aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
everest bank
सफलताको कथा

लकडाउनले बनायो उद्यमी, फेरिए पुजाका तनावग्रस्त दिनहरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ असार २०७८
Nabil Bank
लकडाउनले बनायो उद्यमी, फेरिए पुजाका तनावग्रस्त दिनहरू
LBEF

समय आफै कसैको लागी अनुकूल र कसैको लागी प्रतिकुल हुँदैन। व्यक्तिको सोच, विचार, इच्छा, मेहनत आँट र मेहनतले सबै कुरा निर्धारण गर्दो रहेछ । अहिले यसो भन्न सक्ने अवस्थामा पुगेकी छिन्, पूजा जोशी। तर ठिक एक वर्ष अगाडि उनको अवस्था बिलकुल भिन्नै थियो । अहिले उनी अरूलाई प्रेरणा दिन सक्ने अवस्थामा पुगिसकेकी छिन् । उनले लकडाउनका बेला सुरु गरेको उद्योगबाट उत्पादित  अचारको माग धान्न नसक्ने अवस्थामा छिन्, पूजा । सबैले व्यावसायिक घाटा बहन गरिरहेका बेला अचार बनाएर बेच्ने व्यवसायबाट नै मनग्ये आम्दानी गरिरहेकी छिन्, उनी । त्यसैले उनी अरूलाई पनि हिम्मतका साथ अगाडी बढ्न र कर्ममा विश्वास गरेर सफलतामा पुग्न सल्लाह दिन समेत सक्ने भएकी छिन् ।

लकडाउनको अँध्यारो चिर्दै यसरी बल्यो बत्ती

लामो समय देखी होस्टेल व्यवसाय गर्दै आएकी ललितपुर कुपण्डोल निवासी पूजा  व्यवसाय गर्ने सिलसिलामा सानेपामा बस्छिन् । आफूले गर्दै आएको व्यवसाय ०७६ चैत ११ गते देखी लागु भएको लकडाउनले ठप्प पार्‍यो । लकडाउन खुली पो हाल्छ कि भन्ने आसमा दुई महिना त सहजै बित्यो तर त्यस पछि मनमा दन्किएको पिरको ज्वालाले उनलाई शारीरिक रूपमा समेत गाह्रो पार्न थाल्यो ।

अकस्मात् चलाउनै नसक्ने गरी दुई वटै पाता दुख्न थालेपछि उनी डाक्टरकोमा गइन् । उनले केही औषधी दिए र नियमित फिजियोथेरापी गर्न सल्लाह दिए । फिजियोथेरापीको लागि अस्पताल जान सक्ने अवस्था थिएन, कोरोना महामारीको कारण । त्यसैले महँगो पैसा तिरेर घरमा नै फिजियोथेरापिष्ट बोलाइन् मसाज गर्न । तर, निको भएन । कुरै कुरामा तिनै फिजियोथेरापिष्टले भने “आन्टी तपाईको स्ट्रेस पेन (तनावका कारण भएको दुखाई) हो । आफूलाई व्यस्त  राख्नुहोस्, आफै ठिक हुन्छ ।”

उनी भन्छिन्, “त्यस पछि के गर्ने भन्ने सोचेँ । त्यही क्रममा अठार वर्ष अगाडि अचार बनाउने तालिम लिएको कुरा याद आयो।” के कसरी बनाउने भन्ने सम्म त उनको दिमागले सम्झियो तर कति मात्रामा कुन सामाग्री प्रयोग गर्ने भन्ने स्मरण गर्न सकिनन् । पुरानो नोट फेला परेन । त्यसैले आफूलाई त्यो बेला तालिम दिने गुरु चन्दा शाक्यको खोजीमा लागिन् । अन्ततः उनले फेला पारिन् र दुई दिन फेरी पुनर्ताजगी तालिम (रिफ्रेसमेन्ट ट्रेनिङ) लिइन् । उनै अवकाश प्राप्त जीवनयापन गरिरहेकी फुड टेक्निसियन शाक्यको प्राविधिक सहयोगमा सुरु ठिक एक वर्ष अघि सुरु भयो, ‘डटर्स होम अचार उद्योग’। उनले चलाउँदै आएको होस्टेलको नाम पनि  ‘डटर्स होम’ नै हो ।

अरूको उद्धार, आफू पनि रोजगार

होस्टेल व्यवसाय बन्द भएपछि त्यहाँ रहेका कामदारहरूको जागिर गुम्दै थियो तर पूजाले अचार बनाउन थालेपछि त्यहीं सहयोगीको रूपमा दुई जना कामदारले निरन्तरता पाए । केही समय नबित्दै अनपेक्षित रूपमा अचारको माग बढ्न थाल्यो । उनले अचार बनाएर दिन भ्याइनभ्याइ भयो । धेरैले रोजगारी गुमाएर घरमा बसेको बेला पूजाले थप दुई जनालाई फेरी कामदारको रूपमा रोजगारी दिइन्।

यसरी उत्पादन बढ्यो । व्यापार निरन्तर रूपमा चल्न थाल्यो । फेसबुकमा प्रचार गरे कै आधारमा चलिरहेको व्यापारमा मात्रै सीमित थिइन्, उनी । त्यही बेला उनलाई मुना कृषि बजारबाट प्रस्ताव आयो- तपाईको अचार राम्रो लाग्यो, हामीलाई पनि दिनुस्। हामी पनि बेची दिन्छौं ।” त्यसपछि गएको दशैको घटस्थापनाको दिनदेखि मुना बजारका सबै शाखाहरूबाट उनको अचार बिक्री भइरहेको छ ।

आफ्नै घरमा आएका दिगो प्रकारका थोक ग्राहकहरूको समेत पूजाले अब साथ पाइन् । अहिले उनका धेरै स्थायी थोक ग्राहक बनिसकेका छन् । जसले आफ्नो पसलहरूमा ‘डटर्स होम अचार’ बिक्री गर्छन् । जसमध्ये ग्यापो डटकम, कर्नर ग्रिन स्टोर, ग्रिन हाउस सेन्टर र फ्रोजन ग्यालरी प्रमुख हुन् ।

सानो लगानी, मनग्गे आम्दानी

कति पुँजीबाट अचार बनाउन सुरु गर्नु भएको थियो ? भन्ने प्रश्नको जवाफमा उनी हाँस्दै भन्छिन्, “त्यस बेला कहाँ आफूसँग पैसा थियो र । पचास हजार सापटी खोजेर सुरु गरें ।” हुन पनि लकडाउन भए देखी नै होस्टेल व्यवसाय बन्द हुँदा घर भाडामा मात्र मासिक अढाई लाख घाटा व्यहोरी रहेकी थिइन्, पूजा । त्यसमाथि बेरोजगार भएर बस्दा हुने घर खर्च र चिन्ताले थपेको रोगका कारण बढेको उपचार खर्च, वास्तवमा नै स्थिति कहालीलाग्दो थियो ।

पूजाले अचार बनाउन थालिन् । श्रीमान् र दुई जना छोरीले सहयोग गरे । चार जना कामदार समेतको निरन्तर सक्रियतामा गुणस्तरीय अचार बन्यो । ग्राहकले असाध्यै रुचाए । अहिले दैनिक १० हजारसम्मको अनलाइन व्यापार घरबाट नै गर्दै छिन्, निषेधाज्ञाको बेलामा पनि। नियमित ग्राहक र थोक क्रेता घरमा नै आउँछन्, अचार किन्न । मासिक आम्दानीले घर खर्च राम्ररी चलेको छ । कर्मचारीलाई तलब पुगेको छ ।

फेरी दोस्रो लकडाउनसम्म आइपुग्दा होस्टेल व्यवसायले थपेको घाटा कम गर्न समेत सहयोग पुगिरहेको छ । आम्दानीबाट कति सन्तुष्ट हुनुहुन्छ भन्ने जिज्ञासामा उनी प्रफुल्लित भावमा जवाफ दिन्छिन्, “मनग्गे कमाइ भइरहेको छ, सोचेभन्दा धेरै ।”

त्यसो त, अचार व्यवसायबाट उनले प्राप्त गरेको लाभ नगद मात्र होइन । पूजा कै शब्दमा भन्नुपर्दा सबै बेरोजगार भएर तनावमा भएको बेला उनलाई र उनको परिवारलाई टुसुक्क बस्ने फुर्सद छैन । त्यसले दिने सन्तुष्टिको त झन् मूल्य नै नहुने उनको बुझाई छ ।

पूजाको सपना  

ठिक एक वर्ष अघि जुलाई २ तारिकका दिन होस्टेल कै भान्सामा अचार बनाउन सुरु गरेकी पूजा अहिले अचार उद्योग खोल्ने योजनामा पुगिसकेकी छिन् । ‘डटर्स होम अचार’ एक वर्ष नबित्दै काठमाडौँ उपत्यकामा स्थापित ब्राण्ड बनेका कारण त्यो आँट आएको उनी बताउँछिन् । अहिले पूजाले २२ प्रकारका अचारहरू उत्पादन गरिरहेकी छिन् । जसमा १८ वटा भेजिटेरीयन र  ४ वटा नन् भेज रहेका छन् । मासुको अचारमा मानिसहरूको रुचि असाध्यै रहेको पूजाको अनुभवले भन्छ । त्यसबाहेक उनका अन्य उत्पादनहरू गुन्द्रुक, सिन्की, तामा र गुलियो सस् लगायतको माग समेत निकै उच्च छ ।

यी सबै वस्तुहरू होस्टेलको भान्सा र कोठामा नै उत्पादन गरेर माग अनुसारको आपूर्ति गर्न नसकिने निचोडमा उनी पुगेकी छिन् । व्यवस्थित उद्योगका रूपमा यसको बिस्तार अपरिहार्य बनेको निष्कर्षमा उनी पुगेकी हुन् । त्यसैले उनी अहिले व्यवस्थित उद्योगबाट ‘डटर्स होम अचार’ उत्पादन गरेर बिक्री गरेको सपना देख्न थालेकी छिन्।

व्यवसाय विस्तारमा देखिएका समस्या

“रहर मात्र गरेर नहुने समस्या नै धेरै छन्, क्या”, उनी थप्छिन्, “पहिलो कुरा त पुँजी चाहियो । यो महामारीको समयमा पुँजी कसरी जुटाउने केही थाहा छैन ।” यसबाहेक ठुलो उद्योग नै चलाउन आवश्यक व्यवस्थापकीय ज्ञान समेत आफूसँग नभएको पूजा बताउँछिन् । बजारीकरणको लागी उनले जानेको त्यही ‘फेसबुक बुष्ट’ मात्रै हो । अरू के गर्ने केही थाहा छैन । “ठुलो मात्रामा उत्पादन गरेर कसरी र कहाँ बेच्ने ?” पूजासँग यस्ता प्रश्नको लामो सुची नै छ । जुन उनका सपनामा तगारो बनेर उभिएका छन् ।

त्यसमाथि अर्को चिन्ता पनि छ – कतै ठुलो मात्रामा उत्पादन गर्दा गुणस्तर खस्कने पो हो की ? हातले बनाएको जस्तो घरेलु स्वाद मेसिनको प्रयोग गरेर  अचार बनाउँदा नआउने पो हो कि ? जसको जवाफ आफैँ खोज्न उनी सक्दिनन् । प्राविधिक ज्ञानको पनि सीमितता छ, उनमा । त्यसको निदान पूजालाई फड्को मार्नको लागि अनिवार्य छ ।

अचारको लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति समस्या पनि उनले भोगिरहेकी छिन् । भन्छिन्, “यहींको बजारबाट किनेर मात्र नहुने रहेछ । न गुणस्तरीय सामान पाइन्छ । त्यसमाथि महँगो उस्तै ।” उनी रहर गर्छिन्, “इलामको अकबरे, पहाडतिरको कागती र तामा, मधेसको काँचो आँप लगायतका वस्तु सिधै किनेर भण्डार गर्न पाए पो ।”

तर, कहाँ, कसले, के बेच्छ । कसरी कुन माध्यमबाट ती सामान काठमाडौँमा ल्याउने ? कुनै मेसो नपाउँदा आफ्नै देशमा पर्याप्त पाइने अचारको कच्चापदार्थ समेत उनका लागि ‘लङ्काको सुन’ सरह भएको छ ।

गुणस्तरमा छैन सम्झौता

पूजाको अचार व्यवसाय चम्कनुमा सबैभन्दा बलियो पक्ष भनेको उनले गुणस्तरमा दिएको ध्यान हो । आफ्नै हातले बनाउँदा मात्रै अचारमा स्वादको एकरूपता र गुणस्तर कायम रहन्छ जस्तो लाग्छ, उनलाई । त्यसैले उनका सहयोगीहरू कच्चापदार्थ काट्ने, तयार गर्ने, सफा गर्ने लगायतका काममा मात्र सीमित रहन्छन् ।

हाल उनले उत्पादन गरिरहेको अचारमा परम्परागत स्वाद छ । मिठासको कारण हो - त्यसलाई कायम गर्न गरिएको मेहनत । अनावश्यक मिश्रण छैन, ‘डटर्स होम अचार’ मा । न त लामो समयसम्म टिकाउने उद्देश्यले प्रिजर्भेटिभ्स नै हाल्ने गरिएको छ । उनले बनाएको अचार मध्ये भेज अचार एक वर्ष र माछा/मासुको अचार छ महिनासम्म उपभोग गर्न मिल्ने पूजा बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस