग्नु सामान्य विषय होइन । प्रहरीको उच्च पदस्थ व्यक्तिको पिए हुन्छन् । जता गएपनि ढोकाबाहिर कुरेरै बसेका हुन्छन् । यादव जिम गएर आए पछि एक्लै कोठामा भएपनि बाहिर अंग रक्षक र सेक्युरिटिले कुरेर पक्कै बसेका थिए होला । उच्चपदस्थ व्यक्तिका मिनेटै पिच्छे फोन बजिरहेका हुन्छन् । खाना खाने बेलमा पनि फोन नउठाइ सुखै हुँदैन । 

यादव लामो समय सम्म फोनमा कुराकानी नभइ कोही कसैको सम्पर्कमा आइ एक्लै ढोका थुनेर बसेँ त ? रातको समय होइन अफिस समयमा अफिसका अन्य कर्मचारीहरुको घन्टौं सम्म काम भएन होला र ? यादव मृत्यु हुनु भन्दा दुई दिन अगाडि कार्यकक्षमै बेहोस भएर युनिर्भसल कलेज अफ मेडिकल साइनसेज शिक्षण अस्पतालमा उपचारका लगिएको थियो । आकस्मिक कक्षमा उपाचार गरी होसमा आएपछि डाक्टरले लेखेको औषधी किन यो औषधी दिएको मलाई केही भएको छैन भन्दै डाक्टरलाई फिर्ता गराएर फर्किएका थिए ।

 यादवले प्रयोग गरेको पासोलाई हेर्ने हो भने उनी आत्महत्या गर्ने योजनामा थिए भन्ने पनि तर्क एकातर्फ रहेको छ । उनले आत्महत्या गर्नको लागि किन श्रीमतिको साडी प्रयोग गरे भन्ने विषय पनि रोचक छ । एक प्रहरीका अनुसार यादव आफ्नै श्रीमतिको साडी प्रयोग गरेका छन् । उक्त कोठामा एउटा साडी बाहेक श्रीमतीका अन्य कपडा छैनन् ।

आत्महत्या आफैँमा एउटा जटिल समस्या भए पनि यसलाई न्युनीकरण गर्न सकिन्छ । त्यसको लागि एक व्यक्ति वा संस्था पर्याप्त हुँदैन । देशका सम्पूर्ण अंगहरु जस्तै सरकारको माथिल्लो तहमा रहेर नीति निर्माण गर्नेदेखि लिएर त्यसलाई कार्यन्वयन गर्ने स्थानीय सरकार लगायत स्वास्थ्य, शिक्षा, संचार, कानुन सबै क्षेत्रबाट उचित समन्वय र सहकार्य हुनु आवश्यक छ । तब मात्र हामीले आशातित सफलता हासिल गर्न सक्छौँ ।
 

प्रतिक्रिया दिनुहोस