
काठमाडौं । सबै स्थानीय तहमा वाणिज्य बैंकको कम्तीमा एक शाखा विस्तार गर्ने नेपाल राष्ट्र बैंकको नीति बमोजिम हाल प्रदेश नं ७ मा रहेका ८८ वटा स्थानीय तह मध्ये ८७ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । तर, बझाङ जिल्लाको साईपाल गाउँपालिकामा हालसम्म वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकका अनुसार सबै भन्दा पछि वाणिज्य बैंकको शाखा पुगेको बझाङ जिल्लाको थलारा गाउँपालीकामा कुमारी बैंक लिमिटेडको शाखा सञ्चालनमा रहेको छ । जिल्लागत रुपमा सबैभन्दा बढी बझाङका १० वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । सबैभन्दा कम कैलाली जिल्लाका ३ वटा स्थानीय तहमा शाखा विस्तार भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात विस्तार भएका वाणिज्य बैंकका शाखाहरुमा २०७८ असार मसान्तसम्म १९८ जना कर्मचारीहरुले रोजगार प्राप्त गरेका छन् । जिल्लागत रुपमा बझाङ जिल्लाका स्थानीय तहमा विस्तार भएका वाणिज्य बैंकका शाखामा सबैभन्दा बढी ३३ जना कर्मचारीहरुले रोजगार प्राप्त गरेका छन् भने सबैभन्दा कम कैलाली जिल्लामा १३ जना कर्मचारीहरुलेरोजगारी प्राप्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका तोकिएका स्थानीय तहमा शाखा विस्तार गरेका वाणिज्य बैंकले २०७८ असार मसान्तसम्म ९ अर्ब ४३ करोड ७७ लाखको कुल निक्षेप परिचालन गरेका छन् भने २ अर्ब ३३ करोड ४ लाखको कर्जा प्रवाह गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस