aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

'चुनावको केही घण्टा अघिसम्म पनि सहमति हुन्छ भने म तयार नै छु'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ मंसिर २०७८
'चुनावको केही घण्टा अघिसम्म पनि सहमति हुन्छ भने म तयार नै छु'
करणकुमार चौधरी, कार्यकारी निर्देशक, सिजी होल्डिङ्स
NIBL

युवा व्यवसायी करणकुमार चौधरी सिजी होल्डिङ्सको कार्यकारी निर्देशक हुन् । आगामी मंसिर २२ र २३ गते हुन लागेको नाडा अटोमोबाइल्स एसोसिएसन नेपालको चुनावमा उनी अध्यक्षका उम्मेदवार बनेका छन् । युवा व्यवसायी भएकाले उनी नयाँ स्टार्ट अफ (नयाँ व्यवसाय) गर्ने युवाहरूलाई दुई चार लाख रुपैयाँ लगानी गरेर व्यवसायी नगर्न सुझाव दिन्छन् । नयाँ व्यवसाय सञ्चालन गर्न पूर्व अरूले सञ्चालन गरेका व्यवसायमा काम गरेर व्यवसायको अनुभव लिएर मात्र आफ्नो व्यवसाय सञ्चालन गर्न उनको सुझाव छ । १६ वर्षको व्यवसायीक अनुभव बटुली सकेका चौधरी आफूलाई परिपक्व युवा व्यवसायी भन्न रुचाउँछन् । उमेरले मात्रै युवा नहेरेर सम्बन्धित क्षेत्रमा गरेको योगदान र अनुभवलाई पनि हेर्न अनुरोध गर्छन् । आगामी नाडाको चुनाव र समग्र अटो व्यवसायका बारेमा आर्थिक न्युज डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ, चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश:  

तपाई नाडाको अध्यक्षमा आफ्नो टिमसहित अध्यक्षको उम्मेदवार घोषणा गर्नुभएको छ । करण चौधरी नेता बन्ने बेला भइसकेका हुन् ? 

म आफूलाई युवा व्यवसायी उद्यमी त भन्छु । तर, यो भन्दै गर्दा म युवा हो कि होइन भन्ने प्रश्न पनि सँगसँगै आफैलाई गर्छु । मैले व्यवसाय गरेको १६ वर्ष भइसक्यो । काम गरेकै १६ वर्ष भइसकेको मैले आफूलाई युवा भन्न सुहाउँछ कि सुहाउँदैन भन्ने ठुलो प्रश्न मेरो दिमागमा छ । तपाईँले मलाई युवा भनेर सम्बोधन गर्नु भयो तर, विदेशमा ३०/३२ वर्षका मान्छे प्रधानमन्त्री भएको सुन्छौँ । मैले त नाडाको नेतृत्व गर्न मात्र खोजेको छु । त्यसमा किन आशङ्का त ? 

नाडामा पहिला पहिलाको भन्दा पछिल्लो समय अलि बढी चुनाव लागेको हो ? समूह नै बनाएर भोट मागिरहनु भएको छ सहमति गर्न सकिँदैन थियो ?  

पहिलो त नाडा विभाजन भयो भन्ने नै गलत हो । नाडामा समूह बन्यौ भन्नु पनि गलत हो । नाडा भनेको सानो संस्था हो । यहाँ चुनाव भनेको प्रजातान्त्रिक प्रक्रिया हो । यसले विभाजन वा समूह बन्यो भन्ने म्यासेज बाहिर जान्छ जस्तो लाग्दैन । अर्को मैले त नाडामा सहमतिकै बाटोमा हिजो पनि थिए आज पनि छु । चुनावको केही घण्टा अघिसम्म पनि सहमति हुन्छ भने म तयार नै छु । 

नाडामा आज ३२ सय जना सदस्यहरू हुनुहुन्छ । ३२ सय जनालाई कार्यसमितिमा राख्न सम्भव छैन । ३२ सय जनाको प्रतिनिधिकै रूपमा म उम्मेदवार बनेको छु । मैले बनाएको टिममा सबैको प्रतिनिधित्व गर्न सक्षम टिम बनाएको छु । म अध्यक्ष भएपछि उहाँहरूबाट सही समस्या आए भने जहाँ गएर भए पनि समाधान गर्न तयार हुन्छु । तर, ३२ सय जनाको समस्या ल्याउने प्रतिनिधिले सही समस्या सही समयमा दिन पर्छ ।   

केही समय अघिसम्म ९ सय सदस्य रहेको नाडामा चुनावकै लागि ३२ सय पुर्‍याएको भन्ने आरोप पनि छ नि ?  

वर्तमान उपाध्यक्ष भएको नाताले नयाँ थपिएका सबै सदस्यहरू वास्तवमै अटो मोबाइल्स क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यवसायीहरू हुनुहुन्छ । यो नाडाले गरेको अत्यन्त राम्रो कामका रूपमा म लिन्छु । ३२ सय जना भनेको सदस्य मात्र पनि होइन यहाँ ३२ सय वटा क्षेत्रबाट समस्या र सुझाव पनि आउनु हो । 

व्यवसायीहरू र अटो मोबाइल क्षेत्रका दायरा बढ्दै जाँदा सदस्यता बढ्नु यो सामान्य नै हो । त्यसैले अहिले नाडाको १४ सदस्यीय कार्यसमितिबाट १७ जना बनाइएको पनि सदस्य बढेर नै हो । अटो मोबाइल व्यवसाय भनेको अहिले देशभरि नै फैलिएको छ । बढेको कार्यसमितिमा मैले मोफसलबाट थप्न पाएको छु । यहाँ सदस्यता मात्र बढेको छैन क्षेत्र र व्यवसायको दायरा पनि फराकिलो भएको छ । 

अटो मोबाइल क्षेत्रलाई हामीले औद्योगिकीकरण तर्फ लैजाने भन्ने दिशामा अघि बढिरहेका छौँ । त्यसैले औद्योगीकरण भनेको सानो क्षेत्र र सीमित व्यवसायलाई मात्र समेटेर हुँदैन । मेरो टिममा टायर उद्योग सञ्चालन गर्ने व्यक्ति, टु हिलरको उद्योग खोल्ने, फोर हिलर उद्योग खोल्नेहरूको सहभागिता रहेको छ ।  लुव्रिकेन्ट उद्योग चलाइरहेको म आफै सरकारी कम्पनी अक्वायर गरे ९ वर्षदेखि ३० प्रतिशतभन्दा बढी लाभांश दिइरहेको छु । 

ठुलो व्यवसायी घरानासँग जोडिएकाले राजनीतिक पहुँच सजिलै भएर हो कि साँच्चै अटो मोबाइल क्षेत्रको विकासमा अब मेरो नेतृत्व आवश्यक छ भनेर नाडाको अध्यक्षमा उम्मेदवारी दिनु भएको हो ?

१६ वर्षको व्यवसायी करिअरमा १० औँ हजारलाई मैले आफै मेरो आफ्नै मेहनतले भेटेको पनि छु । म बुबा हुन्जेल कम्पनीको कामदार मात्रै हो । मैले सबै निर्णय आफैले गर्न पर्छ भन्ने हुँदैन धेरै जसो निर्णय गर्ने जिम्मा म बुबालाई लगेर छोडिदिन्छु । मेरो भाग्यमा नै लेखेर आएको रहेछ कि म यो परिवारमा जन्मिए । म तपाईँले भने जसरी ठुलो घरानामा जन्मेका मान्छे मेरो परिवारका कम्पनीमा सिधै निर्देशक वा ठुलो पदमा नियुक्त हुन्थे होला तर, मैले मेरै कम्पनीमा पनि पहिला मेकानिकका रूपमा काम गरेर माथि आएको मान्छे हुँ । मैले गरिरहेको व्यवसायसँग सम्बन्धित विषयहरू जस्तै गाडीका हरेक पार्टका साथै गाडीमा के के हुन्छ भन्ने विषयको जानकारी म आफै राख्छु । मैले मेरो करियरमा परेर पढ्न थालेको हुँ ।  

यही क्षेत्रका साना–साना समस्यादेखि निर्देशकसम्मका काम गर्दाको अनुभव र देशैभरि रहेका व्यवसायी साथीहरूको साथ र सल्लाहले अब नाडामा मेरो आवश्यक भएको भनेपछि म आफ्नै व्यवसायको छाता संस्थाको प्रमुख पदमा उम्मेदवारी दिएको हुँ । तर, नाडामा पनि मैले सानो पददेखि सिक्दै माथि आएको हुँ । 

बजारमा तपाईंलाई ठूला व्यापारीको नेता हो भनेर भन्ने गरेका छन् । मतदाता भने साना व्यवसायी धेरै छन् भन्ने पनि गुनासो छ भोट कसरी पाउनु हुन्छ ? 

मैले आफ्नो टिम बनाउँदा नै सबै क्षेत्रको प्रतिनिधित्व गर्ने खालको बनाएको छु । त्यहाँ साना ठूला सबै व्यवसायीहरुको मन अडेको छ भन्ने मैले विश्वास गरेको छु । फेरि यो सानो ठुलो व्यवसायी भन्दा पनि सम्बन्धित क्षेत्रको प्रतिनिधित्व र समस्या सम्बोधनको विषय ठुलो हो । त्यसैले यहाँ मतदाता साना वा ठूलाको प्रश्न नै आउँदैन ।   

चुनावमा भोटको महत्त्व साना वा ठूला सबैको एकै हुन्छ । त्यस कारण पनि म सबै क्षेत्रको प्रतिनिधित्व गर्ने भएकाले यहाँ साना वा ठूला व्यवसायी भन्ने प्रश्न आउँदैन जस्तो लाग्छ । 

नाडाको चुनावमा व्यक्ति केन्द्रित प्रचार अलि बढी भयो तर, समग्र व्यवसायको योजना र भावी कार्य योजनाका विषयमा कतै पनि कुराकानी भएको देखिएन नि ? 

अटो मोबाइल क्षेत्रको विकास र विस्तारका लागि सबैभन्दा पहिलो प्राथमिकताको पूर्वाधार नै हो । पूर्वाधार राम्रो बन्यो भने गाडी बढी बिक्छ । गाडी बढी बिक्यो भने टायर बढी बिक्छ । यसमा अटो मोबाइल क्षेत्रसँग सम्बन्धित सबै क्षेत्रको व्यापारमा चेन इफेक्ट पर्छ । 

पूर्वाधार विकास कसरी गर्ने भन्ने विषयमा नाडाले सधैँ नै सरकारसँग साथमा छ । पूर्वाधार बारेमा सम्बन्धित व्यवसायी पनि त्यतिकै लागेका छन् । केही वर्ष पहिलाको भन्दा बाटोको क्षेत्रफल बढेको छ । यो नै अहिलेका लागि सन्तोष गर्न सक्ने केही पक्ष बनेको छ । 

नाडाले गाडी र गाडीसँग सम्बन्धित सामाग्री कसरी धेरै बेच्न भन्नेका कुरा मात्रै धेरै गर्छ । योसँग सम्बन्धित अन्य जस्तै गाडी खरिद गर्ने व्यक्तिको आय र गाडी किन्ने मानिसको सङ्ख्या कसरी बढाउने भन्ने बारे चाहिँ चर्चा नै किन हुँदैन ?

सरकारले अटो मोबाइल क्षेत्रलाई उत्पादनमूलक व्यवसायका रूपमा मात्र हेर्‍यो भने पनि यी विषयहरू सम्बोधन हुन्छन् । उत्पादनमूलक भयो भने सस्तोमा ऋण पाइन्छ । ऋण नै सहज रूपमा पाइन्छ । सरकारले उत्पादनमूलक उद्योगको रूपमा अटो क्षेत्रलाई हेर्ने बित्तिकै धेरै मानिससम्म यो व्यवसाय पुग्छ । 

तर, विद्युत् धेरै उत्पादन भयो भने सबैको घर घरमा विद्युतीय गाडी हुन्छ भन्ने सोचमा छन् तर यस्तो हुँदैन । किनकि विश्वमा सबैभन्दा धेरै विद्युतीय गाडी खपत हुने देश नर्वेमा पनि जम्मा ३८ प्रतिशतले मात्र विद्युतीय विक्री गर्छन् । सरकारले अटो मोबाइल क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण मात्र परिवर्तन गरिदियो भने धेरै कुरा गर्न सक्छौँ ।   

सरकारको ३५ प्रतिशत आयस्रोतमा योगदान दिइरहेको अटो मोबाइल क्षेत्रलाई सरकारले गैरउत्पादनमूलक भयो भनेर हेला गरिरहेको छ । बैंकिङ क्षेत्रबाट पाउने वित्तीय सेवामा क्याप लगाइदिएको छ । त्यस्तै, भन्सार विन्दुमा नै मूल्य सूची निकालेर अटो मोबाइल क्षेत्रमा काम गर्ने व्यवसायीहरूलाई दुःख दिइएको छ ।

नेपालमा अटो व्यवसायलाई औद्योगीकरण गर्ने बताउनु भयो नेपालमा अटो मोबाइल क्षेत्रको कस्ता खालको उद्योगको सम्भावना रहेको छ ? 

नेपालमा गाडी, ब्याट्री र इन्जिन आयल लगायत सबैमा स्थानीय स्तरमा नै उद्योग लगाउन सकिन्छ ।  

सुजुकीका गाडी स्थानीय स्तरमा एसेम्बल गरिएका गाडी नेपालीले कहिले चढ्न पाउँछन् ?  

सुजुकीले यी क्षेत्रमा धेरै काम गरिसकेको छ । अब चाडै नै सुजुकीका गाडी लगायत स्थानीय रूपमा एसेम्बल गरिएका वस्तु तथा सामान उपलब्ध गराउने योजनामा छौँ । एसेम्बलका लागि हामीले अध्ययन गरिसकेका छौँ । सरकारी केही नीतिगत विषयमा थप छलफल गर्न बाँकी छ । सरकारले नीतिगत रूपमा व्यवसायमैत्री मात्रै ल्याइदियो भने व्यवसायी हुँ फाइदा त आफै कमाउँछु । 

नयाँ उद्योग वा व्यवसायी चलाउन तयारीमा रहेका युवाहरूलाई तपाई के सुझाव दिन चाहनुहुन्छ ? 

पहिलो कुरा त युवा हुँदा नै आफै पैसा हालेर व्यवसाय कहिल्यै नगर्नुहोस् भन्छु । उनीहरूलाई मेरो सुझाव भनेको पहिला अरूको कम्पनीमा काम गर्नुहोस् । अर्कैको पैसाले आफ्ना गल्ती सच्याउनुहोस् । गल्ती गर्दा आफ्नो पैसाले कहिले पनि नगर्नु अरूको पैसा खर्च गरेर आफ्ना गल्ती सुधार्नुहोस् अनि आफ्नो व्यवसाय शुरु गर्नुहोस् ।

 

 

प्रतिक्रिया दिनुहोस