
काठमाडौं । गत आर्थिक वर्षमा जग्गा कारोबार ४६.६९ प्रतिशत बढेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको आर्थिक वर्ष २०७६र७७ र २०७७र७८ को तथ्यांकले यस्तो देखाएको हो ।
आर्थिक वर्ष २०७६र७७ मा १२ लाख ११ हजार ३ सय ६७ संख्या जग्गा कारोबार भएकोमा २०७७र७८ मा १७ लाख २८ हजार ५ सय २९ पुगेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७५र७६ मा भने १० लाख ७७ हजार ८ सय १६ संख्या जग्गाको कारोबार भएको विभागले बताएको छ ।
गत आर्थिक वर्षमा निषेधाज्ञाका कारण रोकिएका जग्गा कारोबार भएकाले किनबेच बढी देखिएको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले बताए । ‘२०७६र७७ मा मा चैतदेखि असारसम्म कारोबार भएन,’ उनले भने, ‘साउनबाट खुल्नेबित्तिकै रोकिएका कारोबार बढे । त्यसैले तथ्यांकमा वृद्धि देखियो ।’ वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्ससमेत जग्गामा लगानी भइरहेकाले कारोबार बढेको हुन सक्ने उनको भनाइ छ । ‘पहिला कित्ताकाट र जग्गाधनीको संख्या कम थियो,’ उनले थपे, ‘अहिले प्रत्येक वर्ष कित्ताको संख्या बढिरहेको छ ।’
विभागले यसबापत २०७५र७६ मा ३२ अर्ब ६१ करोड १८ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै २०७६र७७ मा ३४ अर्ब ८४ लाख ७५ लाख १० हजार र २०७७र७८ मा ५२ अर्ब ९६ करोड ७२ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कोभिड संक्रमणबाट जोगिन सरकारले निषेधाज्ञा जारी गर्दा जग्गाको कारोबार ठप्प थियो । सहज हुँदै जाँदा कारोबार हुन नसकेका जग्गाहरूको किनबेच बढेको हो । अहिले लगानीकर्ताहरूसमेत जग्गा कारोबारमा आकर्षित भएका छन् । अन्य क्षेत्रभन्दा जग्गामा लगानी गर्न कम जोखिम भएकाले लगानीकर्ता यसतर्फ लागेको सुवेदीले बताए ।
व्यक्तिगत रूपमा कित्ताकाट गर्ने संख्या बढेकाले जग्गा कारोबार वृद्धि भएको देखिएको नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ उपाध्यक्ष विदुर धमलाको भनाइ छ । ‘सरकारले कित्ताकाट रोकेको छ । तर जग्गाको कारोबार बढिरहेको छ,’ उनले भने, ‘यो व्यवस्थित हुन सकेको छैन ।’ अव्यवस्थित रूपमा हुने जग्गा कारोबारले जोखिम निम्त्याउने उनले बताए । आफूखुसी जग्गा किनबेच र घर बनाउने बढेकाले व्यवस्थित बस्ती निर्माणमा सरकारलाई नै चुनौती देखिएको उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस