aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

बाढी–पहिरोका कारण अवरुद्ध १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आएनन्

  • रासस
    रासस
  • सोमबार, ०१ कार्तिक २०७८
Citizen life
nabil bank
बाढी–पहिरोका कारण अवरुद्ध १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आएनन्
Global IME
yamaha_MAW
LBF

काठमाडौं । वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ । 

सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकतर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार हतारमा एकातर्फ खुलाइएको सडकमा दुवैतर्फ खुलाउने र आवश्यक स्थानमा मर्मत र कालोपत्रेको काम अब गरिनेछ ।

अहिले एकातर्फबाट मात्रै सञ्चालनमा रहेका सडकमा ‘स्पेसिफिक’ काम गर्नुपर्ने भएकाले त्यो काम ठेक्का लगाएर सम्बन्धित डिभिजन सडक कार्यालयले गर्ने विभागले जनाएको छ । विभागलाई सडक पूरै अवरुद्ध हुँदा एकतर्फी खोल्न चाप हुने तर एकातर्फ खुलेपछि पैदल यात्रु र सवारीसाधन आवत जावत गर्न सक्ने भएकाले फुर्सदमा गर्न सकिने सम्भार महाशाखाका प्रमुखसमेत रहेका अधिकारीले बताए । उनले भने, “यी काम हामीले वर्षा सकिएपछि नै गर्दै आएका छौँ ।”

विगतका वर्षभन्दा यो वर्ष वर्षाका कारण धेरै सडक बिग्रिएका थिए । यो वर्ष लामो समय भारी वर्षाका कारण सडकमा बढी क्षति पुगेको हो । क्षति पुगेकामध्ये अहिले कुनै पनि सडक ठप्प नै नरहेको विभागले जनाएको छ । असारदेखि नै अवरुद्ध रहेको लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक केही दिन पहिलेदेखि सञ्चालनमा छ । यो वर्ष बेँसीशहर–चामे, अरनिको राजमार्ग, गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी सडकमा बढी क्षति पुगेको थियो । 

यो वर्ष वर्षाका कारण २२६ सडक अवरुद्ध भएका थिए । तीमध्ये अहिले ९५ सडक दुवैतर्फ र १३१ सडक एकातर्फबाट सञ्चालनमा छन् । 
 

प्रतिक्रिया दिनुहोस