
काठमाडौं । राजस्व अनुसन्धान विभागले एभरेष्ट मोबाइल सेन्टर विरुद्ध राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभागले रुपन्देहीको सिद्धार्थनगरपालिका वडा नं. ९ स्थायी ठेगाना भएका एभरेष्ट मोबाइल सेन्टरका प्रोपराइटर विष्णु ज्ञावाली विरुद्ध १४ करोड ७५ लाख ५१ हजार १५२ रुपैयाँ विगो दाबी सहित सोमबार मुद्धा दायर गरेको हो ।
ज्ञावालीविरुद्ध सात करोड ३७ लाख ७५ हजार ५७६ विगो र सात करोड ३७ लाख ७५ हजार ५७६ जरिवानासहित १४ करोड ७५ लाख ५१ हजार १५२ रुपैयाँ सजायको माग दाबीसहित उच्च अदालत तुलसीपुरमा मुद्धा दायर गरिएको हो ।
राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ३ ले निषेधित गरेका कामहरु गरेको आरोप लगाउदै मुद्धा दायर गरिएको छ । विभागका अनुसार ज्ञावालीले फर्ममा रहेका मोबाईलजन्य मालवस्तुहरुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको, निजले पेश गरेको वित्तीय विवरण र आय विवरणमा बिक्री आय लुकाएको पाइएको छ ।
साथै, उनले मालवस्तु विक्री गर्दा बिल बिजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरी पैठारी गरी मालवस्तुको अधिक मौज्दात देखाई निज प्रतिवादीले अवैध (लुज) बिल बिजकबाट मालवस्तु खरिद र बिक्री गरी वास्तविक बिक्री आय लुकाएको, बिल बिजक जारी नगरी मालवस्तु बिक्री गरिएको तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस