aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

पुल मर्मत भएपछि फिदिम–यासोक सडक सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
पुल मर्मत भएपछि फिदिम–यासोक सडक सञ्चालनमा
Global IME
LBF

पाँचथर । बाढीले निबुखोलास्थित पुलमा क्षति पुर्याएपछि अवरुद्ध बनेको फिदिम–यासोक सडक बुधबारदेखि सञ्चालनमा आएको छ । तमोर कोरिडोरमा पर्ने पुल तीन दिन लगाएर पुष्पलाल लोकमार्ग आयोजना कार्यालय, फिदिमले मर्मत गरेपछि यातायात सञ्चालनमा आएको हो । उक्त पुल फिदिम नगरपालिका–४ र कुम्मायक गाउँपालिका–४ को सीमा निबुखोलामा रहेको छ ।

यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले उक्त पुलमा क्षति पुर्याएको थियो । पुलको मूल संरचनामा क्षति नभएको तर जमिनतर्फको भाग बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । बाढीले बगाएको भाग ढुङ्गा र माटो हालेर तत्कालका लागि यातायात सेवा सञ्चालन गरिएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । 

कुम्मायक र तुम्बेवा गाउँपालिकासहित फाल्गुनन्द गाउँपालिकाका केही वडालाई सदरमुकामसम्म जोड्ने उक्त पुलमा क्षति हुँदा एक सातासम्म आवतजावत ठप्प भएको थियो । फिदिम–यासोक सडक सञ्चालनमा आए पनि उत्तरे–यासोक सडक तथा यासोक–मुलघाट सडक  सञ्चालनमा आउन सकेको छैन ।

वर्षाका कारण जिल्लाका अधिकांश सडकमा क्षति पुगेको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरा गएको छ । पहिराले अवरुद्ध मेची राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा ल्याइएको छ । जिल्लामा बाढी र पहिराबाट ३१ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता छन् । बाढी र पहिराले भौतिक संरचना, कृषि उपजलगायतमा क्षति पुगेको छ । आठवटै स्थानीय तहमार्फत बाढी र पहिराबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस