aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

शेयर बजारका भित्री कुरा जसले गर्दा हुँदैछ नेप्सेमा लगातार गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ भदौ २०७८
Citizen life
nabil bank
शेयर बजारका भित्री कुरा जसले गर्दा हुँदैछ नेप्सेमा लगातार गिरावट
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । भदौ २ गते ३१९९.०३ बिन्दुको नयाँ रेकर्ड कायम गरेको नेप्से परिसूचक हिजो भदौ २० गते आइतबार २८१८.८५ बिन्दुमा झरेर अडियो । अघिल्लो कारोबारको तुलनामा १०८.२६ बिन्दुले घटेको हिजो भएको साताको पहिलो कारोबारको क्रममा नेप्से २७७९.०३ बिन्दुसम्म तल झरेको थियो ।

नेप्सेले नयाँ रेकर्ड बनाएपछीको ९ औँ कारोबार सम्ममा आइपुग्दा यसरी परिसूचकमा अकल्पनीय गिरावट देखिनुको खास कारण साउन २९ गते नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को लागि जारी गरेको मौद्रिक नीतिले व्यवस्था गरेको शेयर धितोमा लगानीकर्ताले लिन सक्ने कर्जाको रकममा लगाइएको सीमालाई दिंइदैछ । त्यसैले लगानीकर्ताहरू आइतबार देखि नै गभर्नर महा प्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराऊ आन्दोलनमा लागेका छन् । तर, शेयर बजारमा यसरी पहिरो जानुको खास कारण भने राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति र त्यसलाई लागु गर्न भदौ १० गते जारी गरिएको एकीकृत निर्देशिका मात्र होइन ।

यहाँ आम लगानीकर्ताको कानसम्म नपुगेका तर नेपालको शेयर बजारका हस्तीहरू बिच 'एक कान, दुई कान, मैदान' बनेका पुँजी बजारलाई प्रत्यक्ष प्रभाव पारिरहेका खास कारणहरू बारे चर्चा गरिएको छ । 

मौद्रिक नीति, छैन दोषी

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर धितोमा प्रवाह हुने कर्जाबारे  गरिएको व्यवस्था यस्तो छ- "बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ । ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ ।"

यसमा गरिएको एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र ऋण लिन पाउने गरिएको व्यवस्था प्रति लगानीकर्ता देखी उद्योगी, व्यापारीको छाता सङ्गठन समेतले आपत्ति जनाए । तर, कुनै सुनुवाइ भएन । लगानीकर्ताले यस्तो कर्जा नियमित गर्न कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रूपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्ने भन्दै भदौ ८ गते राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशिका जारी गरेपछि भने शेयर बजारमा लगानीकर्ताको आत्मविश्वास गुमेको जस्तो भान हुन्छ ।

तर, परिसूचक हेर्दा के देखिन्छ भने मौद्रिक नीति जारी भएपछि नै हो बजारले नयाँ उचाइको रेकर्ड बनाएको । मानिसहरूले त्यो बेला पक्कै पनि मौद्रिक नीतिलाई नबुझेका होइनन् । बरु भएको के हो भने बजारले एउटा उचाइ ग्रहण गरिसकेको थियो । त्यो भन्दा माथि जान सक्ने अवस्था थिएन । बस्, बहाना चाहिएको थियो । मौद्रिक नीति र त्यसपछि जारी निर्देशिका त्यस्तो बहाना बन्यो ।

खासमा, भित्र भित्रै अन्य धेरै कुराले शेयर बजारलाई शिथिल बनाएको थियो । जसबारे खुलेर कोही बोल्न मिल्दैन, सक्दैनन् । नत त्यस्तो दोष नै कतै थोपर्न मिल्छ किनकि त्यो पुरापुर लगानीकर्ता र ब्रोकरको मिलेमतोमा गरिएको बदमासी थियो जसले अहिले समस्या सिर्जना गरेको छ ।

ब्रोकर र लगानीकर्ताको बदमासी

यसबिच बिना पुँजी शेयर बजारमा ठुलो लगानी गर्ने लगानीकर्ता र लगानीकर्तालाई हौस्याएर कमिसन खाने ब्रोकर दुवै अहिलेको अवस्थाका लागि जिम्मेवार छन् । अहिले नै पनि नेपालको पुँजी बजारमा ५ लाख खातामा रोक्का राखेर ५० लाखसम्मको कारोबार गर्ने लगानीकर्ता र त्यस्तो सुविधा प्रदान गर्ने ब्रोकर धेरै नै छन् । आपसी विश्वास भन्दै ब्रोकरले उपलब्ध गराएको त्यस्तो कारोबारको सुविधाले लगानीकर्तालाई हौस्याइन्थ्यो भने ब्रोकरलाई कुस्त कमिसन प्राप्त हुन्थ्यो । तर, जब बजार घट्यो तब कथित 'आपसी विश्वास'मा समस्या आयो ।

