बिजुली नतिर्नेहरु होसियार, प्राधिकरणले धमाधम लाइन काट्न थाल्यो, लाइन काटिएपछि बक्यौता तिर्न कुदाकुद - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 
विगत ५ महिनादेखि बक्यौता रकम असुल हुन नसकेको र पटक–पटक बक्यौता रकम तिर्न आग्रह गरे पनि अटेर गर्दै आएका संस्थाको लाइन काटेपछि उनीहरु धमाधम बक्यौता रकम तिर्न लागेका हुन् ।

बिजुली नतिर्नेहरु होसियार, प्राधिकरणले धमाधम लाइन काट्न थाल्यो, लाइन काटिएपछि बक्यौता तिर्न कुदाकुद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ मंसिर २०७५
Sunrise bank
बिजुली नतिर्नेहरु होसियार, प्राधिकरणले धमाधम लाइन काट्न थाल्यो, लाइन काटिएपछि बक्यौता तिर्न कुदाकुद
LBEF
NCH-IPS

काठमाडौं, मंसिर ३ । कहिले सुस्ताउने तथा कहिले जाग्ने भन्दै कहिले आलोचना त कहिले ताली पाउने संस्थाको रुपमा परिचित नेपाल विद्युत् प्राधिकरणले पछिल्ला दिनमा धमाधम काठमाडौं उपत्यकाभित्रैका बक्यौता नतिर्ने ग्राहकको विद्युत्को लाइन काटी महशुल उठाउन थालेको छ ।

प्राधिकरणले केही दिन अघि १३ वटा कम्पनी वा संस्थाका लाइन काटेको थियो । आइतबार अबेरसम्म ९ वटाकम्पनीले बक्यौता बुझाएका छन् । उनीहरुबाट ५१ लाख २४ हजार १५ रुपैयाँ बराबरको बक्यौता उठाइएको छ ।

विगत ५ महिनादेखि बक्यौता रकम असुल हुन नसकेको र पटक–पटक बक्यौता रकम तिर्न आग्रह गरे पनि अटेर गर्दै आएका संस्थाको लाइन काटेपछि उनीहरु धमाधम बक्यौता रकम तिर्न लागेका हुन् ।

प्राधिकरणको पुलचोक वितरण केन्द्रका अनुसार बक्यौता नतिर्ने कम्पनी, संस्था वा घरायसी ग्राहकको पनि अब धामाधम लाइन काटिन्छ । लाइन काटिएकामध्ये थप ४ कम्पनीले आइतबारसम्म बक्यौता बुझाउन अटेर गरेका छन् । उनीहरुले अझै अटेर गरे थप कारबाही गरिने र कालोसूचीमा राख्ने तयारी प्राधिकरणले गरेको छ ।

बक्यौता रकम तिर्न अटेरी गर्ने उमी समूहले २ लाख ६५ हजार ८९ बक्यौता तिरेको छ । यस्तै आर एन्ड आर होटल एन्ड रिसोर्टले २० लाख ५३ हजार, मेघा अस्पतालले २ लाख ५ हजार ५ सय, बुङमती इँटा उद्योगले पनि १० लाख बक्यौता बुझाएको छ ।

प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका अनुसार समा प्रिनिसा प्रालिले ११ लाख ८० हजार २ सय ८०, कलर वर्क प्रिन्टिङले ४१ हजार २६०, जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले ३ लाख १५ हजार, मग्न म्याक्स प्रालिले ५३ हजार ७५ र श्यामलाल श्रेष्ठले १० हजार ८ सय ११ बक्यौता बुझाएका छन् । बक्यौता रकम बुझाएपछि यी कम्पनीको काटिएको लाइन आइतबार अबेर जोडिएको हो ।

यस्तै ललितपुर उपमहानगरपालिका, साझा प्रकाशन, जयबुद्ध एग्रिगेट र नाङ्लो रेष्टुरेन्ट एन्ड गार्डेनले अझै बक्यौता रकम बुझाएका छैनन् ।

लाइन काटिने कम्पनीले ३० देखि १ हजार केभिएसम्मको लोड प्रयोग गर्दै आएका छन् । सबैभन्दा बढी आर एन्ड आर होटल एन्ड रिसोर्ट (१ हजार केभीए), ललितपुर महानगरपालिका (६१६ केभिए) समा प्रिनिसा (८ सय केभिए) बराबरको विद्युत् प्रयोग गर्दै आएका थिए । देशभर नै करिब २ अर्ब बढीको बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस