aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

शेयर बजारमा देखियो ब्याजदरको बाछिटा, बैंकको मनोमानीमा राष्ट्र बैङ्क रमिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ कार्तिक २०७८
Citizen life
nabil bank
शेयर बजारमा देखियो ब्याजदरको बाछिटा, बैंकको मनोमानीमा राष्ट्र बैङ्क रमिते
Global IME
yamaha_MAW
LBF

काठमाडौं। अन्ततः बैंकहरुले ब्याजदरमा उल्लेख्य वृद्धि गरे। जसको प्रभाव पुँजी बजारमा देखिएको छ भने समग्र आर्थिक गतिविधिमा बिस्तारै देखिँदै जाने छ। दसैँ बिदा सकिए लगत्तै बैंकहरुले ब्याजदरमा वृद्धि गर्दा साताको पहिलो कारोबारमा देखिएको झिनो उत्साह शेयर बजारले सोमबार नराम्ररी गुमायो। उता व्यापारीहरू समेत अब लगानी र कारोबारमा ठुलो सकस देखा पर्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्। 

पुँजी बजारका साना लगानीकर्ताको सकस झन् ठुलो छ।  यो बेला धेरै कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन्।  त्यसैले अहिले नै शेयर बिक्री गरेर त्यो गुमाउन उनीहरू चाहँदैनन्। तर, बैंकले ब्याजदर बढाएसँगै चर्को ब्याज धान्ने अवस्था समेत छैन। त्यसैले बैंकहरूले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो । 

यसरी नेपालको सेयर बजारलाई कहिले मौद्रिक नीतिमा आएको परिवर्तन, बैंकको कर्जामा लागेको सीमा र अहिले ब्याजदरको वृद्धिले निकै ठुलो समस्यामा पारेको छ। ठुला लगानीकर्ता बजारलाई सम्हाल्ने भन्दा पनि साना लगानीकर्तालाई प्यानिक बनाएर लाभांश खाने दाउमा रहेकाले समेत शेयर बजार अझै तल झर्न सक्ने अनुमान बजारका जानकारहरू गरिरहेका छन्। 

बैंकिंग क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले ब्याजदरको मामिलामा खास के गर्ने भन्ने खुट्याउन नसक्दा समेत यस्तो अवस्था आएको बताइन्छ।  ब्याज बढाउन नदिने हो भने बैंकहरुको आक्रामक लगानी नरोकिने देखियो भने त्यसले वृद्धि गरेको आयातले शोधान्तर स्थिति नै डरलाग्दो गरी नकारात्मक बन्यो। त्यसलाई नियन्त्रण गर्न बैंकलाई ब्याज बढाउन दिनुको विकल्प राष्ट्र बैंकसँग नै थिएन। फलतः बैंकले एक महिनामै मुद्दतीको ब्याज दर ३.१७ प्रतिशत बिन्दुले वृद्धि गरे ११.६७ प्रतिशत पुर्‍याएका छन्। 

कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा-निक्षेप अनुपात (सीडी) लागू गर्नुलाई बैंकहरुले ब्याज बढाउनुको मुख्य कारक भन्दै आएका छन्। तर, उनीहरूले आफूहरूले गरेको आक्रामक लगानी यो अवस्थाको लागि जिम्मेवार छ भन्ने स्विकार्नु पर्ने देखिन्छ। स्वाभाविक रूपमा सीडी रेसियो थोरै जिम्मेवार भने छ किनकि नयाँ नियम अनुसार ऋण बढाउन निक्षेप वृद्धि गर्नै पर्ने हुन्छ।

यो बेला नयाँ निक्षेप खासै बढ्न सकेको छैन। तर, बैंकहरुको लगानी भने निकै ठुलो छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले करिब २ खर्ब ६२ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । सोही अवधिमा ती बैंकको कुल निक्षेप सङ्कलन करिब ५४ अर्ब रुपैयाँ मात्र छ । यसरी हेर्दा बैंकले गरेको अस्वाभाविक कर्जा प्रवाह नै तरलता अभाव देखि अहिले ब्याजदर वृद्धिको मूल कारक हो। 

सरकारी खर्च बढ्ला भन्ने अनुमानको आधारमा बैंकहरु जसरी खुलेर लगानी गर्न तर्फ लागे त्यो अनुमान समेत गलत ठहरियो। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असोज मसान्तसम्म वार्षिक विनियोजित बजेटको १४ दशमलव २३ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट विनियोजन भएकोमा पहिलो त्रैमाससम्म २ खर्ब ३४ अर्ब ५२ करोड रुपैयाँ बराबर बजेट खर्च भएको देखिन्छ । यसमध्ये चालुतर्फ १ खर्ब ८६ अर्ब ५२ करोड अर्थात् विनियोजित बजेटको १८ दशमलव ५७ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ भने ३ दशमलव ४२ प्रतिशत अर्थात् १४ अर्ब ८८ करोड रुपैयाँ मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ४ खर्ब ३५ अर्ब २४ लाख रुपैयाँ छुटाएको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ३३ अर्ब ११ करोड अर्थात् वार्षिक लक्ष्यको १९.९२ प्रतिशत बजेट खर्च भएको छ । 

अहिले अवस्था यस्तो बनेको छ कि वाणिज्य बैंकहरुले मनोमानी  ढगले इमान छाडेर ब्याजदर बढाएका छन्। त्यसलाई रोक्न सक्ने नैतिक बल राष्ट्र बैंकसँग छैन।  यदि रोक्ने हो भने फेरी आक्रामक लगानीमा बैंकहरु लाग्ने र त्यसको कारण आयात बढ्दा शोधान्तर घाटा अत्यधिक बढ्ने निश्चित छ। ब्याजदर बढाउन दिँदा आर्थिक गतिविधिमा सुस्तता आउने कुरालाई स्विकारेर रमिता हेर्नु बाहेक राष्ट्र बैंकसँग समेत अरू विकल्प नरहेको जानकारहरू बताउँछन्।  

प्रतिक्रिया दिनुहोस