aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike
बहस

प्रसङ्ग एयर इन्डिया र टाटाको, सन्दर्भ नेवानि र घाटाको

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ असोज २०७८
Citizen life
nabil bank
प्रसङ्ग एयर इन्डिया र टाटाको, सन्दर्भ नेवानि र घाटाको
Global IME
LBEF
yamaha_MAW
  • केदार सिटौला 

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रियाको विरोधमा त्यहाँका कर्मचारीले विगत ४ महिनाभन्दा बढी समयदेखि सञ्चालन गरेको आन्दोलन अझै जारी छ। त्यो सँगै एउटा बहस पनि फेरी सुरु भएको छ- यस्ता संस्थानको निजीकरण सही वा गलत ? उता छिमेकी मुलुक भारतमा भर्खरै भारतीय बायु सेवा कम्पनी एयर इन्डियालाई टाटा समूहले खरिद गर्‍यो। यो खरिद बिक्री पछि फेरी यति बेला सरकारी सेवाको औचित्यहीनता र निजी क्षेत्रको गुणगान सुरु भएको छ। यो टिप्पणीमा एयर इन्डियाको खरिद बिक्री र टाटा समुहको  बारेमा रहेका केही भ्रम र यथार्थका बारेमा चर्चा गरिनेछ। 

अहिले यता कोही नेपाल वायुसेवा निगमलाई निजीकरण गर्दा आकाश खस्दैन भन्दै छन् त कोही यसलाई क्रोनर क्यापिटालिज्म’को नग्न रूप भनिरहेका छन्। जे होस्, यहाँ  एक सामयिक दृष्टान्तको रूपमा गरिएको छिमेकी मुलुक भारतमा भएको यस्तै एक निजीकरणको पृष्ठभूमि र परिणामबारेको विमर्श महत्त्वपूर्ण हुनसक्छ।  

एयर इन्डिया र टाटाको सम्बन्ध  

आज भन्दा ८९ बर्ष एयर इन्डियालाई टाटा समुहले स्थापना गरेको थियो। यसको स्थापना र सञ्चालन टाटा समुहका जेआरडी टाटा आफैले गरेका थिए। जेआरडी टाटा आफै पनि तालिम प्राप्त पाइलट थिए। उनलाई प्लेन उडाउने ठुलो सोख थियो। जेआरडी टाटा आफैले पनि एयर इन्डियाको प्लेन उडाउने गर्थे। सुरुमा डाक सेवा र कार्गो ढुवानी क्षेत्रमा लागेको एयर इन्डियाले निक्कै पछि मात्र यात्रुवाहक सेवा सुरु गरेको थियो। 

भारत स्वतन्त्र भएपछि एयर इन्डियाले अन्तर्राष्ट्रिय सेवा सुरु गर्‍यो। यसका लागि भारत सरकारको ४९ प्रतिशत र टाटा समूहको २५ प्रतिशत र बाँकी अन्यको सेयर रहने गरी कम्पनी बन्यो। त्यसको ५ वर्षपछि भारत सरकारले एयर इन्डियालाई राष्ट्रियकरण गर्ने निर्णय गर्‍यो। आज भन्दा ६८ वर्ष अगाडी सन् १९५३ मा टाटा समुहले सञ्चालन गरेको बायु सेवा कम्पनी एयर इन्डियालाई नेहरु नेतृत्वको भारत सरकारले राष्ट्रियकरण गरेको थियो। 

त्यस क्रममा भारत सरकारले २ करोड ८० लाख भारु तिरेको थियो। एयर इन्डियालाई राष्ट्रियकरण गरिए छि पनि अरू २८ वर्ष सम्म जेआरडी सो संस्थाको अध्यक्षको रूपमा काम गरे। तर, सो काम बापत उनले एक रुपैयाँ पनि तलब लिएनन्। इन्दिरा गान्धी सत्ताबाट हटेपछि प्रधानमन्त्री मोरारजी देशाईले जेआरडीलाई एयर इन्डियाको अध्यक्ष पदबाट हटाए।  पछि फेरी १९८० मा इन्दिरा गान्धी सत्तामा फर्के पछि जेआरडी सञ्चालक समितिमा फर्के तर अध्यक्षको रूपमा भने होइन। पछि राजीव गान्धीले उनका उत्तराधिकारी रतन टाटालाई एयर इन्डियाको अध्यक्षमा नियुक्त गरे।

भारतमा सन् १९९० तिर पी. वी. नरसिंह राव सरकारले सुरु गरेको आर्थिक उदारीकरण सँगै टाटा समूहले फेरी बायु सेवा क्षेत्रमा आउन खोजिरहेको थियो। तर उसलाई यो प्रयासमा सफलता मिलिरहेको थिएन । टाटाले सिंगापुर एयरलाइन्ससँगको सहकार्यमा २०१२ मा बिस्तार भीस्तारा नामक वायुसेवा स्थापना गरेको थियो ।  यसै क्रममा आर्थिक उदारीकरणको सुरुवातसँगै भारत सरकारले पनि घाटामा गएको एयर इन्डियालाई निजीकरण गर्न खोजिरहेको थियो। तर यो प्रयास सफल भइरहेको थिएन। तर, यस पटक बल्ल यो प्रयास सफल भयो। 

अकासिएको घाटा 

एयर इन्डियासँग ७९ वटा न्यारो बडी र ४९ वटा वाइड बडी गरी जम्मा १२८ वटा प्लेनहरू छन् । सन् २००० सम्म एयर इन्डिया फाइदामै सञ्चालन भइरहेको थियो। तर, सन् २००१ मा यस कम्पनीलाई ५७ करोड भारु घाटा भएको थियो । त्यस यता एयर इन्डिया ठुलो घाटामा चलिरहेको थियो। एयर इन्डिया माथि यति बेला भारु ६२ हजार करोड रुपियाँ ऋण रहेको छ। मनमोहन सिंहको सरकारले सन् २००७ मा एयर इन्डिया र इन्डियन एयरलाइंसलाई विलय गरेपछि यो घाटा ठुलो मात्रमा बढेको हो। सन् २००७ भन्दा अगाडी यी कम्पनीहरूको संयुक्त घाटा ७७० करोड थियो भने विलयपछि बढेर  ७२०० करोड पुग्यो। 

एयर इन्डियालाई निजीकरण गर्ने प्रयास आज भन्दा २० वर्ष अगाडी देखी नै सुरु भएको हो। सन् २००१ मा अटल विहारी वाजपेयीको नेतृत्वमा हरेक भाजपाको सरकारले एयर इन्डिया ४० प्रतिशत हिस्सा निजी क्षेत्रलाई बेच्न खोजेको थियो। त्यो प्रयास सफल भएन।  यस्तै सन् २०१८ मा मोदी सरकारले एयर इन्डियाको ७६ प्रतिशत बेच्न कोसिस गरेको थियो। तर, त्यो पनि एयर इन्डियाको ऋण कसले कति तिर्ने भन्ने झमेलाका कारण सफल भएन। अन्ततः सन् २०२१ मा आएर मात्र एयर इन्डियालाई बिक्री गर्ने कार्य सफल भयो। 