यस्तो एउटा घटना त नेप्सेमा उजुरीको रूपमा समेत पुगेको छ । सो घटनामा भएको के रहेछ भने लगानीकर्ताले एक हजार कित्ता निफ्राको शेयर खरिदको लागि अर्डर राखेको तर आयो १० हजार कित्ता । उनी तुरुन्तै केही बोलेनन् । तर, जब भोलिपल्ट देखि बजारमा निफ्राको मूल्यमा गिरावट आयो तब उनले आपत्ति जनाए । मैले अर्डर गरेभन्दा बढी किन हालिदिएको भन्दै ब्रोकरसँग त्यसको भुक्तानी नगर्ने अडान राखे । समाचार स्रोतका अनुसार विवाद अहिले पनि नेप्सेमा विचाराधीन नै छ ।

यो प्रतिनिधि घटना हो । बजारमा 'बुल' कायमै रहँदा यस्ता कुरा बाहिर आउँदैनन् । तर, जब करेक्सन देखिन्छ जब सबैले धर्म छाड्छन् । यस्तै अर्को प्रकरण बारे पनि बजारमा अहिले चर्चा व्याप्त छ । त्यो हल्ला र चर्चा पनि आइतबार एकै दिन परिसूचकमा सय अङ्क भन्दा बढीको गिरावटको लागी जिम्मेवार छ ।

तीन ब्रोकरको रुवाबासी

माथि नै उल्लेख गरिसकियो की ब्रोकरहरू ठुला कारोबारीलाई आफूसँगै राख्न अस्वस्थ प्रतिस्पर्धा गर्छन् । त्यो क्रममा उनीहरूसँग बैंक खातामा रहेको रकम भन्दा दशौँ गुणा बढीसम्मको कारोबार गर्न छुट दिन्छन् । त्यो रकमको जिम्मा आफूमा राखेर गरिएको उधारो शेयर कारोबारमा त्यो बेलासम्म मात्र लगानीकर्ता इमानदार हुन्छ जबसम्म उसले थेग्न सक्छ । तर, ब्रोकरले लगानीकर्ताको लगानी गर्ने हैसियत नै नहेरी कारोबारका क्रममा प्राप्त हुने सानो कमिसनको लोभले उठाउने यस्तो जोखिम अहिले केही ब्रोकरको लागि गलपासो बनेको बजारमा चर्चा छ । विश्वास गरिएका लगानीकर्ताले बजारमा गिरावट आउनासाथ यसरी गति छाड्दा र उधारो कारोबारको स्वामित्व नलिँदा ठुलै सङ्कटमा तीन वटा ब्रोकर परेको चर्चा अहिले शेयर बजारमा व्याप्त छ ।

स्वतन्त्र रूपमा पुष्टि हुन त सकेको छैन तर तीन वटा ब्रोकर भने अहिले उधारोमा गराएको कारोबारको सेटलमेन्ट गर्न नसकेर ठुलो बिपतमा छन् । त्यस्तो रकम यति ठुलो छ भन्ने चर्चा छ कि शायद ती ब्रोकर सञ्चालकको ल्याकतले त्यो भ्याउन सक्दैन । उनीहरूले अब नियामकको कारबाही भोगेर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था समेत आउन सक्छ । जब बजारमा यस्तो हल्ला भित्र भित्रै भुसको आगो झैँ फैलियो तब सानो घटनाले समेत ठुलो प्रभाव पार्ने पुँजी बजार स्वाभाविक रूपमा ओरालो लाग्यो ।

हल्लाको भरमा लगानी गर्ने कारोबारीले यस्तै हल्ला सुनेर पैसा निकालिरहेको कारण पुँजी बजारमा अत्यासलाग्दो गिरावट देखिएको हो । खासमा घटना के हो ? त्यो सत्य हो वा होइन ? हो भने त्यसले बजारलाई असर पार्ने सम्भावना कति छ भन्ने कसैले खोजेको अहिलेसम्म देखिएको छैन । 'यदि सत्य हो भने मार्केट त क्र्यास नै हुन्छ' भन्ने जस्ता चिया पसलमा सुनिने टिप्पणी पत्याउने वा नपत्याउने भन्ने परिपक्व लगानीकर्ताको बाहुल्यता नहुन्ज्यालसम्म यस्ता उडन्ते तर सत्य हुनसक्ने हल्लाले बजारलाई प्रभावित पार्छ ।

ठुला कारोबारीको बदमासी

अहिले शेयर बजारमा अर्को पनि हल्ला छ । त्यो हो, नेप्सेमा कारोबार भइरहेको बेला 'रियल टाइम' इन्फरमेसन नै आफूसम्म आइपुग्ने गरी सूचना प्रविधिको पहुँचमा केही ठुला लगानीकर्ता छन् । त्यसैले उनीहरू कसले के किन्दै छ र के बेच्दै छ भन्ने हेर्न र त्यही अनुसार कारोबार गर्न सक्छन्। तर, झट्ट सुन्दा नै पत्यार नलाग्ने यस्तो कुरा असम्भव भने चाहिँ होइन । यहाँ कसले को सँग कस्तो सम्बन्ध बनाएर के कस्तो सूचनामा पहुँच पुर्याईरहेको होला भन्ने सहज अनुमान लगाउन सकिन्छ ।

जहाँ नियामक निकायका प्रमुखहरू नै गोप्यरुपमा पहिले शेयर किनेर त्यसपछि कुनै कम्पनीको आइपिओ जारी गर्न तम्सन्छन् भने सूचना प्रविधिको भित्री लिङ्क कसैले कसैलाई दियो होला भनेर नपत्याउने कुरा पनि हुँदैन । यसरी ठुलाले सूचनामा पहुँच पुर्‍याउने र त्यसैको आधारमा बजारलाई डोहोर्याउंदा त्यसले साना लगानीकर्तालाई पार्ने मार बेग्लै छ ।

त्यसबाहेक पैसा भएका लगानीकर्ताले थोरै सङ्ख्यामा मात्र बजारमा शेयर उपलब्ध भएका कम्पनीको शेयर खरिद गरेर कर्नरिंग गर्ने पुरानै काम यस पटक अझ धेरै गरे । कानुनी रूपमा त्यहाँ कुनै अपराध भएन होला तर, नेटवर्थ नकारात्मक भएका कम्पनीको समेत बजारमुल्य यसरी उचालियो कि परिणामस्वरूप बजार अहिले जसरी तल झर्दैछ त्यो अवश्यम्भावी थियो । र, हुँदैछ पनि ।

यसरी ठुला लगानीकर्ताले शेयर कारोबारको सूचनामा अनधिकृत रूपमा पहुँच पुर्‍याएको हल्ला र उनीहरूले योजनाबद्ध रूपमा गर्दै आएको कर्नरिंग पनि अहिलेको अवस्थाका लागि जिम्मेवार छन् ।

बैंक र सरकारको भूमिका

यही बेला पुँजी बजारमा ठुलो गिरावट आउनुको अर्को कारण हो, सरकारको गलत कदम। नयाँ आर्थिक वर्षको पहिलो दुई महिना बित्न लागिसक्यो तर सरकारले राज्यकोबाट पैसा खर्च पूर्ण रूपमा बन्द गरेको छ । केही काम नै नगर्दा समेत मासिक ३०/३५ अर्बको हाराहारीमा खर्च हुनै पर्छ तर, साउनमा जम्मा साढे १० अर्ब मात्र खर्च सरकारले गर्‍यो । तर, त्यो महिना ढुकुटीमा भने १०५ अर्ब भन्दा बढी जम्मा भयो । जसले गर्दा अहिले बैङ्कहरूमा तरलता अभाव छ । बैंक वित्तीय संस्था सङ्कटमा छन् ।

उता बैक तथा वित्तीय संस्थाहरूले पनि शेयर धितोमा अहिले लगानी गर्न मानिरहेका छैनन् । बजार कति तल झर्ने हो भन्ने त्रासमा सबै छन् । किनकि के कस्ता भित्री घटनाले बजारको आत्मविश्वास गुमेको हो भन्ने अहिले सबैले थाहा पाइसकेका छन् । त्यस बाहेक पुरा कारोबारीको शेयर धितो कर्जा नवीकरण गर्न समेत बैंक तथा वित्तीय संस्थाले इन्कार गरिरहेको गुनासो लगानीकर्ताहरूले गर्न थालेका छन् । 

यसरी बैंकले थप लगानी नगर्ने र पुरानो कर्जा समेत नवीकरण नगर्ने गर्दा लगानीकर्ताहरू शेयर बिक्री गरेर बैंकको ऋण तिर्न बाध्य बनेका छन् । राष्ट्र बैंकले समेत पुँजी बजारलाई नियन्त्रण गर्न र अस्वाभाविक रूपमा तीव्र गतिमा भएको वृद्धिलाई रोक्न यस्ता विधि अपनाउन बैंकहरुलाई अनौपचारिक रूपमा सुझाव दिएको पनि बुझिएको छ । जे होस्, बैंकले शेयर धितोमा लगानी गर्न देखेको अनिच्छा पनि बजारमा पहिरो जानुको एक प्रमुख कारण भने पक्कै हो ।      

प्रतिक्रिया दिनुहोस