aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
British College

यी पाँच पक्ष, जसले खराब भएका सहकारी संस्थाहरू सुधार्न सक्छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ पुस २०७८
यी पाँच पक्ष, जसले खराब भएका सहकारी संस्थाहरू सुधार्न सक्छन्
Global IME
LBF
  • डा. बद्री प्रकाश पोखरेल  

सहकारी भनेको धेरै जना एकै साथ मिलेर एउटै उद्देश्य प्राप्त गर्नको लागि समूहमा गरिने कार्यलाई सहकारी भनिन्छ । नेपालमा सहकारीको स्थापना देशका कृषक, श्रमिक, कालिगड, न्यून आय भएका व्यक्ति, समूह, सिमान्तकृत समूह वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई एक आपसमा प्रयोग गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक समस्याहरू हल गर्नुका साथै गरिबी, रोजगारी, असमानता, आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकाश गर्नको लागि स्थापना भएको मानिन्छ ।

नेपालमा आधुनिक सहकारी संस्थाको विकाश वि.सं.२०१३ साल चैत्र २० गते पहिलो सहकारीका रूपमा चितवन जिल्लामा “बखान ऋण सहकारी समिति” को गठन  गरिएको थियो । हाल नेपालमा ३० हजार भन्दा बढी सहकारी संस्था स्थापना भई सकेका छन् ।  

नेपालको संविधान २०७२ को धारा ५० को उपधारा ३, धारा ५१ को (घ) १ र ३ मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता, प्रवर्धन र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने गरी तीन खम्बे अर्थतन्त्रलाई अवलम्बन गरिएको छ । हाल सहकारी संस्था मार्फत धेरैले रोजगारी, व्यवसाय बिस्तार गर्नुका साथै आर्थिक उन्नति गरिरहेका छन् ।

नेपालको बजेटले सहकारी क्षेत्रलाई पनि अर्थतन्त्रको महत्त्वपूर्ण आधार स्तम्भको रूपमा विकास गर्न जोड दिएको छ । त्यस्तै सहकारीको माध्यमबाट स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको प्रवद्र्धन, कृषि उत्पादनलाई प्रोत्साहित गर्नुका साथै स्थानीय तहसँगको साझेदारीमा कृषि बजार केन्द्र र कृषि सामाग्री भण्डारको लागि सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ ।

नेपालमा सहकारी संस्था असफल हुनुका कारणहरू निम्न प्रकार छन् ।

क. बचत र ऋणको सही रूपले परिचालन गर्न नसक्नु ।

ख. कर्मचारीको उचित रूपले व्यवस्थापन नहुनु ।

ग. कमजोर सुशासन र व्यवस्थापन । 

घ. निष्क्रिय सदस्यहरू ।

ङ. अपर्याप्त प्रशिक्षित मानव संसाधन ।

च. कमजोर लगानी, सरकारी नियमन, निर्देशन र अनुगमनको अभाब ।

छ.लेखा परीक्षण, हिसाबकिताब राम्रोसँग नराख्नु वा पारदर्शिताको अभाव ।

ज.योजना, नीति, नियम, बजेट,उद्देश्य, नियमावली र रणनीतिक योजना ठिक नहुनु ।

झ.तरलताको अभाव हुनु वा बचत फिर्ता दिन नसक्नु ।

ञ.बिजुली, इन्टरनेट, सर्भर तथा प्रविधिको राम्रोसँग प्रयोग नहुनु ।

ट.खराब कर्जा बढी हुनु तथा कर्जाको व्याज फिर्ता नभई मूल कर्जामा गाभ्नु ।

ठ.संस्थामा भ्रष्टाचार मौलाउनु ।

ड.बन्द, हडताल जस्ता क्रियाकलाप हुनु ।

ढ.सञ्चालन खर्च बढी हुनु ।

ण.संस्था प्रति ग्राहकको विश्वासको अभाव हुनु तथा संस्थाको गलत सूचना प्रवाह हुनु ।

त.सञ्चालकद्वारा ऋण जथाभाबी रूपमा निकाल्नु ।

थ.सबै ठाउँमा सुरक्षाको प्रत्याभूति हुन नसक्नु ।

द.नेपालमा सहकारी प्रावधानको लागि औपचारिक शिक्षा, तालिम तथा सूचना प्रणालीको अभाव ।

ध.सहकारी क्षेत्रको विकास र बिस्तारको लागि सहकारी विभागको संस्थागत सुदृढीकरणको अभाव ।

न.वाणिज्य बैक, विकास बैक, वित्त कम्पनी र लघुवित्त कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्नु वा सहकारी क्षेत्रको सेवा सुविधा कम हुनु ।

प.एउटै व्यक्तिले विभिन्न सहकारीबाट ऋण लिनु तथा सहकारी क्षेत्रको लागि भिन्दै कर्जा सूचना केन्द्रको अभाव हुनु ।

फ.पेस्की फर्छ्यौट समयमा नहुनु वा बेरुजु बढी हुनु ।

ब.दैविक प्रकोप, विश्वव्यापी प्रभाव वा अन्तर्राष्ट्रिय प्रभाव पर्नु । जस्तै: आर्थिक मन्दी ।