एयर इंडियासँग भारु ३२ हजार करोड मूल्यका प्लेनहरू छन्। यसका लागि टाटाले १८  हजार करोड रुपियाँ तिर्ने छ। ती प्लेनहरूका अतिरिक्त एयर इन्डियाका अन्य मूल सम्पत्तिहरू, बहुमूल्य ल्यान्डिङ पार्किङ स्लट, ब्रान्ड, अन्तर्राष्ट्रिय फ्लाइट अधिकार जस्ता सबै कुरा टाटा समूहले निःशुल्क रूपमा पाउने छ। त्यस्तै, एयर इन्डियाको कुल ऋण ६२  हजार करोड भारु मध्ये टाटा समूहले १५  हजार करोड मात्र आफूले बोक्ने छ। बाँकी अरू सबै ४७ हजार करोड ऋण भारत सरकारले तिर्नु पर्ने छ। एयर इन्डियाको मूल समस्या भनेकै यही ऋण र त्यसको ब्याज थियो। ऋण बेगर त एयर इन्डियाको सञ्चालन नाफा मै भइरहेको थियो। अब भारत सरकारले एयर इन्डियाको बाँकी ऋण यसका सम्पत्तिहरूको लिलामी गरेर तिर्नु पर्ने छ। 

निजीकरण भित्रको राजनीति 

सार्वजनिक संस्थाहरूलाई निजीकरण गर्नुको मुख्य कारण त्यो फाइदामा नहुनु मात्र होइन। यो एउटा सुनियोजित राजनीति पनि हो। सर्वप्रथम सरकारको नीतिकै कारण सार्वजनिक संस्थाहरूलाई कमजोर पार्दै लगिन्छ। यसको  एउटा जल्दो बल्दो उदाहरण एयर इन्डिया पनि हो। सन् २००४ मा मनमोहन सिंहको पालामा नागरिक उड्डयन मन्त्री थिए, प्रफुल पटेल। पटेल मन्त्री बन्दा एयर इन्डिया भारतीय एयरलाइन्स क्षेत्रमा नेतृत्व गरिरहेको अवस्थामा थियो।  उसको बजार हिस्सा ४२ प्रतिशत थियो। 

प्रफुल पटेलले बिना कुनै वित्तीय योजना र प्लेन उडाउने रुट बेगर नै भारु ५० हजार करोडमा ६८ वटा प्लेन किन्न लगाए। ती ६८ वटा प्लेन मध्ये २३ वटा प्लेन बोइङ्गका ड्रिमलाइनर जेटहरू थिए। त्यस बेला भारतमा यो प्रश्न पनि उठेको थियो कि वार्षिक ७००० करोडको कारोबार गर्ने कम्पनीलाई ५० हजार करोडको प्लेन किन्ने आवश्यकता किन पर्‍यो ? त्यस्तै, प्रफुल पटेलले आफ्ना मित्र विजय माल्याको किङ्गफिसर एयरलाइन्सलाई फाइदा पुर्‍याउन कुनै कसर बाकि राखेनन्। उनले किङ्गफिसर लाई फाइदा होस् भनेर एयर इन्डियाको फ्लाइटहरूलाई कुनै खास रुटमा उडाउन बन्द गर्ने देखि लिएर उडानको समय तालिका फेर्न समेत लगाए। त्यसपछि अर्का नागरिक उड्डयन एके एन्टोनीले पनि एयर इन्डियालाई डुबाउन कुनै कसर बाँकी राखेनन्।

टाटाको 'परोपकारी' छवि ?

टाटा समूह लोक कल्याण र दान-दाताव्यको लागि चिनिन्छ। तर, यो समूहको सुरुवात भने त्यति गौरशाली थिएन। पारसी मूलका व्यापारी टाटाहरूको धनको मुख्य श्रोत चीनमा गरिने अफिम व्यापार थियो। चीनसँगको अफिम व्यापारबाट टाटाहरूले अकुत सम्पत्ति कमाएका थिए। त्यस्तै, बेलायतले सन् १८६८ मा अबिसिनिया (इथियोपिया) माथि हमला गर्‍यो। रोबर्ट नेपियरको नेतृत्वमा रहेको बेलायती सेनाले युद्धको क्रममा आवश्यक पर्ने बन्दोबस्तीका सामानहरू आपूर्ति गर्ने जिम्मा बम्बईका व्यापारीहरूलाई दियो। 

