'टाटाले तुरुन्तै दुई वटा प्रोडक्ट ल्याउँदै छ' (भिडियाे सहित) - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

'टाटाले तुरुन्तै दुई वटा प्रोडक्ट ल्याउँदै छ' (भिडियाे सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
Sunrise bank
LBEF
NCH-IPS

नेपालको अटो मोबाइल्सका क्षेत्रमा अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ प्रालि रहेको छ । भारतीय गाडी उत्पादक टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् । उनले अटोमोबाइल्स क्षेत्रमा अढाई दशकभन्दा बढी समय व्यतित गरिसकेका छन् ।  ग्राहकको सन्तुष्टि र सेवालाई सधैं प्राथमिकतामा राख्ने श्रेष्ठसँग आर्थिकन्युज डटकमले नेपालमा अटोमोबाइलको बजार, व्यापारदेखि सिप्रदीका आगामी योजनालगायतका विषयमा गरेको कुराकानीः

नेपालका अटोमोबाइल्स क्षेत्रको व्यापार उकालो र ओरालो कुन दिशामा अगाडि बढिरहेको छ ?
अटोमोबाइल्सको कुरा गर्दा प्रविधि सबैभन्दा बढी आउँछ । बजारमा नयाँ–नयाँ प्रविधिको विकास भइरहेको छ । नेपालको अटोमोबाइल्स  व्यापारमा पनि यसको धेरै नै प्रभाव परेको देखिन्छ। हामी सामान्यतया अप्रिलदेखि मार्चसम्म संख्या हेर्ने गर्छौं । सन् २०१७/०१८ र ०१८/०१९ को तथ्याङ हेर्दा के देखिन्छ भने यात्रुबाहक र ढुवानीमा प्रयोग हुने सवारी साधनको संख्यामा खासै ठूलो घटबढ छैन । तर, अहिलेको अप्रिलपछि हेर्दा चाहिँ  समान ढुवानीका र यात्रुबाहक दुवै प्रकारका सवारी साधनको संख्यामा निकै  कमी आएको छ। 

किन यस्तो देखियो, यसको कारण के हुनसक्छ ?

यसको प्रमुख कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव नै हो । यसबाहेक ट्रक वा बस कुनै पनि सवारी साधनको व्यापारमा ठूलो लाभ देखिएको छैन । बसको सवालमा त झन् सरकारले पुराना समिति खारेज गरेको र नयाँ तरिकाले बस सञ्चालन गर्ने भने पनि सही ढंगको मार्गनिर्देशन नगर्दा समस्या आएको देखिन्छ। अन्योेलताका बीच कसैले लगानी गर्ने कुरा पनि भएन ।

ट्रकको हकमा पनि कुरा त्यही हो । ठूलो लगानी गर्नुपर्ने तर नाफा नहुने भएपछि कसले किन लगानी गर्ने? अब सरकारलाई यसप्रति कुनै चासो नै छैन। यसबाहेक बैंकले ठूलो रकम लगानी नगर्ने र ५० प्रतिशतभन्दा बढी व्यवसायीले नै नगद लगानी गर्नुपर्ने बाध्यताले पनि समस्या सिर्जना गरेको छ । 

सवारी साधनमा गरिएको खर्च र भएको लगानीलाई अनुत्पादक क्षेत्रमा भएको लगानी वा खर्च भन्ने गरिएको छ नि ?

यो आरोप सही होइन । म किन यसो भनिरहेको छु भने ढुवानीका सवारीसाधन होस् या यात्रुबाहक साधनमा गरेको लगानी होस् त्यो उत्पादनमुलक क्षेत्रमा गरिएको लगानी नै हो । म त अझ के भन्छु भने निजी प्रयोजनका लागि प्रयोग हुने साना सवारी साधनमा भएको लगानी पनि उत्पादनमुलक  क्षेत्रमा भएको लगानी नै हो। 

तर सरकारले नै तपाईंहरुले गरेको लगानी अनुत्पादक क्षेत्रमा भएको लगानी भनेर व्याख्या गरेको छ, के तपार्ईंहरुले सरकारलाई बुझाउन नसकेको हो?

व्यक्तिगतरुपमा हामी सबै व्यवसायी र सांगठनिक रूपमा हाम्रो छाता संगठन नाडा अटोमोबाइल्स दुवैले सरकारलाई बुझाउने प्रयत्न गरिरहेको छ ।  

अटोमोबाइल्सको व्यापारलाई निरूत्साहित गर्दा सरकारलाई वा अरु कसैलाई के फाइदा हुँदोरहेछ? 
सरकारलाई त फाइदा नै छ नि । सवारी साधनको आयातमा भन्सार कर धेरै लगाउँदा ठूलो मात्रामा राजस्व संकलन हुन्छ । यसबाट सरकारलाई देश चलाउन सजिलो हुन्छ। हो, सवारीसाधनको आयातले व्यापार घाटालाई सहयोग पुर्याएको छ । तर, आवश्यक वस्तुको आयात रोक्ने भन्दा निर्यात कसरी वृद्धि गर्ने भन्नेबारे पो सोच्नुपर्छ ।

व्यापार घाटा कम गर्ने नाममा आयातमा कडाइ गर्ने र अत्याधिक भन्सारदर लगाउने गर्दा अन्तर्राष्ट्रियरुपमा नेपालबारे कस्तो छवि निर्माण होला?

आवश्यक वस्तुमा भन्सार दर बढाउँदैमा व्यापार घाटा कम हुँदैन भन्ने कुरा त अर्थमन्त्रीले समेत भनिसक्नुभएको छ। विश्व व्यापार संगठनले पनि यस्तो अत्याधिक कर लगाउने कुरालाई स्वीकार गर्दैन ।  

विश्वभरका ठूला कम्पनीले यहाँ व्यापार गरिरहेका छन्। नेपाली बजारमा गाडीको राम्रो माग पनि छ । के नेपालमा नै गाडी निर्माण गर्ने प्लान्ट लगाएर गाडी उत्पादन गर्दा हुँदैन ?

यदि सरकारले वातावरण बनायो भने त्यो सम्भव छ। धेरैवटा कम्पनीले यसो गर्ने योजनाका साथ अध्ययन गरेर बसिरहेका छन् । यसका लागि सरकारले आधारभूत रुपमा के–के गरिदिनुपर्छ भन्ने विषयमा पनि छलफल चलिरहेको छ । तर, अहिलेसम्म पनि सरकारले ल यसरी नै जाउँ भनेर भन्न नसकेका कारण ढिलो भएको हो । गाडी निर्माता कम्पनीलाई यहाँ प्लान्ट लगाउनको लागि सरकारले नै प्रोत्साहित गर्नुपर्छ। 

नेपालमा नै यसरी गाडी निर्माण हुने हो भने अहिलेको भन्दा कति सस्तो मूल्यमा गाडी पाइन्छ होला ? 

यसबारे अहिले नै केही भन्न सकिने अवस्था छैन । सरकारले के–के कुरामा छुट दिन्छ त्यसले नै सबै कुरा निर्धारण गर्छ । नेपालमा श्रम सस्तो छैन । त्यसैले उत्पादन मूल्यमा ठूलो अन्तर चाहिँ पर्दैन । तर, भन्सार करले बढाएको मूल्य भने कम हुन्छ । 

विश्वका अन्य मुलुकमा प्रदूषण मापदण्डको आधारमा मात्र  सवारीसाधन आयात गर्न दिइन्छ, हाम्रोमा पनि केही त्यस्तो प्रावधान छ ? 

हाम्रोमा अहिले युरो थ्री वा सो सरह मापदण्ड तयार गरिएको छ । पर्यावरणीय दृष्टिकोणले हामीले प्रयोग गर्ने गाडी ठिक हुनुपर्छ। यो अति आवश्यक छ। प्रदूषण मापदण्ड बढाउँदै लैजाने हो भने योसँगै प्रविधिको पनि विकास भइरहेको हुन्छ। अब त्यो प्रविधिलाई बुझेर त्यसअनुसार मर्मत गर्न सक्ने मानिस पनि त हुनु पर्यो । केन्द्रमा आयातकर्ताले त त्यस्ता प्राविधिक राख्न सक्ला तर देशभर नयाँ प्रविधिमा काम गर्न सक्ने मानिस चाहिन्छन् ।

नेपालमा ठूलो परिमाणमा विद्युतीय सवारी साधन भित्रिन थालेका छन् । के सिप्रदीले पनि त्यस्ता सवारी साधन भित्र्याउने योजना बनाएको छ ?
हामीले अघिल्लो नाडा अटोशोको समयदेखि नै यसबारे काम थालेका छौं । अहिले टाटाले यो कामलाई प्राथमिकतामा राखेर अघि बढेको छ । तर, सिप्रदीले चाहिँ अहिलेसम्म कुनै पनि विद्युुतीय सवारी ल्याइसकेको भने छैन ।  यहाँ त्यसको लागि चाहिने पूर्वाधार नभएर नै हामीले ढिलो गरेका हांै । 

अरु पनि केही कारण छ कि ? 
विद्युतीय सवारी साधनको मूल्य धेरै बढी छ, त्यसैले के हेर्नु जरुरी हुन्छ भने पेट्रोलियम पदार्थ चाहिंँदैन भनेर धेरै मूल्य हालेको यस्तो साधनले पेट्रोलमा हुने खर्च भन्दा बढी त खर्च गराउँदैन ।  अर्कोकुरा के छ भने यसलाई चाहिने चर्जिङ सिस्टमको निर्माणमा पनि ठूलै खर्च गर्नुपर्ने हुन्छ ।  फेरि यस्तो संरचना बनाउन समय पनि त लाग्छ । यो सबै बनाउन सके त दीर्घकालमा राम्रै होला नत्र भने चुनौती ठूलो छ। 

विद्युतीय सवारी साधन यति धेरै महँगो हुनुको कारण चाहिँ के हो ?
पहिलो त यसको ब्याट्रीको मूल्य नै हो । अहिले जुन लिथिनियम ब्याट्री आउँछ त्यसको मूल्य धेरै पर्छ । नेपालको सन्दर्भमा त सरकारले भन्सार छुट दिएका कारण केही सस्तो छ। तर, सरकारको राजस्वमा त यसले ठूलो प्रभाव पनि पारेको छ । हालको अवस्थामा प्रयोगकर्तालाई भने राहत नै छ।

सरकारले भर्खरै लागू गरेको क्लिन फिड नीतिले तपाईंहरुको व्यापारमा पनि केही असर गर्छ ?
नेपालको विज्ञापन पनि नराम्रो त छैन । तर, जुन विश्वस्तरका रचनात्मक विज्ञापन थिए, त्यस्ता यहाँ बन्न सक्दैनन् । हामीसँग क्षमता त होला तर त्यसलाई चाहिनेजति लगानी गर्न नै सक्दैनौं । उताको विज्ञापनले जति सजिलो ब्रान्ड बन्थ्यो त्यो हुन गाह्रो छ । मैले हाम्रा विज्ञापनहरुको गुणस्तर कम भयो भने मानिसले त्यसलाई नरुचाउने पो हुन कि भन्ने चिन्ता मात्र जाहेर गरेको हुँ । 

भनेपछि हाम्रो क्षमताको कुरा आयो, होइन ?
हाम्रा विज्ञापन एजेन्सीहरु काम गर्न सक्षम छन् । तर, त्यो निर्माण गर्दा लाग्ने खर्चलाई धान्न सक्ने स्थितिमा हाम्रो उद्योग छ वा छैन भन्ने हो । हाम्रो विज्ञापन उद्योग त्यति ठूलो पनि त छैन । यो सबैको हकमा उसैगरी लागू हुने कुरा होइन । कुनै उद्योगले त्यो खर्च धान्न पनि सक्लान् । 

अटो बाहेक सिप्रदीका अन्य व्यापार के–के हुन् ?
सिप्रदीको प्रमुख व्यापार अटो नै हो । त्यसबाहेक अरु दुईवटा पनि छन्, निर्माणकार्यमा प्रयोग हुने साधन र पावर ब्याकअप सोलुसन । पहिलो निर्माणका साधन त अटोजस्तै हो । हामी वैकल्पिक ऊर्जाको स्रोतको रुपमा सौर्य ऊर्जा र ऊर्जा संकटको बेला ब्याट्री वा अन्य वैकल्पिक पावर कसरी दिने भन्नेमा काम गर्छौं ।

के तपाईहरु सौर्य ऊर्जा उत्पादनमा पनि जाँदै हुनुहुन्छ ?
हामीले यसबारे धेरै अध्ययन गर्यौं । सरकारले पनि यस्ता धेरै योजना अघि सारेको छ । तर, हाम्रो अहिले नै त्यस्तो केही थालनी गर्ने सोच छैन । यसमा सबैभन्दा ठूलो समस्या जग्गाको हो । सौर्य ऊर्जाका लागि दक्षिण मोहडा भएको ठूलो परिमाणमा जग्गा चाहिन्छ । यदि सरकारले जग्गाको प्रबन्ध मिलाईदिएमा केही सोच्न सकिन्छ । व्यक्तिहरु भाडामा जग्गा दिने सोचमा छैनन्, हामी आफंै किनेर थाल्ने पक्षमा छैनौ । तर, त्यसका लागि आवश्यक सामग्रीको व्यापार भने गरिरहेका छौं ।

नेपालका सवारी पारखीका लागि सिप्रदीले तुरुन्तै केही नयाँ ल्याउंँदैछ ?
अहिले तुरुन्तै दुई वटा प्रोडक्ट ल्याउँदैछौं । एउटा सीयुभी र अर्को फिमेल ह्याचब्याक । यो दुवैको भारतमा राम्रो फिडब्याक आएको छ। कमर्सियल भेहिकलमा चाहिँं हामीले नेपालमा जे जस्तोको माग आउँछ त्यस्तै उता टाटालाई भनेर निर्माण गर्न लगाउने गरिरहेका छौं । 

सिप्रदीबारे टिप्पणी के गरिछ भने यो कमर्सियल भेहिकलमा एक नम्बर भयो तर प्यासेन्जर भेहिकल (साना सवारीका साधन)मा भने प्रतिस्पर्धा नै गर्न सकेन, के यस्तै हो ?
पहिलादेखि नै टाटा कमर्सियलमा एकदमै राम्रो रहयो । तर, जब टाटाले सन् २००७ देखि प्यासेन्जर भेहिकल बनाउन थाल्यो त्यसबेला पनि डिजेल इन्जिनमा नै फोकस गरियो । आम मागलाई ध्यानमा राख्दै सन् २०१४ देखि यसले ठूलो फड्को मार्यो। किनकि त्यसपछि टाटाले पनि ग्लोबल टेक्नोलोजीलाई  अंगिकार गर्यो । त्यसैले अहिले बल्ल यसले यो क्षेत्रमा आप्mनो पकड जमाउन थाल्यो । अहिले नेपालमा हाम्रो व्यापार र हाम्रा उत्पादन प्रति उपभोक्ताको रुचि बढेको छ । हाम्रो बिक्रीपछिको सेवाको कारण पनि यो सम्भव भएको हो। फेरि पनि के स्वीकार गर्नुपर्छ भने हामीले गर्नुपर्ने अझै धेरै छ। 

सिप्रदीलाई राम्रो व्यवस्थापन भएको संस्था भनिन्छ । यो छाप कसरी बन्न सम्भव भयो ?
यो कम्पनीले व्यापार गर्न शुरु गरेको ३७ वर्ष पूरा भइसक्यो । शुरुवातदेखि नै हामीले पारदर्शी व्यापार गर्ने संस्कृतिको विकास गर्यौं । हामीले हाम्रा कर्मचारीलाई हाम्रो मूल्य र मान्यता सिकाउँछौ । त्यसैअनुसार चल्न भन्छौं । यसरी नै संस्कृतिको विकास हुन्छ । 

एउटा व्यक्तिगत प्रश्न, तपार्इं सिप्रदीसँग जोडिनुपुर्व के गर्नुहुन्थ्यो ?
म सन् १९९३ देखि अटोको व्यापारमा छु । यो कम्पनी भन्दा अघि म टोयटामा काम गर्थे । अनि मारुतीको डिलरसिप हुँदै टाटामा आएको नै २० वर्ष भइसक्यो ।

प्रतिक्रिया दिनुहोस