
काठमाडौं । दुई वर्ष अघि नेपालको निर्यातमा आशलाग्दो बृद्धि शुरु हुँदा तयसबारे टिप्पणी गर्दै तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए, ‘धेरै उत्साहित हुनुपर्ने कुरा छैन । यो पाम आयलले बनाएको फोको हो । कुनै पनि बेला फुट्न सक्छ ।’
हुन पनि जब नेपालबाट पाम, भटमास र सुर्यमुखी तेलको निर्यात बढ्यो तब नेपालको निर्यातमा उत्साहजनक छलाङ मारेको देखिन थाल्यो । भारतले अन्य मुलुकहरुबाट आयात गर्ने भन्दा नेपालबाट यी वस्तुहरु आयात गर्दा कम भन्सार लाग्ने भएपछि विदेशबाट कच्च तेल ल्याई नेपालमा प्रशोधन गरेर निर्यात गर्ने काम भइरहेको थियो । जसले गर्दा नेपालको निर्यातमा उल्लेखनिय बृद्धि भएको सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको रिपोर्टमा समेत देखिएको छ ।
चालू आर्थिक वर्षका सुरुवाती दुई महिनामा नेपालबाट कूल ४४ अर्ब ३४ करोड रुपैयाँको वस्तु निर्यात हुादा भटमास र पाम तेलको निर्यात मात्र २३ अर्ब ९८ करोड रुपैयाँको भएको छ । यसरी कूल निर्यातको ५४.४६ प्रतिशत हिस्सा भटमासको तेल र पाम तेलले ओगट्दा निर्यात ११५.४ प्रतिशतले अघिल्लो वर्षको तुलनामा बढेको देखियो । यसक्रममा १६ अर्ब ४८ करोड १५ लाखको भटमासको तेल र ७ अर्ब ५० करोड ६१ लाखको पाम तेल निर्यात भएको छ ।
तर, अब नेपालबाट यो परिमाणमा यी तेलहरु निर्यात नहुने निश्चित भएको छ । किनकी भारत सरकारले यस प्रकारका खाने तेलहरुमा अन्य मुलुकबाट आयात गर्दा लगाउँदै आएको भन्सारदरमा समेत १२ दिन अघि मात्र अर्थात अक्टोबर १४ तारिकका दिनदेखि भारी कटौती गरेको छ । यसो हुँदा नेपालले लिदै आएको यो लाभ अब उपभोग गर्न सक्ने अवस्था छैन । किनकी ३१ मार्च २०२२ सम्मको लागि तोकेरै भारतले पाम, भटमास र सुर्यमुखी तेलको कच्चा पदार्थमा क्रमशः ८.२, ५.५ र ५.५ प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था गरेको छ । जसबाट भारतमा खाने तेलको मूल्यमा प्रतिलिटर १० देखि १५ लिटर भारु सस्तो हुने भएपछि नेपालबाट उनीहरुले आयात नगर्ने निश्चित छ ।
त्यसैगरि, तयारी तेलमा समेत ३२.५ प्रतिशतको दरले लाग्दै आएको भन्सारदरदाई घटाएर भारत सरकारले १७.५ प्रतिशतमा झारेको छ । यो भनेको नेपालबाट निर्यात हुँदै आएको सहज निर्यातलाई प्रत्यक्षरुपमा असर गर्ने दर हो । अब भारतिय उद्योगहरुले नै ठुलो मात्रामा कच्चा पदार्थ आयात गरेर तेल प्रशोधन गर्ने र तयारी तेल नै पनि व्यापारीहरुले सुलभ भन्सारदरमा आयात गर्ने सुविधा प्राप्त गरेका छन् । जसका कारण नेपालका प्रशोधन उद्योगहरु चाँडै संकटमा पर्दैछन् भने नेपालको निर्यातको आकार तथा बृद्धिदर पनि उल्लेखनिय मात्रामा संकुचित बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस