शीर्षकहरू

गण्डकी प्रदेश सरकारका सबैभन्दा गरिब मन्त्री चन्द्रबहादुर बुढा

गण्डकी प्रदेश सरकारका सबैभन्दा गरिब मन्त्री चन्द्रबहादुर बुढा

काठमाडौं । गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा गरिब मन्त्रीमा परेका छन् । सोमबार बुझाएको सम्पत्ति विवरणमा गण्डकी प्रदेशका मन्त्रीहरुमध्ये गरीब देखिएका हुन ।

उनले पेश गरेको सम्पत्ति विवरणमा सहकारीमा १० हजार रुपैयाँ वचत रहेको खुलाएका छन । बागलुङ ताराखोला गाउँपालिका वडा नम्बर ५ घर भएका बुढाले सगोलमा जग्गा भएको उल्लेख गरेका छन्  । कृषिमन्त्री बुढाले आफ्नो नाममा कुनै घर र जग्गा नरहेको र एभरेस्ट बैंकमा खाता रहेको तर उक्त खातामा कति पैसा भन्ने कुरा भने खुलाएका छैनन ।

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको सम्पत्ति विवरणमा १ किलो १९ तोला सुन, ७ किलोभन्दा बढी चाँदी रहेको विवरण पेश गरेका छन् । त्यस्तै, पर्यटन मन्त्री मणिभद्र शर्माले विभिन्न ठाउँ ठाउँमा जग्गा, २५ तोला सुन, १ किलोभन्दा बढी चाँदी र लाखौं रुपैयाँ बैंक मौज्दातसहितको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

गण्डकीका ११ मन्त्रीमध्ये १० जना मन्त्रीको सम्पति विवरण सार्वजनिक भइसकेको छ  । सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेश सभा मन्त्री विन्दुकमार थापा देखिएका छन् । 

थापाको आफ्नो र श्रीमतीका नाममा मल तथा होटल रहेका ६ वटा घर रहेको विवरण पेश गरेका थिए । पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले आफ्नो सम्पत्ति विवरणमा राखेका छन् । 

 त्यस्तै ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा पनि उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । डेढ दर्जन बैंक तथा वित्तीय संस्थामा थापा र परिवारका सदस्यको नाममा शेयर रहेको पनि विवरणमा पेश गरेका थिए । थापासँग १ करोड २० लाख र १ करोड ५ लाख पर्ने दुईवटा गाडी छ भने रोलेक्स र कार्टियर घडी ३ थान छ ।