तर, ती स्थानीय व्यापारीहरूले खच्चरदेखि उटसम्म र कोइलादेखि चामलसम्म हरेक चिजमा यति भ्रष्टाचार गरे कि यसबारे बेलायतको संसद्मा समेत आवाज उठ्यो। ती व्यापारीहरू मध्ये टाटा पनि एक थिए। जसले यो अभियानको लागि चालिस लाख रुपैयाँ बराबरको बन्दोबस्तीका मालसामान ढुवानीको ठेक्का पाएका थिए। 

टाटा समूहको अर्को अभूतपूर्व विस्तार पहिलो र दोस्रो विश्व युद्धको समयमा भएको थियो। युद्धको समयमा बेलायती सेनालाई आवश्यक फलाम, स्टिल र केमिकलहरू बेचेर यो व्यापारिक घरानाले ठुलो मुनाफा कमाएको थियो। समाजमा सुनाइने नैतिक कथाहरूमा जस्तो मानिसहरूको उन्नति, प्रगति र सम्पन्नताको मुख्य कारणको रूपमा कडा परिश्रम, लगन र दुरदृष्टि जस्ता अलौकिक गुणहरू हुन् भनेर भनिन्छ। तर, यस्तो सफलताका पछाडि यस्तै काला यथार्थहरू लुकेका हुन्छन्। कुनै पनि व्यक्तिको मेहनत र प्रतिभाले मात्र यत्रो सफलता मिल्न सक्दैन।  सत्ता र दलाल पुँजीवादको मिलेमतो बेगर यो अकल्पनीय धन आर्जन सम्भव हुँदैन।  

प्रसङ्ग नेपाल कै  

नेपालमा निजीकरणको बहस त्यो बेला सुरु भयो जब विश्वव्यापी उदारीकरणको मार्ग पछ्याउँदै बि.स. २०४७ सालको परिवर्तन पछि नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारले यसलाई तीव्रता दियो। त्यो बेला पाँच दर्जनभन्दा बढी सङ्ख्यामा रहेका सार्वजनिक संस्थानलाई विभिन्न मोडालिटीमा निजीकरण गरी तीन दर्जनमा झार्दा नै सुरु भएको बहस अहिले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने प्रयाससँगै ब्युँतिएको छ। 

नेपाल वायुसेवा निगमलाई चीनबाट ल्याइएका ठुला जहाजहरूले अहिले थिचिरहेको छ। राष्ट्रिय ध्वजावाहक एयरलाइन्सलाई त्राण दिन भन्दै भित्राइएका तिनै जहाजले यसको प्राण लिने अवस्था देखिँदै छ। जे होस्, एयर इन्डिया टाटालाई जिम्मा लगाउनु पूर्व जे गरियो नेपालमा पनि ठ्याक्कै त्यस्तै गरिएको छ। प्रख्यात अमेरिकी विद्वान नोम चोम्स्कीले निजीकरणको प्रचलित प्रक्रिया बारे भनेका थिए- 'कुनै पनि संस्थालाई विनिबेश गर, संस्थालाई राम्रोसँग काम गर्न नदेऊ, आम मानिसहरूलाई सो संस्थासँग रिसाउने वातावरण बनाऊ र अन्त्यमा त्यसलाई निजी क्षेत्रलाई जिम्मा लगाइदेऊ।' चोम्स्कीले भने झैँ एयर इन्डियामा जे भएको थियो नेपाल बायुसेवा निगमको हकमा पनि त्यहि भएको छ। त्यसैले एयर इन्डिया टाटालाई जिम्मा लगाएको घटना एक सामयिक दृष्टान्तको रूपमा हामीले पनि अध्ययन गर्न लायक छ। छिमेकी मुलुक भारतमा भएको यो निजीकरणको पृष्ठभूमि र परिणामबारेको चर्चाले यो विषयमा हुने बहसमा नयाँ आयाम थप्न सक्छ। 

प्रतिक्रिया दिनुहोस