सिमेन्ट उद्योगका मजदूर बगायो,अझै पाँच बाढीमा फसे - Aarthiknews
aarthiknews.com मंगलबार, ०३ भदौ २०७६   Tuesday, 20 August, 2019
 

सिमेन्ट उद्योगका मजदूर बगायो,अझै पाँच बाढीमा फसे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
Sunrise bank
सिमेन्ट उद्योगका मजदूर बगायो,अझै पाँच बाढीमा फसे
LBEF
NCH-IPS

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको  ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । 

  ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए । रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका छन् । 

दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बचेका छन् । खोलामा फसेका मजदूरको उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट गएको टोली सो स्थानमा पुग्न सकेको छैन । ताल्ती जाने बाटो मलेखु नजिकै सोही खोलाले बगाएपछि उद्धारकर्मी रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

रातभरि परेको वर्षाका कारण खोलामा फसेका मजदूरको स्थानीयवासी र ताल्तीमा रहेको प्रहरी टोलीले उद्धार गरिरहेको जनाएको छ । बाढीका कारण निर्माण भएका केही संरचना बगाएको छ ।

क्षतिको आँकलन गर्न सकिएको छैन । मानविय क्षति भएको छैन ।  १५ अर्ब रुपैयाको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महीना भएको छ । नौ महीनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो ।

विश्वकै अत्याधुनिक सिमेन्ट प्रविधिबाट सिमेन्ट उत्पादन गरिने ह्वासिन नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी भएको पनि थापाको भनाई छ ।  सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहने बताइएको छ ।

सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्ष रुपमा ३ सय जना र अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाउने छन् भने उद्योगका लागि मलेखुबाट ताल्तीसम्म छुट्टै १० किलोमिटर सडक निर्माणका लागि तयारी समेत भैरहेको छ । ह्वासिन सिमेन्ट उद्योगले उद्योगकै कच्चा पदार्थबाट विद्युत उत्पादन गर्ने र उद्योग वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस