aarthiknews.com शुक्रबार, ०१ असोज २०७८   Friday, 17 September, 2021
 
Bajaj_Bike

वैदेशिक रोजगारमा जानेलाई जोन्सनको खोप दिन आग्रह

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, ३१ असार २०७८
Citizen life
वैदेशिक रोजगारमा जानेलाई जोन्सनको खोप दिन आग्रह
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकलाई अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवस्तरीय निर्णय गर्दै विभागले बुधबार विदेश जानेलाई खोपको व्यवस्थाका लागि आवश्यक प्रबन्ध गर्न सीसीएमसीलाई पत्रमार्फत आग्रह गरेको हो ।

सरकारले असार २८ गते खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप लगाउने र शरणार्थीका लागि जोन्सन एन्ड जोन्सनको खोप दिने निर्णय गरेको थियो ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले खोप प्राप्त गर्न नसक्दा नेपाली श्रमिक रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्था नआओस् भनेर एक डोजवाला (जोन्सन एन्ड जोन्सन) उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए । सरकारले गएको सोमबार मात्रै वैदेशिक रोजगारीमा जानेलाई भेरोसेल खोप उपलब्ध गराउने निर्णय गरेको छ र मङ्गलबारदेखि खोप केन्द्र तोकेर खोप दिन पनि थालिएको छ ।

पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउन कम्तीमा चार हप्ताको अन्तर हुनुपर्ने भेरोसेल वैदेशिक रोजगारीमा जानेका लागि उपयुक्त नहुने भन्दै उनले एउटै डोज लगाए पुग्ने खोप नै प्राथमिकता दिनुपर्ने बताए ।

नेपाली श्रमिकका अधिकांश गन्तव्य मुलुकले भेरोसेल खोपलाई मान्यता नदिएकाले पनि जोन्सन एन्ड जोन्सन खोपको व्यवस्था मिलाउन महानिर्देशक दवाडीले आग्रह गरे ।

वैदेशिक रोजगार व्यवसायी र विदेश जाने श्रमिकले पनि विदेश जान तयार भिसा लागेर जाने तयारी गरेका नेपालीलाई एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सन नदिएर चार हप्ताको अन्तरमा लगाउनुपर्ने भेरोसेल खोप दिने सरकारी निर्णयको व्यावहारिक नभएको भन्दै सरकारको निर्णयको आलोचना गरिरहेका छन् ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका कतार, कुवेत, साउदीजस्ता देशले भेरोसेललाई मान्यता दिएका छैनन् । त्यहाँ मोडेर्ना, अस्ट्राजेनेका, फाइजर र जोन्सन एन्ड जोन्सनले मात्र मान्यता पाएका छन् । जोन्सन एन्ड जोन्सनको खोप एक डोजको हो र यो खोप लगाएपछि श्रमिक तुरुन्तै काम गर्ने देशमा जान पाउँछन् ।

साथै श्रम स्वीकृत गरेको प्रमाण र राहदानीसहित तोकिएको जोन्सन एन्ड जोन्सन खोप केन्द्र वा स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले तोकेको केन्द्रबाट खोप प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस