काठमाडौं । सरकारले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा रित्त रहेको अध्यक्ष नियुक्ती प्रकृया अघि बढाएको छ । सरकारले खुल्ला प्रतिस्पर्धामार्फत बोर्डको अध्यक्ष नियुक्त गर्ने तयारी गरेको हो ।
नेपाल सरकार अर्थमन्त्रालयले बिहीवार पदपूर्तिका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो । इच्छुक नेपाली नागरिकहरुले कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोर्डको अध्यक्ष पदका लागि आवेदकको योग्यता धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास विकास, आर्थिक , वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा सात वर्षको पेशागत अनुभव हासिल गरेको हुनुपर्ने अर्थमन्त्रालयले भनेको छ ।
साथै धितोपत्र सम्बन्धी ऐन , २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र तीस वर्षपुरा भई साठी वर्ष उमेर ननाघेको हुनुपर्नेछ । सरकारले यस अघिका बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई बुक विल्डिङ्ग बिधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानुनी रुपमा खरिद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो ।
तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साल पुसमा ढुंगानालाई चार वर्षको लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । अध्यक्षमा नियुक्त भएको दुई वर्ष पनि नवित्दै ढुंगाना पदबाट मुक्त भएका हुन । सरकारले ढुङ्गानालाई बर्खास्त गरेपछि बाँकी कार्यकालका लागि नयाँ अध्यक्ष नियुक्ती गर्ने प्रकृया अघि बढाएको हो ।
आर्थिकन्यूज
प्रतिक्रिया