भ.कर्जा लगानीका सिद्धान्तहरु (५अ) लाई बेवास्ता गर्नु ।

म.कर्जा लगानी गर्दा विविधीकरण नगरी एउटै क्षेत्र वा व्यक्तिलाई लगानी गर्नु, ऋणीहरूलाई व्यवसायी तालिमको अभाव ।

य.ग्राहकहरूसँग सुमधुर सम्बन्धको अभाव हुनु ।

र.कर्मचारी जथाभाबी रूपमा बिदा बस्नु वा आफू बिदा बस्दा अरूलाई कामको जिम्मेवारी हस्तान्तरण नगर्नु ।

ल.कर्मचारीको सेवा सुविधा कम हुनु वा सन्तुष्ट नहुनु ।

व.कर्जा लगानी गर्दा कर्मचारी र ऋणीको मिलेमतोमा कर्जा सुरक्षण कम राख्नु वा निरीक्षण गर्दा अर्कै देखाउनु ।

श.सञ्चालक तथा कर्मचारीद्वारा रकमको हिनामिना गर्नु ।

ष.राजनैतिक प्रभाव आदि ।

खराब भएका सहकारी संस्थाहरू सुधार्नको लागि निम्न उपायहरू अपनाउनु पर्दछ: 

क.सरकारी पक्षबाट

१.राम्रो नीति, नियम बनाउने ।

२.लगानीको सुरक्षाको सुरक्षाको प्रत्याभूति दिलाउने ।

३.सहकारी क्षेत्रको लागि भिन्दै कर्जा सूचना केन्द्रको अभाव ।

४.सहकारी प्रावधानको लागि औपचारिक शिक्षा, तालिम तथा सूचना प्रणालीको विकास गर्ने ।

५.सरकारी नियमन, निर्देशन र अनुगमन गर्ने 

६. दर्ता नगरी सञ्चालन गर्न नदिनुका साथै सहकारी संस्थाहरू दर्ता स्वीकृति हुनु पूर्व चाहिने कागतजातहरु छानबिन गरेर मात्र दर्ताको स्वीकृति दिनु आदि ।

ख.व्यवस्थापन पक्षबाट

१.उच्च व्यवस्थापन नीति, नियम, बिनियमावली ज्ञान भएको,बैङ्किङ कसुर, वित्तीय विश्लेषण गर्न सक्ने, कुशल नेतृत्व क्षमता भएको, सक्षम, अनुभवी, प्रतिभावान्, तनाव तथा द्धन्द व्यवस्थापन गर्न सक्ने, कर्मचारीलाई मिलाएर सामूहिक कार्य गर्न सक्ने हुनुपर्दछ ।

२.योजना, सङ्गठन,कर्मचारी व्यवस्थापन, निर्देशन, समन्वय र नियन्त्रण ज्ञान भएको हुनुपर्दछ ।

३.दैनिक कार्य योजना र ऋण असुली सम्बन्धी ज्ञान भएको हुनुपर्दछ ।

४.शीघ्र निर्णय गर्न र नीति निर्माणमा सरसल्लाह दिन सक्ने क्षमता भएको हुनुपर्दछ ।

५.संस्थाको लक्ष्य, उद्देश्य प्रति बफादार, दुर्दृष्टि भएको हुनुपर्दछ ।

६.कर्मचारी बिदा बस्दा बिदा स्वीकृति गरेर मात्र बस्नु आदि ।

ग.बचत पक्षबाट

१.सबै निक्षेपकर्ताहरुलाई सहकारीको ब्याजदर र ब्याजदर परिवर्तनको सूचना प्रवाह गर्ने ।

२.खाताको प्रकार अनुसार जम्मा गरेको रकम जुनसुकै बेला पनि झिक्न सक्ने सुविधा र खातामा भएको रकम झिक्ने सीमा बारे बताउने ।

३.ग्राहकहरूसँग सुमधुर सम्बन्ध कायम राख्नु ।

४.तरलताको कायम राख्नु ।

५.बचतको सुरक्षाको अनुभूति गराउनु आदि ।

घ.ऋण असुली योजना पक्षबाट 

१.ऋणीलाई कर्जाको नियमित किस्ता तिर्न लगाउने ।

२.ऋणीलाई कर्जाको समय अवधिको बारेमा जानकारी दिने ।

३.ऋणीको घर, व्यवसायमा भ्रमण गरी ऋण तिर्न सुझाव दिने ।

४.ऋणीलाई बोलाएर राम्रोसँग सम्झाई बुझाई गरेर धितो बढाउन लगाउने ।

५.कालोसूची बारे जानकारी दिने आदि ।

ङ.सञ्चालक समितिको पक्षबाट

१.संस्थाको नीति नियम छिटो छरितो पारित गर्नु ।

२.संस्थाको हिसाब किताब बेलाबेला चेकजाँच गर्नु ।

३.संस्थाको कुनै सदस्यले रकमको हिनामिना तथा ऋण तिर्न नसकेमा त्यसको छानबिन गर्ने ।

४.संस्थाको आन्तरिक कार्यविधि बनाउने आदि ।

प्रतिक्रिया दिनुहोस