aarthiknews.com शुक्रबार, २७ साउन २०७९   Friday, 12 August, 2022
 
British College
Blue Diamond

‘बजार घट्यो भनेर आत्तिएर नबेचौँ, शेयर किन्ने उत्तम समय यही हो ।’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
nepalmegaschool
‘बजार घट्यो भनेर आत्तिएर नबेचौँ, शेयर किन्ने उत्तम समय यही हो ।’
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा शेयर धितोमा एउटा बैंकबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो । जसको संशोधन गर्नुपर्ने भन्दै शेयर लगानीकर्ताहरूले विरोध गरे ।    

मौद्रिक नीतिको समीक्षा मार्फत यो व्यवस्थाको संशोधन गर्नुपर्ने लगानीकर्ताहरूको माग थियो । तर, राष्ट्र बैंकले यसबारे कुनै संशोधन गरेन । जसको असर आइतबार शेयर बजारमा देखिएको छ । यो व्यवस्थाको संशोधन नभएका कारण शेयर बजारमा उच्च गिरावट आएको लगानीकर्ता बताउँछन् । 

मौद्रिक नीतिमा शेयर मार्जिन लोन ४/१२ को नीति संशोधन नभएका कारण आइतबार शेयर बजारमा उच्च गिरावट आएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताए । उनले भने, ‘मौद्रिक नीतिले ल्याएको शेयर मार्जिन लोनको सीमालाई समीक्षा मार्फत संशोधन गर्नु पर्छ भन्ने हाम्रो माग थियो । तर, यो संशोधन भएन । जसका कारण लगानीकर्ताहरू आत्तिए । यसको असरले गर्दा आइतबार बजार घट्यो ।’  

तर, उनी ४/१२ को नीति अब बजारले पचाएर एउटा नयाँ गन्तव्य लिनेमा विश्वस्त छन् । उनी भन्छन्, ‘अहिले लगानीकर्ता आत्तिएकाले बजार घटेको मात्र हो । तर, अब बजार रिकभर हुन्छ । शेयर मार्जिन लोनको कुरामा अब लगानीकर्ताहरू क्लियर भए । यो विषय अब बजारले पचाएर आफ्नो नयाँ गन्तव्य लिन्छ ।’    

साथै, रौनियारका अनुसार बजार घटेको बेलामा लगानीकर्ताहरू धेरै नै आत्तिएर शेयर बेच्ने गरेका छन् । यस्तो बेला आत्तिने भन्दा पनि पैसा हुनेहरूले लगानी गर्ने हो । ‘यो समय भनेको लाभांश बोनस खाने हो । अब केही दिन बजार घट्यो भने पनि त्यसपछि बजार बढ्छ । उनले भने, ‘एक दुई दिन लगानीकर्ता डराएर बजार घट्न सक्छ । तर, केही दिनपछि बजार उकालो लाग्छ । घटेको बेलामा आत्तिने भन्दा पनि लगानी गर्ने हो ।’   

त्यस्तै, यो समय शेयर किन्ने समय रहेको समेत उनले बताए । उनले भने, ‘अन्य देशहरूको तुलनामा हाम्रोमा उल्टो नीति छ । अन्य देशहरूमा बजार रातो हुँदा किन्छन् । हरियो हुँदा बेच्छन् तर, हाम्रोमा रातोमा आत्तिएर बेच्ने अनि हरियो भयो भने किन्ने गर्छन् । यो गलत हो । अहिले बजार घटिरहेको छ । यो समय पैसा हुनेले लगानी गर्नुहोस् ।’   

 

प्रतिक्रिया दिनुहोस