aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

विमानस्थल भन्सारमा विशेष ‘टास्क फोर्स’ परिचालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
विमानस्थल भन्सारमा विशेष ‘टास्क फोर्स’ परिचालन
Global IME
LBF

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयले विमानस्थल भन्सारमा विशेष ‘टास्क फोर्स’ परिचालन गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाका बारे जानकारी दिँदै सो कुरा बताएका हुन् ।  

सो ‘टास्क फोर्स’ ले दैनिक १९/२० किलो सुन विमानस्थलमा नियन्त्रण लिएको समेत मन्त्री शर्माले जानकारी दिए । नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएको उनले बताए । यसले राजस्वमा टेवा पु¥याउने विश्वास मन्त्री शर्माले व्यक्त गरे ।  

अर्थमन्त्रीले शर्माले भने, नेपालको अर्थतन्त्र आयात अर्थात् भन्सारमा, विप्रेषणमा आधारित छ भन्ने कुरा यो आज आएर भनिएको होइन । यसलाई बदल्ने कसरी भन्ने कुरा आजको हाम्रो मुख्य चुनौती हो । र, उत्पादनमा आधारित अर्थतन्त्र, आत्मनिर्भर अर्थतन्त्र कसरी बनाउने हो ? संविधानले निर्दिष्ट गरेअनुरूप समाजवादी अर्थतन्त्र कसरी निर्माण गर्ने आजको हाम्रो मुख्य चुनौती हो ।’ 

आर्थिक वृद्धिदर ७ प्रतिशत बेमौसमी वर्षा र बाढीले ठूलो क्षति गरेका सो लक्ष्य प्राप्त गर्न केही कठिनाई हुने देखिएको उनले बताए  । उनले भने, ‘यद्यपि प्राप्त गर्न नसकिने अवस्था नै सिर्जना भएको भने छैन । योजना आयोगको सर्वेक्षणले ५.२ प्रतिशत आर्थिक वृद्धिदर हुने देखाएको छ । अन्तर्राष्ट्रिय निकाय तथा संस्थाहरूले गरेको अध्ययनमा पनि आफ्ना तथ्याङ्कहरू प्रस्तुत गरिएका छन् । तर पनि हाम्रो अहिले पनि कुरा के छ भने ७ प्रतिशतको वृद्धि लक्ष्य छ त्यो लक्ष्यलाई हामी पु¥याउन सक्छौँ । लक्ष्य पूरा गर्नुपर्छ । त्यसका आधारहरू पनि छन् ।’ 

वार्षिक क्रेडिट ग्रोथ १९ प्रतिशत भनेमा  त्यो अहिले ३२ प्रतिशत भएको उनले दावी गरे । यसलाई कतिपय मान्छेले नकाकरात्मक रूपमा लिएका समेत उनले टिप्पणी गरेका छन् । उनले भने, ‘यो सकारात्मक कुरा हो । अर्थतन्त्रका लागि यसको वृद्धि सकारात्मक कुरा हो । किनभने ७० प्रतिशत निजी क्षेत्रबाट नै अगाडि बढ्ने कुरा हो । बाँकी सरकारी क्षेत्रबाट हुनु सकारात्मक लिइन्छ ।’

समग्र खर्च गत वर्षभन्दा २ प्रतिशत बढी भइसकेको उनले बताएका छन् । उनले भने, अहिले समग्र खर्चको अवस्था हेर्दा २२ प्रतिशत देखिएको छ । पुँजीगत खर्च करिब ५.९ प्रतिशत भएको छ ।  यस खर्चभित्र कतिपय प्रदेश र स्थानीय तहरूलाई पठाइएको खर्चसमेत समावेश छन् ।’ 

यसैगरी अहिले कोभिड महामारीपछि ९८ प्रतिशत उद्योग, कलकारखानाहरू पुनः सञ्चालनमा आइसकेका अर्थमन्त्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, मुद्रास्फिति लक्ष्य ६.५ मा सीमित गर्ने भनिएकोमा अहिले यो ४.२ मा कायम रहेको उनले बताए  ।  बाह्य क्षेत्रको कुरा गर्दा निर्यात १०४ प्रतिशतले बढेको उनले दावी गरेका छन । यस्तै आयात ६१ प्रतिशतले बढेको छ । १०४ प्रतिशत भनेको हालसम्मको सबभन्दा बढी निर्यात भएको अर्थमन्त्रालयको भनाइ रहेको छ । 

अर्थतन्त्रको पछिल्लो अबस्थाका बारेमा जानकारी गराउदै उनले भने, ‘विप्रेषणको आय अहिले ६.७ प्रतिशत कमी हुन आएको छ । गत वर्ष विदेश कामदार जाने ६० प्रतिशतले कमी आएको थियो । कोभिडका कारण मान्छे विदेश जान पाएको थिएन । विदेशी मुद्रा सञ्चिति आजको दिनमा १३१९ अर्ब रहेको छ । जसले ७.८ महिनाको वस्तु र सेवालाई धान्न सक्छ ।’

अहिले ४१६ अर्ब राजस्व उठाएको र गत वर्ष यही समयमा ३ सय अर्ब रहको उनले बताए । त्यसकारण अहिले राजस्वमा ४० प्रतिशत वृद्धि भएको उनले बताए ।  वैदेशिक सहायतमा आईएमएफसँग भर्खरै इसीएफ अन्तर्गत मन्त्रिपरिषद्स्तरीय निर्णयसँगै करिब ४८ अर्ब अर्थात् ४ सय मिलियन डलर बराबरको सम्झौता भएको उनले बताएका छन । 

अर्थमन्त्री शर्माले भने, ‘अब तरलताको अवस्थाको बारे कुरा गर्दा हिजो (बुधबार) १६ अर्ब रहेको थियो । यो राष्ट्र बैंकसँग भएको तथ्याङ्क हो । राष्ट्र बैंकले यो अवधिमा १७९६ अर्बलाई तरलताका लागि एसएलएफबाट प्रवाह गरिसकेको अवस्था छ । साथै निक्षेप गत साता ७ अर्बले बढेको छ । तरलता कम हुनुमा पुँजीगत खर्च थोरै हुनुले पनि केही प्रभाव पारेको छ । यसलाई सुधार गर्नका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयले भर्खरै व्यवस्थापन गर्न नीतिगत सुधार गरिएका छन् । यसले व्यवस्थापन गर्छ भन्ने लागेको छ ।’

तरलतालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले एनआरअएनहरूले पनि डलर खाता खोल्न पाउने व्यवस्था गरेको उनले बताए । बैंकमार्फत् भित्र्याउन पाउने र बैंकमार्फत् नै लैजान पाउने गरी त्यसको व्यवस्थाले  एनआरएनहरूमा उत्साह थपिएको समेत उनले पेश गरेको अर्थमन्त्रालयको प्रतिवेदनमा उल्लेख गरेका छन् । अहिले खरिद ऐन । नियमावली, ऐन संशोधन गर्ने तयारी भइरहेको उनले बताएका छन । 

प्रतिक्रिया दिनुहोस