aarthiknews.com विहीबार, २३ मंसिर २०७८   Thursday, 09 December, 2021
 
Esewa_Remit
British College
टिप्पणी

प्रचण्ड, जिपलाइन र बाढी पसेको धान खेत

  • सीताराम  भट्टराई
    सीताराम भट्टराई
  • शनिबार, ०६ कार्तिक २०७८
nabil bank
प्रचण्ड, जिपलाइन र बाढी पसेको धान खेत
photo from onlinekhbar.com
Global IME
yamaha_MAW
LBF

काठमाडौँ। नेपालीमा एउटा भनाई छ -जन्तीमा शङ्ख फुकेको र मलामीमा पन्चेबाजा बजाएको सुहाउँदैन। सामान्य विवेक भएका मानिसहरू यसलाई स्वीकार गर्छन् र त्यसो गर्दैनन्। तर, बुद्धि र विवेकमा बिर्को लागेकाहरू यस्ता कुरालाई मतलब गर्दैनन्। अहिले त्यस्तै पात्रका रूपमा फेरी चर्चामा आएका छन्, एकीकृत माओवादी पार्टीका अध्यक्ष पुष्प कमल दाहाल उर्फ प्रचण्ड। 

बेमौसमी बर्सातका कारण थन्काउने बेला भएको धान बाली नष्ट हुँदा मुलुकभरका किसान अकल्पनीय पिंडामा छन्। समग्र धान बलिको २० प्रतिशत भन्दा क्षति हुँदा त्यसले नेपालको कुल ग्राहस्थ उत्पादनमा नै २ प्रतिशत भन्दा बढीको सङ्कुचन ल्याउने चिन्ता अर्थशास्त्रीहरू गरिरहेका छन्। हजारौँ घरबार विहीन भएका छन्। अकस्मात् आएको बाढी र पहिरोमा परेर सवा सय भन्दा बढीको ज्यान गएको छ। हजारौँ हेक्टर जमिन बाढीले बगाएको छ।  देशभर ठुलो मात्रामा भौतिक पूर्वाधारहरूमा क्षति पुगेको छ। 

बाढी पिंडीतहरु केही दिनदेखि भोकै छन्। घर भत्कँदा र बगाउँदा बासको ठेगान नभएका सयौँ बाल बालिका तथा महिलाहरू मानवीय सहायताको प्रतीक्षामा छन्। समग्रमा मुलुक ठुलो पिंडामा छ। आम नेपालीहरू दुखी छन् र कसरी एक अर्कालाई यो विपद्को बेला साथ दिन सकिन्छ भनेर प्रयत्नशील छन्। सक्नेले आर्थिक, भौतिक सहयोग गरिरहेका छन्।  नसक्नेले प्रार्थना गर्दै सहायताको अपिल गरिरहेका छन्। 

तर, आफूलाई पुर्णरुपमा यान्त्रिकीकरण गरिसकेका प्रचण्ड भने यो बेला परिवार र आसेपासेको जत्था लिएर 'जिपलाईनमा सरर' को आनन्द लिइरहेका छन्। यहाँ उल्लेख नगरेपनि हुन्थ्यो तर स्मरण गर्नै पर्छ कि प्रचण्ड वर्तमान नेपालका ती पात्र हुन् जसले चाहने हो भने राज्यले उल्लेखित सबैका दुख मेट्न सक्छ, आँसु पुछ्न सक्छ। उनले अगाडी सारेका हरेक प्रस्ताव हुबहु पारित र कार्यान्वयन गर्न अहिलेको क्याबिनेट बाध्य छ।  सत्ता समीकरणको साँचो हातमा भएका प्रचण्डको इसारामा नाच्नै पर्ने बाध्यतामा प्रधानमन्त्री शेर बहादुर देउवा छन्। 

विडम्बना नै भन्नुपर्छ, यी यावत् कुराको प्रचण्डलाई कुनै हेक्का छैन। उनी आधुनिक नेपालका निरो हुन्- जसले केवल आफू र आफ्नाको सुख, आनन्द र ऐस आरामलाई मात्र केन्द्रमा राख्ने गर्छन्। त्यसैले उनी जिपलाइनको शयरपछि शुक्रवार प्रतिक्रिया दिँदै थिए- साहसिक गतिविधिमा मलाई रुचि लाग्छ, निक्कै मज्जा लिएँ। 

प्रचण्डको हर्कतमा हामी कति जिम्मेवार ?

गएको फाल्गुन अन्तिममा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेता बिग्रनुमा कहींकतै जनता पनि दोषी भएको दाबी गरेका थिए । लु सुनलाई उद्धृत गर्दै उनले कर्मशील नेपालीलाई आरोप लगाए, ‘जनता नै खराब भएकाले नेताहरू खराब भएका हुन्, तपाईँहरू असल हुनुहोस् त नेता त्यत्तिकै असल हुन्छन्। तपाईँहरू नै कामचोर, अल्छी, अलि लोभी अनि पापी धेरै हुनु भयो र नेताहरू पनि त्यस्तै भए।'

तर, हामीले उनको त्यो आरोपलाई गम्भीरतापूर्वक लिएनौँ। उनले पटक पटक सार्वजनिक रूपमा आफू अत्यन्तै संवेदनशील व्यक्ति रहेको दाबी गरे, हामीले पत्यायौ। उनले बेला बेला आशु झरेर नाटक समेत गर्ने गरेका छन्, भावुक भएको अभिनय समेत गर्छन्।  हामी त्यसलाई सत्य ठान्छौँ। त्यसैले प्रचण्डमा देखिएको यो अमानवीय हर्कतको जिम्मेवार उनलाई भने झैँ कहींकतै हामी आम नागरिक (उनको शब्दमा जनता) पनि हौँ। 

यस्तो टिप्पणी किन पनि गरिएको हो भने प्रचण्डले जिपलाईनको आनन्द लिएको तस्बिर र समाचार प्राप्त भएपछि यसै अनलाईनमा एक समाचार प्रकाशित गरियो, देशभरिका किसान रोइरहँदा प्रचण्ड भने मस्तीमा शीर्षक सहित।  उनले जुन बेला जे गरे त्यो समय उचित थिएन भन्ने आशय र खबरदारी मात्र थियो त्यो। तर, आर्थिक न्युजको आधिकारिक फेसबुक पेजमा केही पाठकहरूको यस्ता प्रतिक्रिया आए- गु खा पत्रुकार, अब के रोएर बस्ने त // रमाइलो नि गर्न नदिने.. लाग्छ पानी प्रचण्डले नै पारिदिए जस्तो, पर्सनल लाइफ हो उसको पनि इत्यादि। 

हो, हामी यसरी नै गलत कामको रक्षा गर्छौँ त्यसैले त प्रचण्ड जस्ताले अनेक हर्कत गरेर राज्य शक्ति हातमा लिन्छन् र मस्ती गर्छन् अनि जनता पिंडामा रहेका बेला त्यो पिंडाको उपहास गरिरहन्छन्। उनको यस्तो अस्वाभाविक हर्कत पहिलो होइन त्यसैले क्षम्य हुन सक्दैन। कोरोना महामारी नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनका कारण  लाखौँ मजदुर, किसान र सर्वहारा वर्ग भोकै बस्न बाध्य बनेको बेला उनी मासु भुटेको तस्बिर सार्वजनिक गर्दै थिए। तर, त्यो विषय पनि हल्का बन्यो जसरी अहिले जिपलाइन प्रकरणलाई सामान्य रूपमा लिंइदैछ। 

के गर्छन् अरूतिरका नेताले ?

जापानको ओकोयामामा सन् २०१८ को जुलाईमा ठुलो बाढी आयो। त्यसमा परेर १७६ जना जापानीले ज्यान गुमाए। त्यहाँका तत्कालीन प्रधानमन्त्री सेन्जो आवे बाढीले क्षति पुर्‍याएको क्षेत्रमा गई पिंडीतहरुको सामुन्ने घुँडा टेकेर कुर्सीमा बसेका एक वृद्धबाट समस्या र क्षतिबारे जानकारी लिँदै राहतको लागि प्रतिबद्धता जनाइरहेको तस्बिर त्यो बेला निकै प्रशंसनीय थियो। 

जापानी प्रधानमन्त्री आवे त्यो बेला माउन्ट फुजीको बेस क्याममा स्काई डाइभिङको 'साहसिक गतिविधि'को मज्जा लिन वा शेरिंने आइल्याण्डमा सनबाथको आनन्द लिँदै रिफ्रेस हुन गएनन् । घुँडा टेकी निहुँरीएर जनताको पिडामा साथ दिए । उल्लेख गर्ने हो भने संसारभरका धेरै नेताले जनतालाई समस्या पर्दा त्यसलाई आफैले अनुभूत गरेका र आत्मसाथ गर्दै उनीहरूको सेवामा जुटेका सयौँ उदाहरण छन्।  ती सबै यहाँ प्रस्तुत गरेर यो टिप्पणीलाई भद्दा नपरौँ। 

बरु, नेपाल मै त्यो पनि पंचायतीकालमा फुटबल हेरिरहेका हावा-हुण्डरी आउँदा दर्शकहरूको भाग दौड मच्चिएको र सो बेला दशरथ रङ्गशालामा मानिसहरूको ज्यान गएको घटनापछि पञ्चायती मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएको इतिहास छ। बरु एक जना पूर्व प्रदेश प्रमुखले किसानको धान खेतमा गएर अन्नदाताहरू माथि आइलागेको सङ्कटमा साथ दिऊँ भन्दै अपिल गरेको भिडियो सार्वजनिक भयो। कम्तीमा उनले जे सक्थे त्यो गरे। प्रश्न के हो भने जसको एक इसारामा आफ्नो ज्यान दिन तयार बनेका नेपाली जनताको दुखले प्रचण्डलाई किन पिरोलेन ? के उनी यति गैर जिम्मेवार बन्न मिल्छ ? 

प्रतिक्रिया दिनुहोस