aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सुदूरपश्चिमका किसानलाई खेतबारीमै दसैं

  • रासस
    रासस
  • शुक्रबार, २९ असोज २०७८
Citizen life
nabil bank
सुदूरपश्चिमका किसानलाई खेतबारीमै दसैं
Global IME
yamaha_MAW
LBF

बैतडी ।   धान भित्र्याउने समयमै दसैं सुरु भएपछि सुदूरपश्चिमका किसान खेतबारीमै व्यस्त छन् । धान, मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि किसान खेतबारीमा नै व्यस्त हुनुपरेको स्थानीयवासीको भनाइ छ ।  

    वर्षदिनमा एकपटक मात्रै आउने दसैं मनाउन घर फर्किएकाले आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशका किसानलाई भने दसैं लागेको अनुभूति हुन सकेको छैन् ।  बडादसैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यतिबेला यहाँका किसान खेतबारीमै देखिन्छन् । बर्खेबाली भित्र्याउन चटारो भएकाले यस प्रदेशका किसान अहिले खेतबारी मै व्यस्त देखिन्छन् ।  

    बिहान सबेरै खेतबारी तथा खरफागला पुग्ने यहाँका किसान साँझ अबेर मात्रै घर पुग्ने गर्दछन् ।  दसैंभन्दा पनि यहाँका किसानलाई बर्खेबाली भित्र्याउन तथा खर काट्नमै व्यस्त रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरीले बताए ।  “मकै र धानबाली भित्रयाइएको छ, आजभोलि भटमास, सोइटालगायत दलहन बाली भित्र्याउन लागिएको छ”, उनले भने , “महिला भने खर काट्नमै व्यस्त छन् । ”

    कैलाली र कञ्चनपुरका किसानलाई पनि आजभोलि धान भित्र्याउनमै दिन जाने गरेको छ । दसैंभन्दा पनि उनीहरुलाई बालीनाली भित्र्याउनमै  दिन जान गरेको छ ।  उनीहरुका लागि खेतमै दसैं छ ।  लगातारको वर्षाका कारण यसअघि पाकेको धान भित्र्याउन नपाएकाले हालसम्म मौसमले साथ दिएको कञ्चनपुर वेदकोटका किसान मोहन विष्टले जानकारी दिए  । 

    “मेहनत गरेर पलाएको धानबाली भित्र्याउन नपाउने भन्ने चिन्ता थियो, मौसमले आजभोलि साथ दिएको छ”, उनले भने , “दसैंभन्दा पनि किसानका लागि खेतमा लगाएको बाली भित्र्याउने मुख्य प्राथमिकता छ ।” वर्षदिनमा एकपटक आउने चाडमा रमाइलो गरि मनाउन रहर भएर पनि फुर्सद नपाउँदा खेतमै अधिकांश समय जाने गरेको किसानको भनाइ छ ।  

    यो समय यहाँका किसान बढी व्यस्त हुने भएकाले दसैं खासै मनाउन पाउँदैनन् । बर्खेबाली भित्र्याउने र हिउँदे बाली छर्ने समय रहेकाले यहाँका किसानलाई दसैंतिहार मनाउनभन्दा पनि खेतबारीमै बढी व्यस्त हुन्छन् ।  सुदूरपहाडका महिलाहरु भने यो समय बढीजसो खरफागला काट्नमै व्यस्त हुने गरेका बैतडीका केशरी भट्टले बताए । उनले भने , “यो समय भनेको कामको चटारो हुने हो, महिला भने बिहान उज्यालो नहुँदै खरफागला पुन्ने गर्छन, राति अबेर मात्रै घर पुग्छन् ।” त्यसैले होला, दिनभरि काममा व्यस्त हुने किसानलाई दसैंले छोएको छैन् । उनले भने , “खाना खाने फुर्सद समेत नहुने किसानलाई दसैंको रमाइलोबारे थाहा नै हुँदैन, दसैंभन्दा पनि काम सक्यान मै ध्यान बढी हुन्छ, त्यसमै सन्तुष्ट हुनुपर्छ ।  ”

    तराईका किसानको मुख्य आम्दानीका स्रोतका रूपमा धानबाली रहेकाले दसैं मनाउनेभन्दा पनि धेरै समय खेतमै हुन्छ । यो प्रदेशअन्तर्गत तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ । 

    सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी तराईको जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ । 

    यस्तै पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धान खेती हुने गरेको छ । यो प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन हुन्छ । 

प्रतिक्रिया दिनुहोस