aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike
सेप्टेम्बर ११ बिशेष

सेप्टेम्बर ११, इस्लामिक अतिवाद र अमेरिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ भदौ २०७८
Citizen life
nabil bank
सेप्टेम्बर ११, इस्लामिक अतिवाद र अमेरिका
Global IME
LBEF
yamaha_MAW

आज भन्दा बिस वर्ष अगाडी ११ सेप्टेम्बर २००१ मा इस्लामिक आतंकबादी समूह अल कायदाले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा आक्रमण गरेको थियो। सो आक्रमण पछि इस्लामिक आतंकबादलाई नष्ट गर्न अमेरिकाले आतंकबाद विरुद्ध युद्ध सुरु गरेको थियो। जुन क्रममा अमेरिकाले अफगानिस्तानमा तालिबानलाई सत्ताच्युत गरेको थियो।

त्यस यता विश्व पुरै एक फन्को मारेर ११ सेप्टेम्बर २००१ कै अवस्थामा फर्किएको छ। तालिबान फेरी सत्तामा फर्केका छन्। यही घटनाको आलोकमा इस्लामिक अतिवादीको जन्म, बिस्तार र वर्तमान अवस्थाका बारेमा यो लेखमा चर्चा गरिनेछ।

अफगानिस्तानको वर्तमान संकटको सुरुवात सन् १९७८ मा सुरु भएको हो। सन् १९७८ मा अफगानिस्तानको कम्युनिस्ट पार्टी पीपल्स डिमोक्रेटिक पार्टी अफ अफगानिस्तान (पीडीपीए) ले सैन्य बिद्रोह मार्फत सत्ता कब्जा गर्‍यो । यो विद्रोह फारसी कैलेण्डरको दोस्रो महिना सावरमा सम्पन्न भएको थियो। त्यसैले यस विद्रोह/क्रान्ति सावर क्रान्तिको नामले प्रख्यात भयो । तर यो सावर क्रान्तिको सामाजिक आधार चाही सार्है नै फितलो थियो।

पीडीपीएको समर्थनको मुख्य आधार सहरी मध्यम वर्ग र मजदुर वर्ग थियो। तर त्यस बेलाको अफगानी समाज एकदमै पिछडिएको समाज थियो। त्यस बेला पुरै देशको साक्षरता दर जम्मा १८ प्रतिशत मात्र थियो । यस्तो परिस्थितिमा देशको बस्तुगत अवस्थालाई ख्याल नगरी पीडीपीएले क्रान्तिकारी आर्थिक सामाजिक सुधारको कार्यक्रम सुरु गर्‍यो। सरकारले धर्मलाई देशको पछौटेपनको लागि जिम्मेवार मान्दै धर्मको भूमिका खुम्च्याउँदै लग्यो। भूमि सुधार, अनिवार्य शिक्षा, महिलालाई बराबरीको हक जस्ता आमूल परिवर्तन देशमा लागु गर्न थाल्यो। अफगानिस्तानको ग्रामीण इलाकामा यी कार्यको व्यापक विरोध सुरु भयो।

त्यसै बेला अमेरिकी राष्ट्रपति जिमी कार्टरका राष्ट्रिय सुरक्षा सल्लाकार झिबिग्न्यू ब्रेझिन्स्कीले सोभियत संघलाई अफगानिस्तानमा तान्ने र फसाउने पासो थापे। अमेरिकी गुप्तचर संस्था सिआइएले अफगान सरकारको बिरोधमा लडिरहेका मुजाहिदिन लडाकुहरूलाई सोभियत संघले हस्तक्षेप गर्नु भन्दा ६ महिना अगाडी देखि नै सहयोग गर्न थालेको थियो। सोभियत संघले यो अमेरिकी चालबाजी नबुझी सत्तारुढ पीडीपीए पार्टी भित्रको आन्तरिक कलह र विद्रोही मुजाहिदिनहरुको विद्रोहले कमजोर बनेको कम्युनिस्ट सरकारलाई बचाउन अफगानिस्तानमा सैन्य हस्तक्षेप गर्‍यो।

अफगानिस्तानमा सोभियत सैन्य हस्तक्षेप अमेरिकाको लागि ठुलो अवसर बन्यो। यो हस्तक्षेपले गर्दा अमेरिकाको लागि एक अरब मुसलमानहरूलाई विधर्मी र नास्तिक सोभियत संघ विरुद्ध उतार्ने सुनौलो मौका मिल्यो । यो प्रयोजनको लागि 'जिहाद'को अवधारणालाई फेरी ब्युँताइयो। इस्लाम धर्ममा 'जिहाद'को प्रयोग चार सय वर्ष यता भएको थिएन। 'जिहाद' शब्द अरबी भाषाबाट आएको हो। जसको अर्थ हुन्छ, संघर्ष गर्नु। तर यसलाई केवल धर्म युद्धको रूपमा नियोजित रूपमा प्रचार गरियो। यो हिंसात्मक र अहिंसात्मक दुवै स्वरूपको हुन सक्छ। इस्लाम धर्मका अनुसार जिहाद दुई प्रकारको हुन्छ। पहिलो हो, सानो जिहाद र अर्को हो, ठुलो जिहाद। सानो जिहाद बाह्य शत्रुको विरुद्ध लडिन्छ र त्यो हिंसात्मक हुन्छ। ठुलो जिहाद आफू भित्रकै संघर्ष हो, अर्थात् आत्म संघर्ष।

सोभियत संघ विरुद्ध अफगानिस्तानमा लड्न साउदी अरेबिया, इजिप्ट, अल्जेरिया, जोर्डन, यमन, फिलिपिन्स र इन्डोनेसियादेखि मुसलमान युवाहरू पाकिस्तानस्थित अफगान विद्रोही शिविरमा ओइरिन थाले। यिनै विदेशी लडाकु मध्ये एक थिए, ओसामा बिन लादेन। साउदी अरेबिया र अमेरिकाबाट पैसा पाकिस्तान ओइरिन थाल्यो। सिआइएले तिनीहरूलाई आवश्यक पर्ने हातहतियार र त्यसलाई चलाउने तालिम दियो। अमेरिकाले १९८१ देखी १९८८ सम्ममा अरबौ डलर सहायता गर्‍यो। साउदी अरेबियाले पनि उत्तिकै मात्रामा मुजाहिदिनहरुलाई सहायता दियो। यसै क्रममा अमेरिकाले स्ट्रिंगर मिसाइल जस्तो अत्याधुनिक बिमानभेदी क्षेप्यास्त्र पनि मुजाहिदिनहरुलाई उपलब्ध गरायो। यो हतियारले सोभियत संघ विरुद्धको लडाईको स्वरूप नै फेरिदियो।

अमेरिकाले कुन हदसम्म अफगान मुजाहिदिन गरेको थियो भनेर थाहा पाउन केवल एउटा घटना सम्झे पुग्छ। सन् १९८३ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा मुजाहिदिन नेताहरूलाई स्वागत गरे। रेगनले त्यो भेट पछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै भने यिनीहरू स्वतन्त्रता सेनानीहरू हुन्, यी अफगान नेताहरू अमेरिकाका हाम्रा संस्थापक जर्ज वासिंगटन र थोमस जेफर्सनका समतुल्य छन्। आर्थिक रूपमा त्यसै पनि कमजोर सोभियत संघ अफगान युद्धमा अपार धनजनको क्षति पछि अपमानित भएर सन् १९८९ मा फर्क्यो। सोभियत सेना फर्के पछि अमेरिकाको लागि अफगानिस्तानको कुनै उपयोगिता रहँदैन। सोभियत सेना फर्केको ३ बर्सपछि राष्ट्रपति नजीबुल्लाहको कम्युनिस्ट सरकारलाई मुजाहिदीनले पराजित गरे।

सन् १९९० मा इराकले कुवेतलाई कब्जा गरेपछि अमेरिकाले साउदी अरेबियाको रक्षाको लागि आफ्ना सेना त्यहाँ तैनाथ गरेको थियो। यो कुरा ओसामा बिन लादेनलाई बिलकुल मन परेको थिएन। उनले साउदी अरेबियाबाट अमेरिकी सेना हटाउन पटक पटक साउदी राजपरिवारसँग माग गरे । तर उनको कुरालाई कसैले पनि गम्भीरतापूर्वक लिएन । कुवेत मुक्त भएपछि पनि साउदी अरेबियामा अमेरिकी सेना बसेपछि ओसामा बिन लादेनको समूह अल काइदाले अमेरिका विरुद्ध जिहाद सुरु गर्‍यो।

उता अफगानिस्तानमा नजीबुल्लाहको कम्युनिस्ट सरकारलाई हराएपछि मुजाहिदिन समूहहरू बिच नै गृह युद्ध सुरु भयो। जुन क्रममा हजारौँ अफगान नागरिकहरू मारिए र राजधानी काबुल ध्वस्त भयो। सोभियत संघ विघटन भएपछि अमेरिकालाई फेरी अफगानिस्तानमा रुचि बढ्न थाल्यो। यो अभिरुचि कुनै मानवीय उद्देश्यले अभिप्रेरित थिएन। सोभियत संघ विघटन भए पछि अफगानिस्तानका छिमेकमा मध्य एसियाका उज्बेकिस्तान, काजककिस्तान, तुर्कमेनिस्तान र किर्जिकिस्तान जस्ता तेल र ग्यासको प्रचुर भण्डार भएका देशहरू स्वतन्त्र बने। अमेरिकी तेल कम्पनीहरूलाई यी देशहरूको तेल र ग्यास खानीमा रुचि जाग्यो।

तर ती देशहरूबाट तेल र ग्यास बाहिर पठाउने बाटो सीमित थियो। एउटा बाटो थियो टर्की हुँदै लाने, अर्को थियो इरान हुँदै र अन्तिम बाटो थियो अफगानिस्तान हुँदै पाकिस्तानको बाटोबाट समुन्द्र सम्म पुर्‍याउने। इरान अमेरिकाको शत्रु देश भएकोले यो बाटो प्रयोग गर्ने कुरै भएन। अब बाकी थिए टर्की र अफगानिस्तान। तर, अफगानिस्तान त्यस बेला गृह युद्धको चपेटामा परेको थियो। मध्य एसियाबाट तेल र ग्यासको पाइप लाइन अफगानिस्तानमा बिछाउनको लागि त्यहाँ शान्ति कायम हुनु पर्थ्यो । जसको लागि एउटा शक्तिको खोजी सुरु भयो। पुराना मुजाहिदिनहरुबाट यो काम हुन सक्दैन थियो। तसर्थ अमेरिका र पाकिस्तानको योजनामा तालिबानको गठन भयो। पाकिस्तानको प्रत्यक्ष र परोक्ष सहयोगमा तालिबानले सन् १९९६ मा राजधानी काबुल कब्जा गर्‍यो।

अमेरिका विरुद्ध छिटपुट आक्रमणको नेतृत्व गरिरहेका ओसामा बिन लादेनले तालिबानको सरकार बनेपछि अफगानिस्तानमा शरण लिए। अफगानिस्तान मै अल कायदाको तालिम केन्द्र सञ्चालन गरे। र, त्यहीबाट ११ सेप्टेम्बर २००१ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा दुसाहसिक आतंकबादी हमला गर्न लगाए। यो हमला पछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्‍यो र सहजै तालिबानलाई सत्ताबाट हटायो। अमेरिकाले अल कायदाको सङ्गठन शक्ति पनि नष्ट गरिदियो। तालिबान र अल कायदाका नेताहरू पाकिस्तानको पस्तुन बहुल इलाकामा लुकेर बस्न बाध्य भएका थिए।

सेप्टेम्बर ११ को आतंकबादी आक्रमण पछि अमेरिकाले इराक माथि सो आतंकबादी आक्रमणको लागि जिम्मेवार रहेको, अल कायदा सम्बन्ध रहेको र आम संघारका हतियारहरू राखेको आरोप लगायो। यी सबै मिथ्या आरोपहरू थिए। किनकि इराकका सबै आम संघारका हतियारहरू पहिलो खाडी युद्ध पछि राष्ट्र सङ्घका हतियार निरीक्षकहरूको निगरानीमा नष्ट गरिसकिएको थियो।

अल कायदासँग सद्दाम हुसैनको कुनै सम्बन्ध पनि थिएन। सन् २००३ मा अमेरिकाले इराक माथि राष्ट्र संघको अनुमति बेगर नै यिनै मिथ्या आरोपहरूको आधारमा आक्रमण गर्‍यो। केही दिन भित्रै अमेरिकाले नेतृत्व गरेको गठबन्धन सेनाले इराकमा कब्जा गर्‍यो। तर, लगत्तै इराकमा बहु आयामिक विद्रोह सुरु भयो। यो अमेरिकी आधिपत्यको बिरोधमा पनि थियो साथै साम्प्रदायिक युद्ध पनि थियो। यो विद्रोहले अल कायदाका लागि इराकमा बाटो खोलिदियो।

अमेरिकाले इराक कब्जा गर्नु अघि त्यहाँ कुनै प्रभाव नै नभएको अल कायदाले सुन्नी मुसलमानहरुलाई आधार बनाउँदै व्यापक विद्रोह सुरु गर्‍यो। अल कायदाको इराक शाखा आफ्नो मूल सङ्गठन भन्दा झन् कट्टर र आततायी भएर निस्कियो। र, पछि अल कायदाबाट अलग हुँदै इस्लामिक स्टेट भन्ने अलग सङ्गठन बनायो। इस्लामिक स्टेटको गठनको मुख्य थलो इराकी जेल थियो भने यसका मुख्य सहभागी थिए, सद्दाम हुसेनका पूर्व इराकी सैनिकहरू। अमेरिकाले सद्दाम हुसैनलाई अपदस्थ गरे पछि इराकी राष्ट्रिय सेनालाई भङ्ग गरेको थियो। जसले गर्दा असन्तुष्ट बनेका इराकी सेनाहरू अल कायदा र पछि इस्लामिक स्टेटमा संलग्न भए।

यी इराकी पूर्व सैनिकहरूको युद्ध कौशलले इस्लामिक स्टेटलाई शक्तिशाली विद्रोही सङ्गठन बनायो। त्यस्तै, त्यही बेला इराकको छिमेकी देश सिरियामा गृह युद्ध सुरु भयो। त्यहाँका इस्लामिक बिद्रोहीहरुलाई अमेरिका र युरोपेली देशहरूले सहायता गरेका थिए। सिरियाली गृह युद्धले इस्लामिक स्टेटलाई सिरियाको युद्धमा भाग लिन र नाटकीय रूपमा शक्तिशाली बन्न सहयोग गर्‍यो। सिरिया पछि इस्लामिक स्टेट फेरी इराकमा प्रवेश गर्‍यो र मोसुल लगायत महत्त्वपूर्ण सहरहरू कब्जा गर्‍यो। इस्लामिक स्टेटले झन्डै झन्डै इराक पुरै कब्जा गरेको थियो। तर इरान, इराक, सिरिया, रुस र अमेरिकाको साझा प्रयासले इस्लामिक स्टेटलाई दबाउन सफल भए।

अमेरिकाको अफगान लडाईको अन्त्य १५ अगस्त २०२१ मा भयो जब तालिबानले काबुललाई कब्जा गरे। सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेनको हत्या पछि नै अमेरिकाको अफगानिस्तान युद्धको उद्देश्य पुरा भैसकेको थियो। तर केवल आफ्नो सैन्य औद्योगिक संरचनाको स्वार्थका कारण अरू १० वर्ष अमेरिकाले अफगानिस्तानमा बस्यो। अमेरिकाले आफ्ना सैनिकले अफगानिस्तान छोडे पछि तालिबानले जित्न सक्ने आकलन त गरेको थियो।

तर, यो हद सम्मको अपमानजनक बिदाइ होला भनेर अमेरिकाले सायदै अनुमान गरेको थियो। अफगानिस्तानबाट अमेरिकाको फिर्ती भियतनामबाट भागेको सम्झना दिलाउने खालको थियो। अमेरिकाले अफगानिस्तान छोड्दै गर्दा त्यहाँको राजनीतिक रजतपटमा अर्को दुर्दान्त इस्लामिक विद्रोही सङ्गठन देखापरेको छ। इस्लामिक स्टेट अफ खोरसानले काबुल एयरपोर्टमा अफगानिस्तान छोड्दै गरेका अमेरिकी सैनिक र देशबाट भाग्दै गरेका अफगानी नागरिक विरुद्ध भयानक आत्मघाती आक्रमण गर्‍यो। केही विश्लेषकहरूको भनाइ छ कि यो इस्लामिक स्टेट अफ खोरसानको सुरुवातमा अमेरिकाको हात हुनसक्छ। तालिबानलाई कमजोर बनाउनको लागि यो सङ्गठनको सुरुवात गरिएको हुनसक्छ। जसका लागि इराक र सिरियाबाट इस्लामिक स्टेटका लडाकुहरूलाई अमेरिकाले नै अफगानिस्तानमा भित्र्याएको थियो।

अमेरिकाको दुई दशक लामो आतंकबाद विरुद्धको लडाई ठुलो असफलतामा टुङ्गियो। यो युद्धको क्रममा क्रममा ब्राउन युनिभर्सिटीका अनुसार ८ ट्रिलियन डलरको खर्च र करिब ९ लाख जनाको मृत्यु भयो । यो युद्ध आफ्नो उद्देश्य प्राप्त गर्नबाट पूर्ण रूपमा विफल भयो। यो विफलताको एउटै कारण छ इस्लामिक अतिवादीको सर्जक अमेरिका खुद आफै हो। आफ्नो नियोजित स्वार्थपूर्तिको लागि नै अमेरिकाले इस्लामिक अतिवादीको सिर्जना गरेको थियो।

इस्लामिक अतिवादी अब आफ्नै जन्मदाताको नियन्त्रण बाहिर गई सकेको छ। पुराणमा वर्णित रक्तबीज जस्तै यो इस्लामिक अतिवाद फैलिँदै गइरहेको छ। एउटालाई अन्त्य गर्‍यो अर्को झन् भयानक स्वरुपमा उत्पन्न हुन्छ। त्यसपछि अर्को झन् भयानक। अफगानिस्तानमा सोभियत संघ विरुद्ध लड्न अमेरिकाले सिर्जना गरेको मुजहिदीन भन्दा तालिबान र अल कायदा झन् उग्र थिए र अहिले इस्लामिक स्टेट तिनीहरू भन्दा पनि झन् भयानक स्वरूपमा रूपान्तरण भएको छ। अब अमेरिकाले आफ्नो स्वार्थको लागि भविष्यमा अर्को कुन इस्लामिक अतिवादी समूहलाई जन्माउने हो ? अमेरिकाको आत्मघाती खेल जारी छ।

प्रतिक्रिया दिनुहोस