१२९९ अर्बको आयात गर्दा ८७ अर्बको मात्रै निर्यात - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 
व्यापार घाटा १२ खर्बभन्दा बढी

१२९९ अर्बको आयात गर्दा ८७ अर्बको मात्रै निर्यात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ साउन २०७६
Sunrise bank
१२९९ अर्बको आयात गर्दा ८७ अर्बको मात्रै निर्यात
LBEF
NCH-IPS


काठमाडौं । नेपालको व्यापार घाटा उच्च हुँदै गएको छ । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा व्यापार घाटा १२ खर्बभन्दा बढी भएको छ । सो अवधिमा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले विस्तार भई १२ खर्ब ११ अर्ब ९६ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो ।


नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत जेठ महिनासम्म कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर १२९९ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, एमएस बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।


त्यस्तै कुल वस्तु निर्यात १८.७ प्रतिशतले वृद्धि भई रु.८७ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ३३.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ 
 

प्रतिक्रिया दिनुहोस