aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

बिदामा आएर जानेलाई पनि कोरियामा क्वारेन्टाइन अनिवार्य

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • शुक्रबार, १७ मंसिर २०७८
nepalmegaschool
बिदामा आएर जानेलाई पनि कोरियामा क्वारेन्टाइन अनिवार्य
LBF

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत बिदामा आएर पुनः प्रवेश गर्ने नेपालीका लागि कोरिया प्रवेशपछि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पछिल्लो समय दुई चरणमा कोरिया प्रवेश गरेका १ सय २९ मध्ये एक नेपालीलाई कोरिया प्रवेशपछि कोरोना पोजेटिभ देखिएपछि बिदामा आएकाले समेत क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरिएको हो ।

मंसिर १० गते नेपालमा पीसीआर परीक्षण गरी कोरिया गएका ८१ मध्ये एक नेपालीलाई कोरियामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि अन्यका लागि समेत अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरिएको वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले जनाएको छ ।

शाखाका प्राविधिक टेक खड्काका अनुसार, नेपालमा पीसीआर परीक्षण गरेर गएका एक नेपालीमा संक्रमण देखिएपछि नेपालबाट बिदा मनाएर जाने नेपालीले समेत क्वारेन्टाइन बस्नुपर्ने भएको हो । यसअघि कोरियामा खोप लगाएर बिदामा आएका नेपाली पुनः प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने नियम थियो ।

२ वर्षपछि कोरियाले नेपाली श्रमिकका लागि प्रवेश खुला गरेपछि पहिलो चरणमा कात्तिक १० गते ४८ र मंसिर ८ गते ८१ जना प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर) कोरिया प्रवेश गरेका थिए । कोरियाले जनस्वास्थ्यसँग सम्बन्धी राखेका विभिन्न शर्त पूरा गरेपछि २ चरणमा १ सय २९ प्रतिवद्ध श्रमिक (कमिटेड वर्कर) गएको थिए । कोरियाले पहिलो चरणमा प्रतिबद्ध श्रमिक (कमिटेड श्रमिक) लाई प्रवेश गराउँदै क्रमशः अन्यलाई पनि लैजाने जनाउँदै आएको छ ।

प्रतिबद्ध श्रमिक भनेको कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित ४ वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमिक हुन् । कोरियामा एकै कम्पनीमा ४ वर्ष १० काम गरेर फर्केका १ सय १९ श्रमिकको भिसा प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले असोजमा नै नामावली सार्वजनिक गरेको थियो ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका अनुसार, नेपाली श्रमिक माग गर्ने सम्बन्धमा कोरियान पक्षसँगको लगातार छलफलपछि २ चरणमा गरेर १ सय २९ युवा कोरिया गइसकेको जनाएको छ ।

नेपाली श्रमिक माग गर्ने सम्बन्धमा कोरियन पक्षले राखेको कोरोना बिमा, पीसीआर परीक्षण, सिधा हवाईउडान र क्वारेटाइन बस्नुपर्ने लगायतका शर्त पूरा भएपछि नेपाली श्रमिक जाने बाटो खुलेको हो ।”

कोरियाले कडा शर्त राखेर कोरोना संक्रमणका बीच श्रमिक माग गरेको भए पनि यसरी जाने कोही श्रमिकमा कोरिया पुगेपछि कोरोना संक्रमण देखिए सम्पूर्ण प्रक्रिया पुनः रोकिने जनाएको थियो । हाल विगत २ वर्षदेखि ३ हजार कमिटेड वर्कर र ७ हजार नयाँ श्रमिक गरी १० हजार युवा रोकिएको कोरियाको रोजगारी सुचारु हुने आशामा बसेका छन् ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारणले विगतमा लकडाउन भई अन्तर्राष्ट्रिय उडानसमेत बन्द भएकाले दक्षिण कोरियामा नियमित तथा कमिटेड कामदारको उडान प्रकृया रोकिएको थियो । ईपीएसअन्तर्गत हालसम्म करिब ६५ हजारभन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । तीमध्ये ३५ हजारको हाराहारीमा नेपाली युवा कोरियामा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस