
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको मूल्य डेढ वर्षयताकै महँगो भएको छ । विहीबार लागि एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ६८ पैसा रहेको छ भने विक्रि दर १२२ रुपैयाँ २८ पैसा रहेको छ । बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रि दर १२१ रुपैयाँ ६९ पैसा रहेको थियो ।
मंगलबारका लागि अमेरिकी डलर एक डलरको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको थियो । सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको थियो ।
केही दिनयता नेपाली मुद्रा नेपाली रुपैयाँसँग अमेरिकी डलरको विनिमय दर निरन्तर उकालो लागिरहेको छ । डलरको विनिमयदर बढेसँगै नेपालका व्यापार घाटा झन बढ्ने देखिएको छ । चालु खाता घाटा महिना दिनमै साढे ७१ अर्बले बढेको छ । असोजमा एक खर्ब ५१ अर्ब ७० करोड घाटामा रहेको चालु खाता कात्तिकमा २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । महिना दिनमै आयात एक खर्ब ७१ अर्ब ७७ करोडले बढेर साढे ६ खर्ब नाघेको छ भने व्यापार घाटा एक महिनामै एक खर्ब ५४ अर्ब ७० करोड रुपैयाँले बढेको छ ।
डलरको भाउ बढ्दा नेपालले आयात गर्ने सामान महंगो हुन्छ भने विदेशमा भएका नेपालीले पठाउने रेमिट्यान्स बढेर आउँछ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिको चार महिना विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई ३१२ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।
डलरको उच्च विनिमय दर भएको यो करिब डेढ वर्षयताकै उच्च हो । यसअघि २०७६ चैतमा अमेरिकी डलरको विनिमय दर १ सय २१ रुपैयाँ ६९ पैसा थियो । त्यसअघि २०७५ असोजमा एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ६१ पैसा थियो । त्यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ १७ पैसा विक्री दर १३७ रुपैयाँ ८५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, जापानीज ऐ न १० को खरिददर १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७५ प्रैसा रहेको छ ।
त्यस्तै, सबैभन्दा महगो विनिमयदर भएको कुवेती दिनारको एकको खरिददर ४०१ रुपैयाँ ४४ प्रैसा पुगेको छ भने विक्रीदर ४०३ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३२२ रुपैयाँ ७५ पैसा र विक्रीदर ३२४ रुपैयाँ ३५ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस