aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

कुल ग्राहस्थ उत्पादनमा यस्तो छ निर्यातको योगदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ मंसिर २०७८
nepalmegaschool
कुल ग्राहस्थ उत्पादनमा यस्तो छ निर्यातको योगदान
LBF

काठमाडौं । कुल ग्राहस्थ उत्पादनमा निर्यातको योगदान बढेको छ । सोमबार राष्ट्र बैंकले जारी गरेको वार्षिक प्रतिवेदनको तथ्याङक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष निर्यात बढेको हो । चालु आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ अर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको हो । 

अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले बढेको थियो । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो वर्ष २.५ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३.३ प्रतिशत रहेको छ । 

कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्ष ११.८ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७७/७८ मा ५१.७ प्रतिशतले वृद्धि भई १ अर्ब ६ अर्ब ३७ करोड रुपैयाँ  पुगेको छ । वस्तुगत आधारमा समीक्षा वर्षमा भारततर्फ मुख्यतया सोयाविन तेल, अलैंची, जुटको बोरा, पोलिष्टर धागो, जुस लगायतका वस्तुहरूको निर्यात बढेको हो । तर चीनतर्फको निर्यात भने घटेको छ । अघिल्लो वर्ष ४३.५ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०७७/७८ मा १४.७ प्रतिशतले घटेर १ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । समीक्षा वर्षमा चीनतर्फ मुख्यतया ऊनी गलंैचा, हस्तकलाका सामान, तयारी पोशाक, प्रशोधित छाला, पश्मिना लगायतका वस्तुहरूको निर्यात बढेको हो । 

अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्ष १८.२ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०७७/७८ मा २७.७ प्रतिशतले वृद्धि भई रु. ३३ अर्ब ७४ करोड पुगेको छ । समीक्षा वर्षमा अन्य मुलुकतर्फ मुख्यतया ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, सुन चाँदीका सामान तथा गरगहना, चिया लगायतका वस्तुहरूको निर्यात बढेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष ३०.६ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३६.१ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०७७/७८ मा भारतबाट भएको वस्तु आयात ३२.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १९.९ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा भारतबाट सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एम.एस.विलेट, धान तथा चामल, पेट्रोलियम पदार्थ, विद्युत्तीय उपकरण लगायतका वस्तुको आयात बढेको छ । चीनबाट भएको वस्तु आयात अघिल्लो वर्ष ११.५ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०७७/७८ मा २८.६ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । समीक्षा वर्षमा चीनबाट दूरसञ्चारका उपकरण, मेडिकलका सामान तथा पार्टपुर्जा, औषधी, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टस् लगायतका वस्तुहरूको आयात बढेको छ । 

अन्य मुलुकबाट भएको वस्तु आयात अघिल्लो वर्ष ५.३ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०७७/७८ मा १९.६ प्रतिशतले वृद्धि भई ३ खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । समीक्षा वर्षमा अन्य मुलुकबाट कच्चा भटमासको तेल, सुन, कोइला, खाने तेल, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुहरूको आयात बढेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा १६.८ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल व्यापार घाटाको अनुपात २८.१ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३२.८ प्रतिशत रहेको छ । 

समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको व्यापार घाटा ३०.१ प्रतिशतले वृद्धि भई ८ खर्ब ६५ अर्ब २३ करोड रुपैयाँ चीनसँगको व्यापार घाटा २८.९ प्रतिशतले वृद्धि भई २ खर्ब ३२ अर्ब ९१ करोड रुपैयाँ र अन्य मुलुकसँगको व्यापार घाटा १८.७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५७ करोड पुगेको छ । कुल वस्तु व्यापार अघिल्लो वर्ष १४.६ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०७७/७८ मा २९.९ प्रतिशतले वृद्धि भई १६ खर्ब ८० अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल व्यापारको अनुपात ३३.१ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३९.४ प्रतिशत रहेको छ । 

कुल व्यापारमा भारतसँगको व्यापार अघिल्लो वर्ष १७.९ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०७७/७८ मा ३३.८ प्रतिशले वृद्धि भई १० खर्ब ७७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । चीनसँगको कुल व्यापार अघिल्लो वर्ष ११.८ प्रतिशतले घटेकोमा समीक्षा वर्षमा २८.३ प्रतिशतले वृद्धि भई २ खर्ब ३४ अर्ब ९४ करोड पुगेको छ । 

त्यसैगरी, अन्य मुलुकसँगको कुल व्यापार अघिल्लो वर्ष ६.५ प्रतिशतले घटेकोमा समीक्षा वर्षमा २०.३ प्रतिशतले वृद्धि भई ३ खर्ब ६८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्यात–आयात अनुपात ९.२ प्रतिशतमा रहेको छ । 

अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा कुल निर्यात, कुल आयात, कुल वस्तु व्यापार घाटा र कुल व्यापारमा भारतसँगको अंश क्रमशः ७५.४ प्रतिशत, ६३.१ प्रतिशत, ६१.९ प्रतिशत र ६४.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष भारतसँगको यी अंशहरू क्रमशः ७१.८ प्रतिशत, ६१.४ प्रतिशत, ६०.५ प्रतिशत र ६२.२ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस