हिजै पाइप लाइनबाट मोतीहारी–अमलेखगन्ज पठाएकाे तेल आज आइपुग्याे - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

हिजै पाइप लाइनबाट मोतीहारी–अमलेखगन्ज पठाएकाे तेल आज आइपुग्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
Sunrise bank
हिजै पाइप लाइनबाट मोतीहारी–अमलेखगन्ज  पठाएकाे तेल  आज आइपुग्याे
LBEF
NCH-IPS

काठमाडाै । मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनबाट पाइपमार्फत पठाइएको पानी र डिजेल बिहिबार रातीनै अमलेखगन्ज आइपुग्ने भनिएपनि ढिला गरेर शुक्रबार बिहान करिब ८ः३० बजेमात्र आइपुगेको छ ।

 

पचारिक रुपमै तयारी पूरा गरेर तेल आपूर्तिलाई सहज गर्न इण्डियन आयल कर्पोरेसन(ओइसी)ले पाइपबाट पानी र तेल नेपाल पठाएपछि यसको सुरुवात भएको हो ।

बिहिबार परिक्षणात्मक रुपमा आईओसीले पाइप लाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको छ ।

निगमका अनुसार भारतको पटनाबाट बिहिबार विहान १० बजे पानी र डिजेल एकैसाथ पम्पिङ गरिएको थियो । उक्त पाइपबाट साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल पठाइएको थियो । नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आपूर्ती जारी छ ।

स्रोतका अनुसार अहिले तेल भण्डारण गरिदै छ । शुक्रबारनै तेलको परिक्षण गर्ने कार्यक्रम रहेकाले पाइपबाट तेल आउने बित्तिकै तेलको स्याम्पलिङसमेत लिइसकेको छ। यो परीक्षण सफल भएपछि उद्घाटनका लागि तयार हुने अमलेखगन्ज डिपोले बताएको छ ।

निगमका अनुसार पटनाबाट बुधबार बेलुका ६ बजे नै पठाउने तयारी भएको थियो । तर, भन्सार प्रक्रिया मिलाउँदा ढिलाइ भएको निगमले जनाएको छ । भन्सार प्रक्रिया मिलेपछि बिहीबार १० बजे नै पठाइएको हो । 

 

पेट्रोलियम पाइपलाइन परियोजनाका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार यसलाई ‘प्रि–टेस्ट’ भनिएको छ । ‘प्रि–टेस्टको क्रममा साताअघि पनि पाइप लाइनमा पानी छाडिएको थियो । अहिले पुनः पानी छाडिएको छ,’ उनले भने, ‘पटकपटकको परीक्षण सफल भएमा मात्रै पूर्ण रूपमा डिजेल आउने हो ।’ पानीपश्चात् पिग छाडिनेछ । यसमा तरलसँगै रबरका टुक्रा, इलेक्ट्रिक, म्याग्नेटिक, स्पन्ज आदिको मात्रासमेत हुनेछ । यी तत्त्वले पनि पाइपलाई भित्रैबाट सफा गर्ने काम गर्छन् । कन्ट्रोल हाउससँग पाइप लाइन कनेक्सन निर्माणको काम पनि भइरहेको छ ।

पानी र पिगबाट पाइपलाइन सफा गरिएपछि अन्तिममा डिजेल छोडिन्छ । डिजेल आउने भएपछि स्विच र भल्भहरू तयार पारेर राखिनेछ । यादवका अनुसार शुक्रबार अमलेखगन्ज पुगेपछि डिजेलमा मिसावट भए/नभएको परीक्षण गरिनेछ । सबै प्रक्रिया पूरा भएपछि उद्घाटनका लागि तयारी अवस्थामा राखिने यादवले बताए ।

निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पाइप लाइन तयारी अवस्थामा रहेको बताए । ‘हाम्रो तर्फबाट सबै प्रक्रिया पूरा भएको छ । परीक्षणस्वरूप बिहीबार डिजेल पनि पठाएका छौं,’ कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘डिजेल परीक्षणपश्चात् पूर्ण रूपमा तयार हुन्छौं ।’ उनका अनुसार सम्भव भएसम्म पाइपलाइन उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइनेछ । त्यसका लागि निगमले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको उनले बताए ।

‘पाइप लाइनको अवस्था र उद्घाटनका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेका छौं । सोहीअनुसार परराष्ट्रबाट पनि तयारी भइरहेको छ,’ पौडेलले भने, ‘साउन १५ पछि उद्घाटन गर्न तयार छौं । सम्भवतः साउनभित्रै उद्घाटन हुन्छ ।’ दशकदेखि चर्चामा रहेको पेट्रोलियम पाइप लाइन २०७२ भदौ ७ मा भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधान र नेपालका तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाबीच निर्माण गर्ने सम्झौता भएको थियो ।

त्यसलगतै तराईमा क्षेत्रमा भएको राजनीतिक आन्दोलन र भारतको नाकाबन्दीले पाइप लाइन निर्माण प्रभावित भएको थियो । निगमका अनुसार २०७४ पुसमा आईओसीले महोत्तरी डिपोबाट सुरु गरेको थियो । त्यसपश्चात नेपालतर्फ पनि निर्माण सुरु गर्न आईओसी र निगमका टोलीबीच तीव्र छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग पुनः समयमै निर्माण सम्पन्न गर्ने सहमतिस्वरूप मिलेरै शिलान्यास गरेका थिए । त्यसपश्चात् पाइप लाइन निर्माण प्रक्रियाले गति लिएको हो । निगमका अनुसार पाइप लाइनबाट आउने तेल भण्डारण गर्न अमलेखगन्जस्थित आयल निगम डिपोमा स्टोरेज ट्यांक निर्माण गरिँदै छ ।

कुल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिने ट्यांक निर्माण भइरहेको छ । ४ ट्यांकमध्ये ४ हजार १ सय किलो लिटर क्षमताका २ वटा ट्यांक निर्माण भइसकेका छन् । ३ हजार ९ सय किलोलिटर क्षमतामा २ वटा ट्यांकमध्ये एउटा तयार भइसकेको छ । अर्को पनि निर्माणको अन्तिम चरणमा रहेकाले दुई–तीन दिनभित्रै तयार भइसक्छ ।

पाइपलाइनअन्तर्गत सिमरादेखि अमलेखगन्जसम्म पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा पाइप ओछ्याउने काम सम्पन्न भएपछि परियोजनाको कामले तीव्रता लिएको हो । निकुञ्ज क्षेत्रमा पाइपलाइनको बाटोमा परेका रुख मन्त्रिपरिषद्को निर्णयपछि टिम्बर कर्पोरेसन अफ नेपालले काटेको थियो । परियोजनाको ९ किमि पाइप लाइन त्यस क्षेत्रमा पर्छ ।

यो परियोजनाअन्तर्गत २०७४ फागुन २५ देखि पाइप लाइन ओछ्याउने काम सुरु गरिएको थियो । पाइप लाइनको अधिकांश भाग हाल निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्गमा परेको छ । हाल उक्त मार्ग ६ लेनमा विस्तार हुँदै छ । ६ लेन सडकमुनि परियोजनाको पाइप पुरिएको छ । पाइप जमिनमुनि अढाइ मिटर भित्र गाडिएको छ ।

प्रतिक्रिया दिनुहोस