aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank

बीमा कम्पनीले शंका गर्न थालेपछि विनोद चौधरी आफै पुगे दुम्कौली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
Nabil Bank
बीमा कम्पनीले शंका गर्न थालेपछि विनोद चौधरी आफै पुगे दुम्कौली
LBEF

काठमाडौं । आगलागी घटनाको मुचुल्का समेत नउठाएर सरोकारवाल सबैलाई दिक्क बनाएको भन्दै सार्वजनिकरुपमा नै आलोचना भएपछि चौधरी ग्रुप अब जुर्मुराएको छ । गत जेठ १९ गते चौधरी ग्रुपको पूर्वी नवलपरासी स्थित देवचुली नगरपालिका दुम्कौलीमा रहेको औद्योगिक ग्राममा सञ्चालित सिजी ब्रुअरीमा आगलागी भएको थियो ।सो आगलागी घटनामा के कति क्षति भयो भन्ने धेरै पक्षले चासो राखेका थिए । तर, स्थानीय प्रहरीदेखि नगरपालिकाका अधिकारीहरूलाई समेत चौधरी ग्रुपले यससम्बन्धी जानकारीबाट धेरै टाढा राख्दै आएका छन् ।  

अरू त अरू सो उद्योगको बीमा गरेका दुई वटा बीमा कम्पनीमा कर्मचारी समेत चौधरी ग्रुपको असहयोगबाट आजित बनिसकेका थिए । उनीहरूले नै किन भएको क्षति विवरण दिन चौधरी ग्रुपले आनाकानी गर्दै छ भन्दै अनेकौँ आशंका उब्जिएको बताउन थालेका छन् । 

चौधरी ग्रुपले कतै २०६९ सालमा सतुगंलमा रहेको सिजी इलेक्ट्रोनिकको गोदाममा लागेको आगलागीमा झैँ मुद्दा मामिलातिर पो पुर्‍याउने हो की भन्ने बीमा कम्पनीको चासो छ । उनीहरूले घटना घटेको महिना दिन लामो समयसम्म सामान्य क्षति विवरण समेत सो समूहले उपलब्ध नगराउँदा आगामी दिनमा चौधरी समूहका व्यापार, व्यवसाय र उद्योगको बीमा स्वीकार गर्ने वा नगर्ने दोधार बढेको भन्दै टिप्पणी समेत गर्दै आएका छन् ।   

एउटा ठुलो व्यापारिक घरानाको उद्योगमा भएको क्षतिलाई स्वभाविक प्रक्रियामा लगेर बीमा दाबी गर्न चौधरि समूहले गरेको आनामानी आफैमा रहस्यमय बन्दै गएको छ । यसबारे अनेकौँ आशंकायुक्त चर्चा सार्वजनिक भइरहेका बेला सो ग्रुपका सर्वोच्च व्यक्तित्व तथा नेपालबाट विश्व अर्बपतिहरुको सूचीमा नाम दर्ता गर्न सफल व्यापारी विनोद चौधरि बुधवार स्वयम दुम्कौली पुगेका हुन् । 

सो उद्योगमा कार्यरत एक कर्मचारीका अनुसार अनेकौँले सोध्ने गरेका प्रश्न र आफूसंग नभएको जवाफबाट दिक्दार बन्नुपर्ने अवस्थाबाट अब मुक्ति पाइन्छ की भन्ने आस उनीहरूमा समेत पलाएको छ । कहाँ पुग्यो त मुचुल्का उठाउने र क्षति विवरण बीमा कम्पनीमा पेस गर्ने प्रक्रिया भन्ने प्रश्नको जवाफमा ती कर्मचारीले भने, ‘हजुर यो चौधरी ग्रुप हो । यहाँ सबै काम माथिबाट हुन्छ । आजै मात्र ‘बिग बोस’ आउनु भएको थियो । सबै कुरा बताएर उतै पठाइदिएका छौँ । त्यतै सोध्नुहोस् ।’ 

घटना दर्ता हुने पहिलो सरकारी निकाय स्थानिय प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर नबिन थापाको कुरा सुन्दा समेत यो प्रकरणमा बन्ने क्षतिको विवरण सहि र तथ्यपरक नबन्ने सहज अनुमान लगाउन सकिन्छ । त्यहाँ उद्योगका कर्मचारीको भनाईसंग मेल खाने गरि थापाले भने, ‘अहिलेसम्म घटना दर्ता नै भएको छैन । यस्तोमा के गरौँ भनेर माथी जाहेरी गरेको जे लिएर आउँछन् त्यहि सदर गरिदिनु भन्ने आदेश छ ।’ 

उद्योगका कर्मचारीका अनुसार बीमा कम्पनी र सञ्चारमाध्यमहरुले समेत निकै चासोका साथ क्षतिको विवरण सार्वजनिक गर्न चौधरी ग्रुपले गरेको ढिलाइप्रति टीकाटिप्पणी हुन थालेका कारण विनोद चौधरी आफै त्यहाँ गएका हुन् ।  

चौधरी ग्रुपका अध्यक्ष समेत रहेका विनोद चौधरी स्वयमले घटना विवरण र त्यससँग सम्बन्धित प्रक्रियाहरूमा चासो देखाएपछि अब एक महिनाभन्दा अघिको आगलागीमा भएको क्षतिबारे विवरण सार्वजनिक हुने अनुमान गरिएको छ । तथापि चौधरी समूहले सूचना लुकाउने आफ्नो सनातन बानीमा सुधार गरे मात्र त्यस्तो अपेक्षा गर्न सकिने आर्थिक पत्रकारहरूले टिप्पणी गरिरहेका छन् ।  

यो पनि पढ्नुहोस् : 

चौधरी ग्रुपसँग आजित बीमा कम्पनी, उठ्न थाले अनेकौं आशंका

किन गर्दैछ चौधरी ग्रुपले ठूलो बीमा दाबीमा ढिलासुस्ती ?

चौधरी ग्रुप आगलागीबाट भएको क्षतिको विवरण कुर्दै, विद्युत सर्टबाट आगलागी

प्रतिक्रिया दिनुहोस